७१ निर्वाचन अधिकृत हटाएर नयाँ नियुक्ति
काठमाडौँ — निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृतहरू नियुक्त गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताए ।
यसबीचमा राजनीतिक दलहरूले आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको अर्यालले बताए । उनले एमालेले केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको पनि जानकारी दिए । ‘एमालेले आचारसंहितामा केही स्पष्ट हुने विषय छ भन्ने कुरा लिखित रूपमा आयोगमा पेस गरेको छ । स्पष्ट भइसकेपछि हस्ताक्षर गर्नुहुनेछ,’ उनले भने ।
एमालेका महासचिव शंकर पोखरेललगायतले पार्टीको तर्फबाट आचारसंहितामा रहेका आफ्ना असहमति ६ बुँदामा राखेका थिए । kantipurnews