उनी नै हुन् एमालेकी सबैभन्दा कान्छी उम्मेदवार, २१ वर्षमै चुनावमा भिड्दै
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षकाे उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले साेमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका-६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् । रुपन्देहीका १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उनी नै सबैभन्दा कान्छी उम्मेदवार हुन् ।
‘म आफै पनि पिछडिएको समुदायकी युवती भएकाले यो समुदायका लागि केही गर्न सक्छु’ भन्ने लागेर उम्मेदवारी दिएको स्वेताले बताइन् । उनले युवाहरुको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरु नै जनप्रतिनिधिको रुपमा आउनुपर्ने आफ्नो मान्यता रहेको पनि सुनाइन् ।
स्वेता हाल स्नातक तहमा अध्ययनरत छन् । विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ । सिद्धार्थनगर-६ मा एमालेबाट वडाध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेताकुमारी हरिजनले उम्मेदवारी दर्ता गराएका हुन् । अनेरास्ववियुकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले युवालाई प्राथमिकता दिने पार्टीको नीति अनुसार स्वेताले उम्मेदवारी दिएको बताइन् ।
यो पनि : पोखराको मेयरमा २८ र उपमेयरमा ११ को उम्मेद्वारी, मेयर–उपमेयरमै पुरुष उम्मेद्वार
पोखरा महानगरपालिकाको मेयरमा २८ र उपमेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मेयरमा एमालेबाट कृष्णबहादुर थापा र गठबन्धनमा एकीकृत समाजवादीका धनराज आचार्यबीच प्रमुख प्रतिश्पर्धा हुनेछ । यहाँ विवेकशील साझा पार्टीकी सुशिला केसी, राप्रपाका शंकर खराल, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी उठेका छन् ।
यस्तै, संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चका अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ, आमूल परिवर्तन मसिहा पार्टीकी मुना बानियाँ, नेपालका लागि नेपाली पार्टीकी रोशनी बानियाँ, राष्ट्रिय नागरिक पार्टीकी सृजनादेवी रिजाल, देशभक्त समाजका रनबहादुर दमैको उम्मेद्वारी परेको छ ।
जनमत पार्टीका सरण सिंह मोक्तान, मौलिक जरोकिलो पार्टीका सन्जय तिमिल्सीना, राप्रपा नेपालका गोविन्द गुरुङ, सचेत नेपाली पार्टीका भोजराज खनाल, नेकपा समाजवादीका गोविन्दप्रसाद शर्मा, उन्नत लोकतन्त्र पार्टीका आशिष थापा र नेकपा माओवादी समाजवादीका भोजराज त्रिपाठीले उम्मेद्वारी दिए ।
स्वतन्त्रमा किशान सिंह गुरुङ, विमलबहादुर कार्की, खडकराज पौडेल, नवराज बास्तोला, रामराज अधिकारी, सुनिलबहादुर कोइराला, डिलबहादुर गुरुङ, नन्दप्रसाद तिवारी, ऋषिराम सापकोटाको मनोनयन दर्ता भएको छ ।
स्वतन्त्रबाट उम्मेद्वारी दिएका कार्की, तिवारी र सापकोटा गठबन्धनबाट बागी उम्मेद्वार हुन् । उनीहरु सबै कांग्रेस नेता हुन् । किशान भने विप्लव माओवादीबाट उम्मेद्वारी दिएका हुन् ।
पोखराको उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ र कांग्रेसकी कोपीला रानाभाटबीच बढी प्रतिश्पर्धा हुन्छ । यहाँ विवेकशील साझा पार्टीका माधव भण्डारी, राप्रपाकी रन्जना कुमारी सेन, मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर तामाङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका पदमबहादुर गुरुङ, राप्रपा नेपालकी चिना दवाडी, सचेत नेपाली पार्टीकी सोनी परियार, नेकपा समाजवादीकी शितला थापा, नेकपा माओवादी समाजवादीकी इन्द्र सुनार र स्वतन्त्रबाट सोममाया विक उम्मेद्वार बने । विक विप्लव माओवादीको नेतृ हुन् ।
नेकपा माओवादी समाजवादी र नेशनल मंगोल अर्गनाईसेजनबाट दुवै पदमा पुरुष उम्मेद्वार उठाएका छन् । मासले मेयरमा भोजराज त्रिपाठी र उपमेयरमा इन्द्र सुनारलाई उठाएको हो ।
उता नेशनल मंगोल अर्गनाईजेसनले मेयरमा प्रेमप्रसाद गुरुङ र उपमेयरमा रामबहादुर तामाङलाई उम्मेद्वार बनाएको छ । निर्वाचन मापदण्ड अनुसार एउटै पार्टीले उम्मेद्वार उठाउँदा मेयर र उपमेयरमा फरक लिंगको हुनुपर्ने अनिवार्य ब्यवस्था छ । anjulionline