एसएसबीले अभियान टोलीको गाडीको चाबी नियन्त्रणमा लिएपछि केही बेर तनाव उत्पन्न

0

फाल्गुन १७ कपिलवस्तु – कपिलवस्तुको यसोधरा गाउपालिका को महलीसागर बाँध अगाडिको नेपाल–भारतको ५१ नं पिलरमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित मेची–महाकाली अभियानले पत्रकार सम्मेलन जुलस र सभा सम्पन्न गरेको छ । ‘भारतीय विस्तारवाद–मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, नेकपा (क्रान्तिकारी माओवादी)– जिन्दावाद, वीर सहिदहरु लाल सलाम’ लगायत नारा जुलुससहित सिमानामा पुगेको जनमासलाई मोर्चाका सचिव परि थापाले सम्बोधन गर्नुभयो । भारत विरुद्ध चर्का नारासहित कार्यक्रम भएको सुचना पाएपछि कार्यक्रम भइरहेको समयमा भारतीय सीमा सुरक्षा बलले कार्यक्रममाथि हस्तक्षेप गर्ने प्रयास गरेको थियो । सिमानामा किन कार्यक्रम गरेको भन्दै हतियारधारी एसएसबीको टोलीले कार्यक्रममा हस्तक्षेप गर्न खोजेपछि अभियान टोलीले कडा प्रतिवाद गरेको थियो । अभियान टोली गएको जिप घुमाउँदा भारतीय भूमि टेकेको भन्दै एसएसबीले आधा घण्टासम्म जिपको चाबी नियन्त्रणमा लिएको थियो । अभियान टोलीले एसएसबीको उक्त हर्कतको कडा प्रतिवाद गरेपछि आधा घण्टापछि चाबी फिर्ता दिइएको थियो । भारतीय सीमा सुरक्षावलको यो हर्कतको मोर्चाले कडा शब्दमा निन्दा एवम् भत्र्सना समेत गरेको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्षसहितका पत्रकारहरुको टोली समेत उपस्थित रहेको कार्यक्रममा भारतीय सीमा सुरक्षा बलले हस्तक्षेप प्रयास गरेको अभियान टोलीमा सहभागी नेकपा (क्रान्तिकारी माओवादी)का केस हिरामणि दुःखीले बताउनुभयो । सीमामा एकतर्फी रुपमा भारतले बनाएको महलीसागर बाँध र पक्की सडकका कारण नेपाली भूमि डुबानमा पर्दै आएको र बर्षेनी नेपालीहरु आफ्नै थातथलोबाट विस्थापित हुनपर्ने समस्या जटिल बनेको दुःखीले बताउनुभयो । भारतले गरेको सीमा अतिक्रमण, एकतर्फी रुपमा बाँधिएको बाँध र निर्माण गरिएको पक्की सडकको विरोध स्वरुप सिमानामा कार्यक्रम गरिएको उहाँले बताउनुभयो । मोर्चाले अभियानको क्रममा भारतद्वारा अतिक्रमित भूमिको निरीक्षण तथा अवलोकन, स्थानीय जनताहरुसँग अन्तक्र्रिया कार्यक्रम तथा विरोध सभाहरु सञ्चालन गर्दै आएको छ । सोही योजना अनुसार आज थापा नेतृत्वको अभियान टोली उक्त क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि पत्रकारसहित त्यहाँ पुगेको थियो ।

You might also like