पूर्वका १२१ सीमा स्तम्भ गायब

0

बाहुनडाँगी, झापा — दुई देशबीचको सीमा केले छुट्याउँछ ? प्रस्ट छ, दुवै देशले आपसमा तय गरेको कुनै सीमा स्तम्भ वा नदीनालाले । भारतसँग जोडिएको नेपालको इलाम–झापाको पाटापुर, दुधेचौरीदेखि गौरीगन्जको खजुरगाछीसम्म करिब १ सय ४४ किलोमिटर खुला सिमानामा दुवै देशले आपसी सहमतिमा झन्डै एक हजार सीमा स्तम्भ (पिलर) स्थापना गरेका थिए तर तीमध्ये १ सय २१ स्तम्भ हराएका छन् ।

सशस्त्र प्रहरी बल नम्बर २ हेडक्वार्टर झापाले गरेको खोजबिनअनुसार मुख्य, सहायक, सानो र रिफ्रेन्स गरी ९ सय ९५ वटा स्तम्भ हुनुपर्नेमा १ सय २१ वटा स्तम्भ फेला पार्न सकिएको छैन ।
६ सय ४७ वटा स्तम्भ भने सकुशल अवस्थामा छन् । सशस्त्रको अनुगमनमा मुख्य ५०, सहायक ६३, सानो ५ सय ३० र रिफ्रेन्स ४ वटा पिलर मात्रै सही–सलामत पाइएको हो ।

त्यस्तै १० मुख्य, १७ सहायक, ७८ सानो र ३ रिफ्रेन्स गरी १ सय ८ वटा पिलर सामान्य मर्मत गर्नुपर्ने अवस्थामा छन् । ४ मुख्य, १० सहायक र ३६ सानो गरी ५० वटा पिलर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् । मुख्य ३, सहायक १० र सानो ५६ वटा गरी ६९ वटा पिलर खोलाले बगाएको छ । सशस्त्र प्रहरी उपरीक्षक प्रदीप सिंह कार्कीले सीमा स्तम्भहरूको अवस्थाबारे सरकारलाई रिपोर्टिङ गरिएको जानकारी दिए ।

सशस्त्रका अनुसार मेचीनगर नगरपालिका क्षेत्रको करिब ३२.५ किलोमिटर खुला सीमा क्षेत्रमा मात्रै साना, मझौला र ठूला गरी १ सय ४८ वटा सीमास्तम्भ छन् । तीमध्ये ५८ वटा गायब छन् । ती स्तम्भ कता हराए भन्ने सम्बद्ध निकायलाई थाहा छैन । मेचीनगर नगरपालिकाले नगरभित्रका सीमा नाकाको हालै अवलोकन गरेको थियो । प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीसहितको टोलीले स्थलगत अनुगमन र सीमास्तम्भहरूको अवस्थाबारे जानकारी लिएका थिए । ‘धेरै पिलरहरू हराएको, केही टुटफुट भई मर्मतको पर्खाइमा रहेको पाइयो,’ प्रमुख आचार्यले भने, ‘हामीले समयमै ध्यान नपुर्‍याउँदा यो अवस्था आएको हो ।’ सीमास्तम्भ (पिलर) कतै हराएको त कतै वर्षौंदेखि जीर्ण रहेको पाइएको छ । मर्मतसम्भारमा सरकारले चासो नदिएको आरोप स्थानीयको छ । केही समययता सीमास्तम्भ हराउने र टुटफुट हुने क्रम बढेको छ । कतिपय मेची खोलाको बाढीले बगाएर अलपत्र पारेको पाइएको छ । ‘बाढीले बगाएर ढल्किएको पिलर सोझो पार्ने काम पनि भएको छैन,’ एक स्थानीयले भने । सशस्त्र प्रहरी बलको बीओपी तिरिङ–दुधेचौरका अनुसार मेचीनगर–१ को झन्डै साढे ६ किलोमिटर क्षेत्रमा ३३ स्तम्भ थिए । यीमध्ये ६ वटा मात्रै छन् । ‘बाँकी स्तम्भबारे हामीलाई थाहा छैन,’ एक सशस्त्र प्रहरीले भने ।

यसैगरी बाहुनडाँगीकै प्रसादगौडाबाट माताचोकसम्म ६ किलोमिटर दूरीमा ३४ स्तम्भ भए पनि २० वटा गायब छ । १४ वटा जीर्ण छ । वडा ५ को माताचोकदेखि काली मन्दिरसम्मको डेढ किलोमिटर दूरीमा ११ वटामध्ये ८७/७ देखि ८८/१ सम्मका ११ स्तम्भमध्ये ५ वटा गायब छ । यसले गर्दा यकिन सिमाना पत्ता नलाग्दा बेलाबेलामा दुई देशबीच समस्या उत्पन्न हुने गर्छ । काली मन्दिरदेखि मेचीपुलसम्म आइपुग्दा ६ वटा स्तम्भ गायब छन् । त्यो क्षेत्रमा १२ सीमास्तम्भ हुनुपर्ने हो । प्रत्येक १/२ किलोमिटरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को अस्थायी पोस्ट छ । नेपाली सुरक्षा उपस्थिति भने तुलनात्मक रूपमा कम छ । स्रोत साधन र पर्याप्त जनशक्ति अभावले उपस्थिति बढाउन नसकिएको सुरक्षा स्रोतको दाबी छ । उपप्रमुख मीना उप्रेतीले हराएका सीमास्तम्भहरूको खोजी तथा मर्मतका लागि केन्द्र सरकारलाई सुझाव दिने जनाइन् ।kantipurnews
You might also like