ब्यवसायिक बंगुरपालनमा रम्दै बर्दघाटका कृषक
एकीकृत संजालमार्फत बजारीकरण गर्ने योजना
बर्दघाट – बर्दघाट नगरक्षेत्रमा निर्वाहमुखी बंगुरपालनमा गर्दै आएका यहाँका किसान अचेल ब्यवसायिक बन्दै गएका छन् । बंगुरका पाठापाठीबाट बिक्रीबाट छिटो आम्दानी हुने भएकोले उनीहरु बंगुरपालनमा लालायित भएका हुन । बिक्री नभएका पाठापाठी हुर्काएपछि मासुका लागि समेत बिक्री गर्न सकिने भएकोले यस ब्यवसायमा लागेको कृषकहरु बताउछन् ।
बर्दघाट नगरक्षेत्रमा हाल ५ वटा माउ देखि २ सय बढी बंगुर पाल्ने सम्मका ३० वटा ब्यवसायिक फर्म छन् । स्थानीय बजार देखि देशका ठुला शहरहरुमा बंगुरको मासुको बजार रहेको हुदाँ बंगुरपालनमा आर्कषित भएको कृषक प्रकाश कुमार विश्वकर्मा (कुमार) को भनाई छ । सुनचाँदी ब्यवसायमा ब्यस्त उहाँ बंगुरको बजार राम्रो देखेर नै उत्पादनमा लागेको बताउनुहुन्छ ।
कुमारको सप्तरंगी कृषि तथा पशुपालन प्रालि बर्दघाट ५ पाल्डाडामा २ सय बढी बंगुर छन् । ‘पाठापाठी देखि मासु सम्म सहज बिक्री गर्न सकिन्छ, बजार राम्रै छ’ –विश्वकर्मा भन्नुहुन्छ– ‘अहिले नश्ल सुधार गरिएका पाठापाठीको हाराकार नै छ । बजार देखेर नै म यो ब्यवसायमा लागेको हो । यसैमा भविष्य देखेको छु ।’
यस बर्ष २ सय बढी पाठापाठी बेच्ने बिश्वकर्माको लक्ष्य छ । ‘पाठापाठी बिक्री गर्न नसके मासुको योजना समेत बनाएका छौ’ – विश्वकर्मा भन्नुहुन्छ – ‘आफ्नै दाना उद्योग संचालन हुदैछ ।’ दाना उद्योग संचालन पछि बंगुरको उत्पादन लागत कम हुने उहाँ बताउनुभयो ।
करिब १ करोड लागतमा दाना उद्योग संचालनको अन्तिम तयारीमा छ । बंगुरपालन देखि दाना उद्योग संचालन सम्म ३ करोड रुपैया बढी खर्च भइसकेको विश्वकर्माले जानकारी दिनुभयो । फर्ममा हाल ६ जना कामदारले रोजगार पाउदै आएका छन् ।
बर्दघाट–१६ का कृषक गिरबहादुर गुरुंङको अनुभव भने विश्वकर्माको भन्दा फरक छ । गुरुङ कहाँ अहिले १५ वटा माउ सहित ४५ बंगुर छन् । गतबर्ष सय बढी पाठापाठी बेचेको बताउदै गुरुङले यसबर्ष पाठापाठी बिक्री हुन नसकेको बताउनुहुन्छ । गुरुंङले भन्नुहुन्छ – ‘मासुको खुद्रा मुल्य ४ सय रुपैया छ । हामीले थोकमा ३ सय ३० रुपैया मात्र पाउछौ ।’ बंगुरका पाठापाठी उत्पादन भए पनि बजारमा बिक्री गर्न कठिनाई रहेको गुरुङको गुनासो छ ।
बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले चालुबर्ष बंगुरपालक कृषकलाई ध्यान दिएर यान्त्रीकरण एंव मासु मिसन कार्यक्रम संचालनमा रहेको जानकारी दिनुभयो ।
नगर क्षेत्रमा ३० वटा ब्यवसायिक बंगुरपालक फर्म संचालित रहेको बर्दघाट नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास शाखाका प्रमुख भरत लम्सालले बताउनुभयो । लम्सालले कृषकहरुबाट पाठापाठी समयमै बिक्री गर्न नसकेको गुनासो आएको बताउनुभयो । ‘डेढ महिनामा पाठापाठी बिक्री गर्नुपर्ने हुन्छ’ – उहाँले भन्नुभयो – ‘बिक्री नभएको कुरा आएको छ ।’
उत्पादित मासु र माउ बिक्रीमा भने समस्या नदेखिएको लम्सालको भनाई छ । ‘नगरक्षेत्रमा ३ हजार बढी बंगुर छन् । साप्ताहिक बजार र गाउँघरमा मासु बिक्री गर्ने चलन छ ।’ – लम्सालले भन्नुभयो –आधिकारिक बंगुरको मासु बेच्ने थलो छैन ।’ कृषकहरुको एकीकृत संजालमार्फत बजारीकरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
उत्पादित बस्तुको बजार ब्यवस्थापन गर्नु राज्यको दायित्व हो । यसमा तीनै तहका सरकारबाट बजारीकरणमा सहयोग गर्नपर्ने कृषकहरु बताउछन् ।