सुदूरपश्चिम खप्तड गोल्डकप : आज मनाङ र फ्रेन्ड्सबीच उपाधि भिडन्त
पहिलो संस्करणको च्याम्पीयन मनाङ दोस्रोपटक उपाधि जित्ने दाउमा रहेको छ। फेन्ड्स भने पहिलोपटक गोल्डकपमा सहभागी भएको हो। उसको पहिलो सहभागीतामा नै उपाधि जित्ने तयारी छ।
मनाङका कप्तान अञ्जन बिष्टले फाइनलमा आफुलाई कुनै दबाव नभएको बताए। ‘नकआउट प्रतियोगिताको सबै खेल फाइनल सरह नै हो। हामीलाई दर्शकको पनि साथ छ। हामी फाइनल जित्छौं,’ उनले भने। फ्रेन्ड्सका प्रशिक्षक मिग्रेन्द्र मिश्रले आफुहरु फाइनलका लागि तयार रहेको बताए। उनले मनाङ बलियो टिम रहेको र अहिले फ्रेन्ड्स टिम पनि राम्रो रहेको बताए।
ए डिभिजन लिगमा मनाङ र फ्रेन्ड्स भिड्दा मनाङ विजयी भएको थियो। खप्तड गोल्डकपमा फ्रेन्ड्सले सेमिफाइनलमा बागमती युथ क्लवलाई हराएको थियो भने मनाङले हिमालयन शेर्पालाई हराएको थियो। समापन समारोहका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रहेका छन्।
सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।dineshkhabar