भिजिट भिसाका व्यवस्थाहरु संशोधन गर्ने गृहकार्य
२३ फागुन, काठमाडौं । भिजिट भिसाका कारण सिर्जना भएको समस्याबारे अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन अध्यागमन विभागमा पुगेको छ । श्रम गर्न जानेहरुलाई भिजिट भिसामा विदेश पठाएर हुने गरेको ठगी र मानव तस्करी निरुत्साहित गर्न प्रतिवेदनमाथि अध्ययन सुरु भएको विभागले जनाएको छ ।
प्रतिवेदनले यूएई र मलेसियामा भिजिट भिसाकै माध्यमबाट मानव तस्करी भइरहेको निष्कर्ष निकाल्दै यससम्बन्धी मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्नुपर्ने सुझाव दिएको थियो ।
विभागमा महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार प्रतिवेदनमाथि छलफल गरेर आवश्यक व्यवस्थाहरु संशोधन गर्न गृहकार्य सुरु भएको हो । प्रतितवेदनअनुसार तयार हुने मस्यौदा कानुनी दस्तावेजलाई मन्त्रालयले स्वीकृत गर्ने उनको भनाइ छ ।
‘प्रतिवदनका सबै सुझाव एकैपटक कार्यान्वयन हुन नसक्लान्,’ उनले भने, ‘तुरुन्तै गर्नुपर्ने गर्न सकिनेखालका व्यवस्थाहरुबारे हामी छलफल गर्दैछौं ।’ उनले भिजिट भिसाको नाममा श्रमिकलाई विदेश पुर्याएर अलपत्र पार्नेहरुविरुद्ध केन्द्रित रहेर नयाँ व्यवस्थाहरु गरिने बताए ।
भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा बनेको कार्यदलले कार्यविधि परिमार्जन गरेर भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाहरुको गतिविधिलाई निगरानीमा राख्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।
प्रतिवेदनमा वैदेशिक रोजगारीका लागि अनुमति लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाहरुले प्रलोभन देखाएर श्रम अनुमतिविना भिजिट भिसामा पठाउने गरेको निचोड निकाल्दै त्यस्ता संस्था तथा व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने भनिएको छ ।
प्रतिवेदनको निष्कर्ष खण्डको बुँदा नं. ‘च’मा भनिएको छ, ‘वैदेशिक रोजगारीको प्रलोभन देखाइ श्रम अनुमति नलिई भिजिट भिसा वा अन्य तरिकाले व्यक्तिहरुलाई विदेश पठाएको पाइए, त्यस्ता संस्था तथा सञ्चालकहरुलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोेजिमको कारबाही गरी रोजागरीका लागि भिजिट भिसामा विदेश पठाउने कार्यलाई निरुत्साहित गर्नुपर्ने छ ।’
भिजिट भिसा लिएर रोजगारीका लागि विदेश जानसक्ने शंकास्पद व्यक्तिले पेश गर्ने कागजातको आधिकारिता सुनिश्चितता गर्न स्वीकृत तथा प्रमाणीकरण गर्ने संस्था, निकाय र पदाधिकारीको विवरण पनि वेबसाइटबाट भेरिफिकेसन गर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ ।
खाडी मुलुक, मलेसिया तथा जोखिम भएका अन्य मुलुकमा जाने यात्रुको विवरण सम्बन्धित कूटनीतिक नियोग तथा अध्यागमन विभागमा तोकिए बमोजिम सफ्टवेयर प्रणाली वा अनलाइनमाध्यममा दर्ता गर्नुपर्ने पनि सिफारिसमा भनिएको छ ।
‘खाडी मुलुक, मलेसिया तथा जोखिम भएका मुलुकहरुमा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकहरुका मापदण्ड बमोजिमका आवश्यक कागजात अपलोड गरी विमानस्थल जानुपूर्व प्रस्थान अनुमति पाउने वा नपाउने जानकारी प्रणालीबाटै पाउने सफ्टवेयर वा एप्स निर्माण गरी अध्यागमन विभागले कार्यान्वयनमा ल्याउनुपर्नेछ,’ कार्यदलको निष्कर्षमा भनिएको छ, ‘पर्यटक भिसामा जाने यात्रुले बैंकबाट विदेशी मुद्रा सटही गरेको विवरण अध्यागमन विभागबाट सञ्चालमा रहेको नेपाली पोर्ट सफ्टवेयरसँग आवद्ध गर्नुपर्छ ।’
प्रतिवेदनले विदेशमा आफन्तले बोलाउँदा वा भिजिट भिसा प्रयोजनमा भट्न जाने विषयलाई श्रीमान/श्रीमती, बाबु-आमा, दाजु-भाइ, सासु-ससुरा र छोराछोरीमा मात्र सीमित गर्न भनेको छ । नागरिकताबाट नाता खुल्नेको हकमा प्रमाणीकरण आवश्यक नपर्ने पनि भनिएको छ ।
नाता प्रमाणित आवश्यक पर्ने हकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित भएको र त्यसको प्रति सम्बन्धित स्थानीय तहले अध्यागमन कार्यालयबाट हेर्नसक्ने गरी सूचना प्रणालीमा अपलोड गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ ।
आफन्त भेटघाटका लागि विदेश भ्रमणमा जानेबाहेक अन्यका लागि कम्तिमा १० लाख रुपैयाँ बराबरको करयोग्य आय हुनुपर्ने प्रावधान राख्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ । त्यसको ५० प्रतिशत रकम बैंकमा आफ्नै नाममा मौज्दात भएको हुनुपर्ने पनि भनिएको छ । सुझावमा भनिएको छ, ‘त्यसका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गरी अध्यागमन विभागले व्यवस्था गर्नुपर्नेछ ।’
यूएई तथा अन्य मुलुकमा श्रम स्वीकृति नलिई गएका व्यक्तिहरुको विवरण अद्यावधिक गर्न कूटनीतिक पहल गरेर संयुक्त टोली खटाउनुपर्ने निष्कर्ष पनि कार्यदलले निकालेको छ । कार्यदलका संयोजक पोखरेलका अनुसार भिजिट भिसासम्बन्धी गुनासो तथा उजुरी सुनुवाइका लागि पनि संयन्त्र गठन गर्न भनिएको छ ।
‘अध्यागमन अधिकृतहरुलाई डेस्कमा खटाउँदा अनिवार्यरुपमा तोकिए बमोजिम अनुशिक्षण दिएर मात्र खटाउनु पर्नेछ,’ कार्यदलको निष्कर्षमा भनिएको छ, ‘अनुशिक्षण कार्यक्रममा भिजिट भिसामा प्रस्थानसम्बन्धी कार्यविधि, मापदण्ड लगायका विषयलाई विशेष प्राथमिकता दिएर पूर्वअभ्यास समेत गराउनु पर्नेछ ।’
शंकास्पद कामदारलाई भिजिट भिसामा प्रस्थान अनुमति दिनुपर्ने अवस्थामा सम्बन्धित अध्यागमनको डेस्क अधिकृत, सिफ्ट संयोजक अधिकृत तथा वरिष्ठ अध्यागमन अधिकृतको निर्णयबाट मात्र गर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ । ‘अन्यथा, प्रस्थान अनुमति दिने अधिकृत जिमेवार हुने कानूनी व्यवस्था गर्नुपर्ने’ भनिएको छ । कार्यविधि बनाएपछि यो प्रतिवेदन कार्यान्वयनमा आउनेछ ।onlinekhabar