काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रहरी कार्यालयको नाम परिवर्तन गरिएकोे छ ।
मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरेसँगै उपत्यकाका तीनै जिल्लाका प्रहरी कार्यालयको नाम परिवर्तन गरिएको हो ।
सरकारले काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमान्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयलाई २१ वैशाख २०७८ मा पहिलोपटक सो ऐन संशोधन गरेर उपत्यकाका प्रहरी युनिटलाई केन्द्र मातहत ल्याउने निर्णय गरेको थियो ।
त्यसपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको सिफारिसमा गत २२ चैतमा राष्ट्रपतिले प्रमाणित गरेर सो अध्यादेशलाई निरन्तरता दिएकी हुन् ।
योसँगै काठमाडौं उपत्यकाको कमान्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयको नाम अब काठमाडौं उपत्यका प्रहरी कार्यालय नामकरण गरिएको छ ।
यसैगरी, काठमाडौं उपत्यकाको अपराध अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखाको नाम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय राखिएको छ ।
यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाको नाम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राखिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रहरी कार्यालयलाई जिल्ला प्रहरी परिसर नाम दिइएको छ । यसअघिका महानगरीय प्रहरी वृत्तहरूको नामको अगाडिको महानगरीय हटाइएको छ भने ‘प्रहरी वृत’पछि वृत अवस्थित ठाउँको नाम राखिएको छ ।
यसैगरी, महानगरीय प्रहरी प्रभागहरूको नाम परिवर्तन गरेर ‘प्रहरी प्रभाग’ मात्रै राखिएको छ भने प्रभागपछि ठाउँको नाम राखिएको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन–२०७६ लाई १५ मंसिर २०७८ मा दोस्रोपटक र २२ चैत २०७८ मा तेस्रोपटक संशोधन गरिएको हो । rajdhanidaily