गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन
मन्त्री आलेको आग्रह तथा निर्देशनमा उक्त विमानस्थलको नयाँ धावन मार्ग सुचारु भएपछि अहिले त्यहाँका नागरिकहरु पनि निकै खुशी भएका छन् । उक्त विमानस्थलमा अब ठुला जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गरे यहाँ पर्यटकहरू भित्रिन सक्ने भन्दै स्थानीयमा खुसीयाली छाएको बताइएको छ । उक्त विमानस्थल सुचारु भएसँगै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ । देशकै ठुलो उक्त अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएसँगै अब अर्को ठुलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि बल्ल मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहु प्रतिष्ठित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज बिहीबार देखी सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबार देखी सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । आज बिहीबार देखी नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ ।
उक्त विमानस्थलमा विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न पाउने व्यवस्था मिलाइएको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जसका लागि विमानस्थलको निरीक्षण भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका बताइएको छ । अबदेखि भैरहवा स्थित गौतम बुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्ने भएका छन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) भने गएको फागुन महिनामै सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतम बुद्ध विमानस्थल व्यवसायिक रूपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको बताइएको छ ।
आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत रूपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रूपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतम बुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमुना आयोजना भएको प्राधिकरणको बुझाइ छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुआतमा थालनी भएको विमानस्थलको काम बिचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो ।
पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकीकरण सञ्चालनमा आएको हो । उक्त विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकीकरण सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । newsof nepal