नवलपुरमा शाहको पक्ष र विपक्षमा थुन छेक बहस सकियो, फैसला आज राती नै आउन सक्ने
नवलपुर ।नाबालिक गायिका करणीको आरोप लागि न्यायिक पूर्पक्षमा रहेका नायक पल शाहको नवलपुर जिल्ला अदालतमा लगिएको थुन छेक बहस सकिएको छ । शाहको पक्षमा बुधबार ९ भन्दा बढी वकिलले बहस गरेको जिल्ला अदालत नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले बताउनु भयो । फैसला आज राती नै आउन सक्ने बताइएको छ ।
पूर्वी नवलपरासीको ईलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडित बालिकाले आफ्ना अभिभावक सहित आएर पल विरुद्ध करणीको आरोप सहित निवेदन दिएकी थिइन । तनहुँ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि स्थानीय कारागारमा रहेका शाहलाई अदालती परिपत्र अनुसार थुनछेक बहसका लागि मंगलबार जिल्ला अदालत नवलपुरमा पेस गरिएको थियो ।
नवलपुर जिल्ला अदालतमा पेस भएका पल शाहसँग जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले करिब ६ घण्टा लामो बयान लिएको थियो ।बुधबारै पीडितका पक्षबाट पनि सरकारी वकिलका तर्फबाट बहस गरिएको बताइएको छ । यसै गरी अन्य दुई कानुन व्यवसायीहरू पनि पीडितका पक्षमा थुन छेक बहसका लागि नवलपुर जिल्ला अदालत आइपुगेको जनाइएको छ । news of nepal