अत्तरियाका चोलानन्दको बैंक खाताबाटै यसरी लुटियो ८५ हजार
असुरक्षित मोबाइल बैंकिङ्ग
धनगढी: कैलालीको अत्तरियाका व्यापारी चोलानन्द अधिकारीको ग्लोबल आइएमई बैंकको अत्तरिया शाखामा खाता छ। आफ्नो बैंक खातामा अधिकारीले चैत २१ गते सहयोगीमार्फत ८० हजार जम्मा गर्छन्। रकम जम्मा गरेको लगभग आधा घण्टा नबित्दै उनको खाताबाट २५ हजार इसेवा नम्बर ९८४४६०१४९४ मा ट्रान्सफर हुन्छ। आफ्नो खाताबाट २५ हजार ट्रान्सफर भएको मेसेज उनको मोबाइल नम्बरमा आउनासाथ अधिकारी पसलबाट करिब ३ सय मिटरको दूरीमा रहेको ग्लोबल आइएमई बैंकमा गएर उक्त कुरा जानकारी गराउँछन्।
उनले बैंक अधिकारीलाई आफ्नो खाता ब्लक गर्न अनुरोध गर्छन्। तर बैंक अधिकारीले केही हेर्ने भन्दै खाता ब्लक गर्दैनन्। २५ हजार ट्रान्सफर भएको केही समयपछि पुनः ९८२६३३१८७९ नम्बरको खल्ती एपमा थप २५ हजार जम्मा ट्रान्सफर हुन्छ। लगत्तै फेरि २० हजार र दोस्रो पटक खल्ती एपमा १५ हजार गरी एकै छिनमा आफ्नो खाताबाट ८५ हजार ट्रान्सफर भएको चोलानन्द अधिकारीले दिनेशखबरलाई बताएका छन्।
‘सहयोगीमार्फत २१ गते १० बजेपछि मेरो खातामा ८० हजार जम्मा गर्न लगाए तर पैसा जम्मा भएको केही मिनेटमै मेरो २५ हजार घट्यो’ उनले भने, ‘हत्तपत्त खाताबाट पैसा अन्तै गएपछि मेरो खाता ब्लक गरिदिनुपर्यो भनेर म आफैं बैंकमा गए। तर बैंकमा यताउता गर्दागर्दै ८५ हजार गुम्यो।’
अधिकारीको खाताबाट रकम चोरी भएको आज मंगलबार ९ दिन पूरा भएको छ। उनले रकम चोरी कसरी भयो भनेर खोजी गर्न बैंक तथा प्रहरीलाई निवेदन दिएको बताएका छन्। अधिकारीले रकम खाताबाट चोरी भएकोबारे बुझ्न खोज्दा बैंकले कसैले पासवर्ड ह्याक गरेको बताउने गरेको छ भने, कहिले ओटीपी कोड उनले नै कसैलाई दिएको हुनुपर्ने बताउने गरेको छ। जबकी अधिकारीले कसैलाई मोबाइन नदिएको दाबी गरेका छन्।
बैंकले अहिले आएर रकम खोज्ने प्रयास भइरहेको बताउने गरेको भए पनि इलाका प्रहरी कार्यालय मालाखेतीले लेखेको पत्रको जवाफसमेत ९ दिनसम्म लेखेर पठाएको छैन। ‘म हरेक दिन बैंक धाउने गरेको छु। बैंकले प्रहरीमा उजुरी गर्नुस् भन्छन्। कहिले माथि खोजी हुँदैछ भन्छन्’ उनले भने, ‘बैंकमा राखेको पैसा चोरी हुँदा जवाफदेही बैंक नै हुनुपर्ने हो। तर बैंकले खाताबाट पैसा चोरी भएको विषय गम्भीर रूपमा नलिएको जस्तो महसुस भएको छ।’
यता ग्लोबल आइएमई बैंक अत्तरिया शाखा प्रबन्धक भुवन भट्ट र प्रदेश प्रबन्धक मुकुन्द भट्टसँग यो विषयमा कुरा बुझ्न खोज्दा द्वैले प्रतिक्रिया दिन नमिल्ने बताएका छन्। दिनेश खबरले केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पटकपटक फोन गरे पनि सम्पर्क हुन सकेन। तर राष्ट्र बैंक स्रोतले भने पीडित नागरिकले राष्ट्र बैंकमा सम्बन्धित बैंकविरूद्ध उजुरी दिएपछि राष्ट्र बैंकले छानबिन गर्ने जनाएको छ।
यो एक उदाहरण मात्रै हो। यसरी कमर्सियल बैंकबाट उपभोक्ताले लिएको मोबाइल बैंकिङ्ग सेवा असुरक्षित हुन थालेको छ। मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफ्नो खाताबाट पैसा चोरी भएको गुनासो गर्न थालेका छन्।
बैंकहरूले प्रयोग गर्ने मोबाइल बैंकिङ्ग प्रणाली सुरक्षित र भरपर्दो नहुँदा खातामा रहेको पैंसा इसेवा तथा खल्तीजस्ता मोबाइल एपबाट चोरी हुने गरेको छ। ग्राहकले सुरक्षित हुन्छ भनेर बैंकमा रकम जम्मा गरे पनि मोबाइल एपको माध्यमबाट रकम चोरी हुँदा बैंक जवाफदेही हुनुपर्नेमा ग्राहकको नै कमजोरी भएको भन्दै सत्य तथ्य पत्ता लगाउने दायित्वबाट पञ्छिने गरेको गुनासो सर्वसाधारणले गरेका छन्। dineshkhabar