सवारी दुर्घटनामा परी १० जनाको मृत्यु
बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा बा.३ ख ४८७९ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । टिपरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय जनक राज पन्त लगायत ३ जनाको घटनास्थलमै र १२ वर्षीय राजेन्द्र प्रसाद पन्तको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनालाई थप उपचारको लागि नोभा अस्पताल धनगढी पठाइएको छ । दुर्घटनामा घाइते भएका ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीस्थित सडकमा मे.१ ज ३०१८ नम्बरको टाटा सुमो र प्रदेश २-०२-००१ प ८३४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय मनिष बिक र शहिदनगर नगरपालिका-१ बस्ने १९ वर्षीय महेश कुमार सहनी रहेका छन् । ईलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा मनिषको बाटोमै र महेश कुमारको उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको ईन्द्रशरोबर गाउँपालिका-२ सुकौरास्थित सडकमा बा.५७ प ८५७० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुदाँ मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको छ ।khabardabali