काठमाडौंमा बाहिरी जिल्लाका गाडी पास लिएर भित्रिन पाउने

0

२२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन संचालनमा आएका छन् ।स्थानीय प्रशासनको अनुमतिमा बाहिरका सवारी साधनसमेत आजबाट काठमाडौं उपत्यका भित्रिने पाउने छन् ।निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका सवारी साधनहरु चल्न थालेपछि काठमाडौं उपत्यकामा भीडभाड बढेको छ । आवागमन खुला भएसँगै मुख्य-मुख्य चोकहरुमा सवारी साधनहरुको जाम देखिन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन संचालन हुन दिने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने, चालक तथा सहचालकले भाइजर र पञ्जाको प्रयोग गर्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यस्तै सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनलाई हरेक दिन निसंक्रमण गर्नुपर्नेछ । मास्क नलगाएका यात्रुलाई चढाउन नपाइने नियम पनि छ ।

सफा टेम्पो र तथा निलो माइक्रोबसलाई पछाडिको तेर्साे सिटमा चार/चार र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनुपर्नेछ ।

अत्यावश्यक वस्तुको अनलाइन ‘अर्डर’, रेष्टुरेन्ट तथा फाष्टफुड एवं अन्य अर्डरको टेकअवे र होमडेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ ।

सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्नेछ ।

आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ । सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाइएको छ । यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिक रूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधि समेत गर्न पाइने छैन ।

पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न सकिनेछ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षण जस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा उल्लेख छ ।..Online khaber

You might also like