कोरोना महामारीसँग खेलाँची
कोरोना भाइरस (कोभिड–१९) का कारण सोमबारसम्म दैलेखमा २८ जनाले ज्यान गुमाइसके । जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ३ सय ६१ पुगेछ । तीमध्ये ३ हजार २ सय ७४ जना निको भइसकेका छन् । हाल ११ जना दैलेख अस्पतालको आइसोलेसन वार्ड र ५९ जना होम आइसोलेसनमा उपचाररत छन् ।
जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै छ । तर, दैलेखका राजनीतिक सम्वद्ध दलका नेता तथा नागरिकस्तरबाटै कोरोनासँग खेलाँची गरिरहेका छन् । गत बुधबार विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनले सदरमुकाममा प्रर्दशन गरे । विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाए ।
प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नेक्रममा आन्दोलनकारीबाट पुत्ला नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी घाइते भए । त्यसबेला जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेश साहुसहित केही आन्दोलनकारी समेत घाइते भएका थिए ।
शनिबार पुःन उस्तै कार्यक्रम भयो । विद्यार्थीसंगठनले सदरमुकाममा राँके जुलुस निकाले । संसद् विघटन, महंगी, भ्रष्टाचार लगायतका सवालमा केन्द्रित रहेर विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनले राँके जुलुस निकालेका थिए ।
आन्दोलनका बेला कुनै जनस्वास्थ्यका मापदण्डहरु पालना भने भएनन् । आइतबार कोरोना संक्रमणका कारण कांग्रेस नेता जगतजंग थापाको निधन भयो । दैलेख अस्पताल स्रोतका अनुसार उनलाई १० दिनअघि संक्रमण पुष्टि भएको थियो । सं
क्रमण देखिएपछि दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थापाको आइतबार राति ३ बजे निधन भएको थियो । नेपाली कांग्रेस दैलेखका पूर्व सभापति, महासमिति सदस्य, शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्य, नेपाल बाल संगठनको पूर्व केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति समेत रहेका थापाको शव यात्राका क्रममा सयौंको संख्यामा उपस्थित थिए ।
अन्तिम दाहसंस्कारमा लैजानु अघि दैलेख सदरमुकामस्थित स्थानीय देवकोटा चोकमा शवलाई एम्बुलेन्सबाट निकालेर नेपाली काँग्रेस पार्टीको झण्डा ओडाउनुका साथै श्रद्धाञ्जली अपर्ण गरिएको थियो । त्यसक्रममा सयौ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
त्यहाँ कुनै पनि जनस्वास्थ्यका मापदण्ड पालना नभएको पाइएको स्थानीय प्रशासन कै भनाइ छ । जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा असार १७ गते जारी एक सूचनामा विवाह, ब्रतबन्ध र मृत्यु संस्कार जस्ता धार्मिक तथा सामाजिक गतिवीधिहरु जनस्वास्थ्यका मापदण्ड पुरा गरी बढीमा १५ जना मात्रै सहभागि हुन पाउने उल्लेख छ । उक्त मापदण्ड पालना नभएको पाइएको प्रशासनले जनाएको छ ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा बनेका मापदण्डहरु कार्यान्वयन समान नभएको पत्रकार विशाल सुनारले बताए । मापदण्डहरु कार्यान्वयनमा सामाजिक, सांस्कृतिक र मानव अधिकारका हिसावले पनि विभेदकारी भएको उनको भनाइ छ । ‘ऐन, नियम कानुन र मापदण्डहरु सबैलाई समान हुनुपर्ने हो,’ उनी भन्छन् ‘यहाँ त सानालाई ऐन ठूलालाई चैन जस्तै भएको छ ।’
दैलेखमै वैशाख १७ गते नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवती महिलाको कोरोना संक्रमणकै कारण मृत्यु हुँदा गर्भमा रहेको शिशुसहित शव जलाइएको थियो । ती महिलाको परिवारले महिलासँग भएको सुनका गरगहना र पैसा निकाल्न पाउनुपर्ने माग राखेपनि स्थानीय प्रशासनले मानेको थिएन ।
यता प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जाने बुझेकै व्यक्तिबाट लापरबाही भएको बताए । ‘हामीले जिम्मेवार व्यक्तिलाई सुरुमै सचेत गराएक थियौं, उहाँहरुबाटै चरम लापरबाही भएको छ,’ अन्नपूर्णसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘प्रशासन, प्रहरी तथा स्वास्थ्य कार्यालय स्वास्थ्य सुरक्षामा मापदण्ड पालना गराउन कुनै कसर बाँकी राखेको छैन् ।’ स्वास्थ्य मापदण्ड विपरितका कार्य नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी प्याकुरेलले आग्रह समेत गरेका छन् ।
प्रशासनले जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै बताइसकेको भएपनि निषेधाज्ञालाई भने खुकुलो बनाएको छ । प्रशासनले ब्यूर्टी पार्लर, होटल, रेष्टुरेन्ट, चियानास्ता पसलबाहेक अन्य पसल व्यवसायहरु साँझ ६ बजेसम्म सञ्चालन गर्न भनेपनि सबै पसल व्यवसायहरु निर्वाध रुपमा सञ्चालन भईरहेका छन् । नीजि सवारी साधन तथा सार्वजनिक सवारी साधन समेत सञ्चालनमा छन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले कोरोना संक्रमण परिक्षण गराएका मध्ये ५० प्रतिशतमा संक्रमण पुष्टि भएको जनाएको छ । निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले कोरोना संक्रमणको जोखिम कायमै रहेको बेला खेलाँची र खेलवाड गरिने खतराको संकेत भएको बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा चरम लापरबाही भएको बताउँदै रेग्मीले भने, ‘गर्नै नहुने काम भइरहेको छ, यो खतराको संकेत हो ।’
Annapurna post