लम्जुङकाे सात कन्या मन्दिर, जहाँ भेटिन्छ मान्छे लुटुपुटु पार्ने बनस्पति !

0

 

लमजुङमा काठमाडौं पशुपतिनाथको जस्तै चार ढोका भएको तर प्रचारमा त्यति नआएको मन्दिर छ, सात कन्या । स्थानीयस्तरमा महिमायुक्त मन्दिरमा चैत पूर्णिमाका दिन र ठूली एकादशीका दिन (कात्तिक)मा विशेष पूजा हुन्छ । करिब दुई दशकअघिसम्म यहा“ ‘सात दिन सात रात’सम्म मेला लाग्थ्यो रे ! बूढापाकाका अनुसार मेलाको अवसरमा लमजुङको लोपोन्मुख अवस्थामा रहेको ‘ठाडोभाका’का १२ देखि १५ समूह स्वतःस्फूर्त गाउने, नाच्ने गर्दथे ।

उहिल्यै मन्दिर आसपासमा ठूलो बस्ती रहेको भग्नावशेषसमेत देखिन्छ । ती भग्नावशेष घरका पर्खाल, ढिकी, जाँतो, कोल, गाउँ जाने ढुंगा बिछ्याइएको बाटो अहिले पनि देख्न सकिन्छ । त्यो बेला गाउँलेले कुखुराको अण्डको खोस्टा भरी प्रतिघरबाट चामल संकलन गर्दा ‘एक मुरी चामल पुग्थ्यो’ भन्ने जनश्रुति छ । पछि, बस्तीमा ठूलो हैजा आएर मानिस मर्न थालेपछि बाचेकाहरू पलायन भएको आफूले बूढापाकाबाट सुनेको मन्दिरका ७४ वर्षीय पुजारी दोर्दी गाउँपालिका– ५ पाचोकका पर्तबहादुर गुरुङ सुनाउ“छन् । उनले मन्दिरमा पूजा गर्न थालेकै ३४ वर्ष पुगेको छ । तर, यो स्थान अहिले निर्जनजस्तो घना जंगलभित्र छ । मन्दिरमा पूजा गर्ने र जात्रा लाग्नेबाहेक अन्य दिन एक्लै जान पनि डरमर्दो छ ।

मन्दिर स्थापना कसरी भयो ?

मन्दिर स्थापना के कसरी भयो ? भन्ने जिज्ञासामा किंबदन्ती सुनाउनेक्रममा पुजारी गुरुङले भने, ‘उहिले सत्ययुगमा एक देवी त्यही गाउँको बाटो भएर हिँड्दै आइछन् । आफ्ना लागि उचित बास खोजीमा चेपे तरेर गोरखातिर जाने कि लमजुङमै बस्ने ? भन्ने दोधार हुँदै हिँडिरहेको बेलामा यो स्थानमा पुगेपछि साँझ परेछ । त्यसपछि उनी त्यही बास बसिछन् । उनले निंगालोको लौरो टेकेर आएकी रहिछन् । आफू बस्ने छेउमा त्यो लौरो गाडेर त्यहाँ रात बिताइछन् । भोलिपल्ट बिहान उठेर हिँड्न खोज्दा त त्यो निंगालोको लौरोमा त हाँगा पलाएर आएको देखिछन् ।’ त्यसपछि उनले त्यही स्थान आफ्नो बासका लागि रोजिन् र त्यहीँ निंगालोलाई ‘देवीको शक्ति’ मान्दै गाउँलेले पूजा गर्न थालेको धार्मिक कथन छ । यो परम्परा आजसम्म पनि चलिरहेको छ ।

अर्को किम्बदंती यस्तो छ

अर्को किंबदन्तीअनुसार यो स्थानमा बस्ती रहेको बेला मन्दिरसँगै रहेको इलम पोखरीमा लोप्चन र शेर्पा जातिका दुई छोरी खेल्न गएका रहेछन् । ती दुवैको उमेर सात वर्षको रहेछ । खेल्नेक्रममा दुईबीच झगडा भएछ । यसक्रममा ‘उसले उसलाई र उसले उसलाई धकेल्दा’ दुबै पोखरीमा डुबेछन् र त्यही कारण उनीहरूको निधन भएछ ।

यो घट्ना भएको १२ वर्षपछि ती दुई बालिकाले देवीको रूप धारण गरेर ‘हामीलाई पूजाआजा, आरधना गर्ने गर तिमीहरूको भलो हुन्छ, चिताएको पाउँछौं, हामी आशीर्वाद दिन्छौं’ भनेर गाउँलेलाई भनेछन् । त्यही विश्वासका आधारमा ‘पूजा चल्न थालकोे हो’ भन्ने आफूले सुनेको पुजारी गुरुङ बताउँछन् । ‘दुवै कन्या सात वर्षका भएको हुँदा मन्दिरको नाम सातकन्या देवी मन्दिर राखिएको रहेछ,’ गुरुङ भन्छन् । यो स्थानमा रहेको इलमपोखरी केही वर्षअघिसम्म धेरै गहिरो र फराकिलो थियो । अहिले पुरिएर आधाजस्तो मात्र बाँकी छ । पहिले–पहिले पोखरीमा जंघार तर्न सक्ने अवस्थासमेत थिएन ।

मन्दिर र पोखरी रहेको स्थान दोर्दी गाउँपालिका– ५ पाचोक क्षेत्रमा र जात्रा लाग्ने थलो दूधपोखरी गाउँपाकिला–३ र ४ वडा शिरमा रहेको छ । पोखरीआसपासमा अन्य पोखरीसमेत छन् । जसमा कुनै पनि रूखका पात खसेर तैरिएको हुँदैन । यहाँ एक जातको चरा छ, त्यसले पोखरीमा खसेको पात टिपेर पाखामा लगेर फ्याँक्ने गर्छ र पोखरी सधैं सफा हुने पुजारी गुरुङ सुनाउ“छन् । ‘यो पनि यहाँको विशेषता र दैवीशक्तिको स्थल भएको प्रमाण हो,’ उनी भन्छन् ।

द्वन्द्वकालमा माओवादी सेल्टर

सशस्त्र द्वन्द्वकालमा ्माओवादीले यो स्थानमा सैनिक तालिम सेल्टरसमेत बनाएका रहेछन् । त्यतिबेला उनीहरूले लगाएको तारबार अहिले पनि जस्ताको तस्तै छ । सशस्त्र द्वन्द्व चर्किंदै गएपछि मन्दिरमा लाग्ने मेलामा समेत कमी आएको पुजारी गुरुङ बताउँछन् । उनका अनुसार पछिल्ला दुई वर्षमा कोरोनाका कारण आवतजावतमा कमी आयो । उहिल्यजस्तो संख्यामा पूजा गर्ने मानिस नआएको भए पनि अबका दिन आकर्षण बढ्नेमा पुजारी विश्वस्त छन् । यो वर्ष चैत पूर्णिमाका दिन गत ३ वैशाखमा सय हाराहारीमा ‘रिजर्भ’ जिप मेलामा पुगेको प्रत्यक्षदर्शी बताउँछन् ।

देवीको महिमा’bout जानकारी लिन आजसम्म कुनै पनि पत्रकार नभेटेको, महिमा’bout लेखेको आफूले थाहा नपाएको पुजारी गुरुङ सुनाउ“छन् । ‘यो मन्दिर, देवी तथा पोखरी’bout सोध्ने पत्रकार तपाईं नै पहिलो व्यक्ति हो,’ उनी भन्छन् ।

यस्तो छ, मन्दिर

सानो छ तर चारै दिशा ढोका छन् । मन्दिरबीच निंगालाको गाँज छ । त्यो मन्दिरको छाना छेडेर माथि गएको अर्थात् निंगालोको गाँज भएको भागमा छाना राखिएको छैन, निंगालाको गाँज पनि ठूलै देखिन्छ । त्यो देख्दा नऔठो लाग्छ । अर्को आश्चर्यको कुरा के छ भने मन्दिरआसपास क्षेत्रमा निंगालो घारी वा निंगालाका फुट्कर बोट पनि देखि“दैन । मन्दिरमा मात्र निंगालो हुनुले पनि यो स्थानमा ‘दैवीशक्ति छ’ भन्ने मान्न सकिन्छ ।

मन्दिरमा बली र कोरीसमेत दुवै प्रकारको पूजा चल्ने रहेछ । भक्तजनले मनोकामना पूरा भएपछि घण्टी चढाउने गरेको पुजारी गुरुङको भनाई छ । उनका अनुसार देवीको आराधना गरी मनाकामना पूरा भएपछि पञ्चैबलीसमेत चढाउन ल्याउने गर्दछन् । यहा“ प्रायः कुखुराको बली दिन ल्याउने गरिएको छ ।

यो वर्ष चैत पूर्णिमा मेलाका अवसरमा बोकाको बली दिने १३ जनामात्र भएको मन्दिरका सहायक पुजारी दूधपोखरी गाउँपालिका–४ ठूलो काभ्रेका ३३ वर्षीय नवराज घले सुनाउँछन् । यसअघि उनका बुबा मन्दिरका ठूलो पुजारी थिए । उनको ९१ वर्षको उमेरमा गत वर्ष निधन भयो । १३ वर्षदेखि बाबासँगै मन्दिरको पूजा गर्न सिक्दै आएको नवराज बताउ“छन् । उनका अनुसार मन्दिरमा जोडी परेवा उडाउन, नरिबल पूजा गर्न आउनेको संख्या पनि राम्रै हुन्छ । ‘बली पूजा गर्न आउने दुई भाग र परेवा उडाउने, नरिवल चढाउन आउने संख्या एक भाग जति होला,’ उनको आँकलन छ, ‘यो वर्ष कुखुराको बली दिने संख्या पाँच सयभन्दा बढी थियो ।’

दक्षिणतिरकालाई मन्दिरको मूल ढोका मानिएको रहेछ । यसपछि उत्तर ढोका बढी खुल्ने रहेछ । पूर्वपश्चिम क्षेत्रका ढोका कम खोल्ने गरेको छ । यति सानो मन्दिरमा पनि चारतिर ढोका किन राखेको होला नि ? भन्ने जिज्ञासामा पुजारी गुरुङले ‘त्यसको रहस्य आफूलाई थाहा नभएको’ बताए । उज्यालोका लागि चार ढोका राखेको कथन पनि पाइन्छ ।

छायांकन स्थल

यो वर्ष चैत पूर्णिमाका अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले यहाँ ठाडोभाका छायांकन कार्यक्रम राखेर मन्दिर र पोखरीको महिमा बढाउन भूमिका खेलेको पाइन्छ । त्यसैले पनि यो वर्ष बढी जमघट हुन पुगेको पाचोक गाउँका ६६ वर्षीय ठाडोभाकाका गायक श्रीमान् तामाङ बताउ“छन् । उनलाई आफू जवान छँदा यही मेलामा तीन दिन, तीन रातसम्म ठाडोभाका गाएर नाचेको सम्झना जातै छ । ‘अहिले त ठाडोभाका सुन्न रहर भइसकेको थियो, गाउने मान्छे नै पाउन छाडिसक्यो, पुरानो बुढाबुढी मरेर गइसक्यो, नयाँ पुस्ताका केटाकेटीले सिक्ने चाहनै गर्दैनन्,’ उनको गुनासो छ ।

जिर्णोद्वारको पर्खाइ

पोखरी जिर्णोद्वारका लागि दूधपोखरी गाउँपालिकाले गत वर्ष ४७ लाख विनियोजन गरेको रहेछ । तर, पोखरी भएको ठाउँ ‘दोर्दी गाउँपालिकामा पर्छ’ भन्ने भयो, यसपछि बजेट रकमान्तर गरेर अर्कै योजनामा खर्च गरिएको दूधपोखरी गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङले बताइन् । ‘सबैले यो क्षेत्रमा ध्यान दिने हो भने यस ठाउँको उत्थानका लागि पालिकातर्फको जग्गामा केही न केही नयाँ संरचना निर्माण गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘भोलिका दिन हामी त्यो काम गर्नेछौं ।’

मेलामा आएका पाचोक घर भएका नेपाली कांग्रेस दोर्दी गाउँपालिका अध्यक्ष विच्छबहादुर घलेले सदरमुकाममा रहेको ठाडोभाका प्रतिष्ठानका साथमा पत्रकारको टोलीलाई यो स्थानमा देख्न पाउँदा ‘यो ठाउँले अब जुनी फेर्छ’ भन्ने विश्वास जागेको सुनाए ।
यो स्थानलाई ऐतिहासिक र धार्मिक पर्यटकीय तथा प्राकृतिक दृश्यावलोकनका हिसाबले समेत उत्कृष्टस्थलका रूपमा विकास गर्न सकिने देखिन्छ । यहाँबाट देखिने सूर्योदय मनमोहक लाग्छ । फेवालातमा माछापुच्छ«े डुबुल्की मारेझैं इलमपोखरीमा सातकन्या देवी मन्दिरले पनि डुबुल्की मारेको दृश्य उत्तिकै मनमोहक लागेको ठाडोभाका कार्यक्रममा सहभागी प्रतिष्ठानका आजीवन सदस्य एवं इतिहासविद् रमाराज खनिया बताउँछन् ।

अनौठो कुखुराजस्तो ‘चरा’

राइनास नगरपालिका–१० प्यारजुङ गाउँका ६७ वर्षीय किसबहादुर गुरुङका अनुसार मन्दिर उत्तरतर्फ जंगलमा बेलाबखत इन्द्रेणीको जस्तो रङ भएको कुखुरा (चरा) देखिन्छ । यो जंगलमा पुग्ने भनेका गोठाला भेंडीगोठ तथा भैंसी गोठ लिएर चराउन जाने हो । त्यो चरा देखेपछि ‘यदि कसैले ठूलो स्वर गरेर कराउने काम ग-यो’ भने उसले चराउन ल्याएको सबैभन्दा राम्रो, मोटो खसी, भेंडा, बाख्रा या भैंसी जे छ, त्यो ठहरै भएर तुरुन्तै मर्छ । ‘त्यसैले त्यस्तो कुखुरा देख्यो भने कुक्रुक्क परेर चुपचाप बसेमा केही बेरमा आफ्नो बाटो लाग्छ, कुनै विघ्न हुँदैन,’ गुरुङ सुनाउँछन् ।

मान्छे लुटुपुटु पार्ने बनस्पति !

मन्दिर दक्षिण पश्चिमतर्फको जंगलमा एकखाले बनस्पति छ । यहाँ कुनै मानिस एक्लै गयो भने ऊ त्यहाँबाट फर्कन सक्दैन । मोहनी झारमा त्यही लुटुपुटु भएर रहन्छ । त्यस्तो मान्छे हराएपछि गाउँले खोज्न जाँदा भेटेर ल्याउने गर्दछन् । त्यस्ताखाले दुई–तीनवटा घट्ना भएपछि यो क्षेत्रमा एक दुई जना मात्र जानसमेत छाडेका छन् । ४, ६ वा त्योभन्दा बढी संख्यामा मानिस जंगलमा जाँदा भने ‘हराउँदैन’ भन्ने स्थानीय सुनाउँछन् ।

पोखरी तथा मन्दिर स्थल डुम्रे–बेसीशहर सडकको लमजुङ प्रवेश नाका पाउँदीदेखि दूधपोखरी गाउँपालिका रहेको स्थल प्रैंचेडाँडासम्म २५ किलोमिट छ । यहाँबाट मन्दिरसम्म ६ किमी गरी पाउँदीदेखि कुल ३१ किमीको दूरी छ । दूधपोखरी गाउँपालिकाले मन्दिरस्थलसम्म कच्ची सडक बनाएको छ । जहाँ जिप रिजर्भ गरेर पुग्न सकिन्छ ।  rajdhanidaily

You might also like