कविता ‘राम्रो म’
–मुसाफिर बाबु
यो म,म को संसार
जता गए पनि म,म मात्र भेटिन्छ ।
यो म , लाई बालक मै
ठुला वर्ण मालामा ब्यन्जन वर्णमा भेटाएको थिएँ ।
कपुरी क बाट गाठो पारी ज्ञ सम्म
बिबिध नामबाट बोलाएको थिएँ ।
म भन्दा अगाडिको भकारी भ
म भन्दा पछाडिको बुढो य
अन्य अक्षरलाई
घोरमुखे, छेपारे चरि चुच्चे , ओठकाँटे
कुकुरपुच्छ्रे, गोरुसिंगे, निहुरीमुन्टे
आदि इत्यादी भनियो
तर,
म लाई राम्रो म भनियो
सबै अक्षर भन्दा राम्रो म
राम्रो म को परिचय आफै हो ।
सबैले आफुलाई राम्रो म नै भन्दछन् ।
आखाँ टेडो नाक बाँगो मुख टेडो भएपनि
फरक पर्दैन ।
आखिर राम्रो म नै हो ।
आजको दुनियाँ मपाइवादको हो
हामी सबै मपाईवादी हौं ।
कुशासनमा बसेर कुशासनै चलाएपनि
अरुलाई नराम्रो लागेर के भो
आखिर सबै राम्रो म नै हो
बिभिन्न तहका परपीडकहरु
राम्रो म को जमात नै हो
चरित्र भष्ट्र भएर के भो
वर्णमालाको राम्रो म नै हो ।
देश चलाउने ठेक्का पाएका ठेकेदारहरु
ठेक्का नपर्दा र रोजेको नपाउदाँ
आन्दोलनकारी बन्ने जमातहरु
सहमतिको स नभएर
द्वन्द चलाउने म हरु
सबै राम्रो म नै हुन ।
राम्रो म हरुको यो घमासान
यही नै हो राम्रो म को निशान
को भन्न सक्छ ? म नराम्रो भनेर
वर्णमाला बाट नै राम्रो म भएर आएको छ ।
चरित्र बाट तल परेर के भो ?
आफ्नो शान कायम राख्न
आफू तल परेपनि
गोडा त माथि नै पारेको छ ।
राम्रो म लाई दुई तिहाई मात्र होइन
पुर्ण सर्मथन छ ।
देशलाई जति बर्बाद पारेपनि
दलहरुले हैसियतको सर्मथन पाएका छन् ।
कारण समर्थन दिने र लिने
सबै राम्रो म नै हुन ।
कोही नराम्रो त भन्छन भने फरक पर्दैन ।
नराम्रो त हो , म होइन ।
वर्णमालाबाट प्रमाणित भएको राम्रो म नै हो ।
यो म, म हरुको दुनियाँमा राम्रो म हुँ
राम्रो म लाई नराम्रो भन्न प्रमाण छैन
किनभने सनातनकाल देखि नै
बर्णकालमै लिपिमा म राम्रो प्रमाणित भएको छ ।
कसैलाई नराम्रो म भन्न मन पर्दैन
त्यसैले आफूलाई राम्रो म भन्न पाउदाँ ।
म लाई मुरीमुरी मात्र होइन टनका टन धन्यवाद छ ।
धन्य म ।
बर्दघाट–४ नवलपरासी