कोरोनाको हटस्पट लुम्बिनी : गम्भीर बिरामी र मृतक बढ्दै
बुटवल । लुम्बिनी प्रदेश कोरोना भाइरस सङ्क्रमणको हटस्पट बनिरहेको छ । छिमेकी मुलुक भारतबाट भित्रिनेको संख्या बढेसँगै बाँके, रूपन्देही र दाङमा सङ्क्रमितको संख्या उच्च दरमा बढिरहेको छ । यी जिल्लामा कोरोना सङ्क्रमितहरू दैनिक रुपमा गुणात्मक रुपमा वृद्धि भईरहेका छन् । यति मात्रै होइन् यो प्रदेशमा कोरोनाको कारणले ज्यान गुमाउनेको संख्या पनि नियमित रुपमा बढिरहेको छ । प्रदेशका अन्य जिल्ला मध्य यी जिल्लामा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेहरू बढिरहेका छन् ।
लुम्बिनी प्रदेशमा शनिबार मात्रै ७ सय ५९ संक्रमित थपिएका छन् भने २४ जनाको ज्यान गएको लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको अहिले सम्म लुम्बिनी प्रदेशमा ४ सय ७४ जनाको ज्यान गइसकेको छ । गुल्मी, रोल्पा, बाँके र रूपन्देहीका १/१ सङ्क्रमितले आत्महत्या गरेका छन् । मन्त्रालयका कोभिड फोकल पर्सन डा. पुष्पराज पौडेलले ४ हजार ६ सय ३१ जना उपचाररत रहेको जानकारी दिए । लुम्बिनी प्रदेशमा रहेका विशेष आइसोलेसन अस्पतालमा रहेका ४ अस्पतालमा २ सय ४३ जनाको उपचार भईरहेको छ । जसमध्ये कडा खालका लक्षण भएका १ सय ४७ जना, आईशियुमा रहेका ८९ र भेन्टिलेटरमा ७ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै निजी अस्पतालमा लक्षण सहितका ६९ जना, आइसीयुमा ३५ र ९ जना भेन्टिलेटरमा गरि १ सय १३ जना सङ्क्रमितको उपचार भइरहेको छ । साथै ४ हजार २ सय ४२ जना होम आइसोलेसन र ४९ जना आईसोलेनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । शनिबार थपिएका ७ सय ५९ कोरोना संक्रमित सहित लुम्बिनी प्रदेशमा अहिले सम्म ३२ हजार ६ सय २६ कोरोना संक्रमित पुगेका छन् भने कोरोना जित्नेको संख्या २७ हजार ५ सय १८ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार थपिएका मध्ये ३ सय ६६ जनामा लक्षण सहितको कोरोना देखिएको मन्त्रालयले जनाएको छ । ३ सय ६५ जना आइसोलेसन अस्पतालमै रहेका छन् । लुम्बिनी प्रदेशमा निको हुने दर ८४.३४ प्रतिशत पुगेको छ ।
मृत्युदर बढ्दो
पछिल्लो समयको कोभिडको कारणले संक्रमित मृत्यु बढिरहेको छ । मृत्युदर अहिले लुम्बिनी प्रदेशमा बढिरहेको छ । शनिबार सम्म आइपुग्दा लुम्बिनी प्रदेशमा कोरोनाको कारणले मृत्यु हुनेको दर १.५४ प्रतिशत पुगेको छ । यता कोरोनाको कारण मृत्यु हुनेमा अहिलेसम्म रूपन्देही अग्र स्थानमा रहेको छ । जिल्लामा शनिबार सम्ममा १ सय ७१ जनाको ज्यान गएको छ । जसमध्ये शनिबार ५ जनाको ज्यान गएको थियो । केही पछाडि रहेको बाँकेमा पनि पछिल्ला दिनमा मृतकको संख्या बढ्दै जाँदा अहिलेसम्म ७५ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
शनिबार मात्रै जिल्लामा १२ जनाको ज्यान गएको थियो । यस्तै दाङमा शनिबारका ६ सहित ५८, पाल्पामा ३८, कपिलवस्तु ३४, नवलपरासी पश्चिममा ३४, बर्दियामा २३, अर्घाखाँचीमा शनिबारका १ सहित १४, गुल्मीमा १२, प्युठानका ११, रोल्पाका ४ जनाको ज्यान गएको छ । यता लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको धागो कारखानामा भर्ना भएका मध्य ३० प्रतिशतको मृत्यु भइरहेको पाइएको छ । अस्पतालले दिएको सूचना अनुसार अस्पतालमा भर्ना भएका मध्य २५ देखि ३० प्रतिशतको मृत्यु भएका छन् । यता बैशाख ५ गतेदेखि पुनः सञ्चालनमा आएको भिम अस्पतालमा ३ जनाको ज्यान गएको अस्पतालले जनाएको छ ।
भरिए बेडहरू, बेड कुर्दै नयाँ संक्रमित
पछिल्लो समय लुम्बिनी प्रदेशका ४ कोभिड अस्पतालमा क्षमता अनुसारका बेडहरु भरिएका छन् । क्षमता अनुसारका बेडमा उपचार भईरहेको अस्पतालहरुले बताएका छन् । भैरहवास्थित भीम अस्पतालमा बेडभन्दा धेरै संक्रमित अस्पतालमा रहेका छन् । २७ बेड रहेको अस्पतालमा ३० जना संक्रमितहरुको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । उनका अुनसार गम्भिर प्रकारका बिरामीहरुलाई अक्सिजन दिएर अस्पतालकै पेटिमा राखिएको छ । गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई राखेर उपचार गराउने बेड अभावका कारण बिरामीहरुले पालो कुरेर उपचार गराउनुपर्ने अवस्था आएको बाँकेका फोकल पर्सन तेज ओली बताउँछन् । उनले भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पुरै बिरामीले भरिसकिएको जानकारी दिए ।
दाङमा कोरोना संक्रंमित राख्नको लागि बेड अभाव छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ ।दिनमा १७ देखि २० जना संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको धागो कारखानामा आईशियुमा १५ जना उपचाररत रहेका छन् भने भेन्टीलेटरमा ३ जनाको उपचार भइरहेको छन् ।
यस्तै भैरहवा स्थित भीम अस्पतालमा ५ जना आईशियु, २० जना एचडियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै भेरी अस्पताल नेपालगंजमा १५ जना आईशियु, ५० जना एचडियु र १० जना भेन्टीलेटरमा उपचार भईरहेको छ । बेलझुण्डी कोरोना अस्पतालमा ५ जना आईशियु, ३० जना एचडियु र ६ जना भेन्टिलेटरमा उपचारत रहेको मन्त्रालयले जनाएको छ । यस्तै ७ वटा निजी अस्पतालहरुमा आइसीयुमा ५७ जना, ५६ जना एचडियु र ३७ जनाको भेन्टीलेटरमा उपचार भईरहेको छ ।
भैरहवाको भीम अस्पतालमा ३ जना संक्रमितहरुले अझैपनि उपचार गर्नको लागि बेड कुरीरहेका छन् । अन्य क्षेत्रबाट रिफर भएर आएका बिरामीहरु त्यहाँ बसिरहेको अस्पतालले बताएको छ। अस्पतालमा २२ वटा एचडियु, ५ आईशियु मध्य ४ भेन्टीलेटर रहेका छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश बहादुर थापाले कोरोनाको अवस्था नियन्त्रण बाहिर रहेको बताउँदै २ सय बढि बिरामीहरुको उपचार गर्नुपरेको बताउँछन् । उनले आएर बसेका बिरामीलाई बेड अभाव भएको बताए ।
लुम्बिनी प्रादेशिक अस्पातल बुटवलले धागो कारखानामा सञ्चालन गरेको कोभिड अस्पताल भरिएको छ । आइसीयुमा १५ बेड रहेको अस्पतालमा १५ जनानै आइसीयुमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालका कोभिड फोकल पर्सन डा. शुदर्शन थापाले बताए । प्रादेशिक अस्पतालमा रहेको फिवर क्लिनीकमा पनि ७ बेडको क्षमता रहेको र त्यो पनि भरिएको अस्पतालले बताएको छ । नयाँ आएका बिरामीहरूलाई रिफर गरिरहेको र बताए । अस्पतालमा एचडियु बनिरहेको बताउँदै उनले यो बनेपछि केही सहज हुने बताए ।
स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह
लुम्बिनी प्रदेश सरकारकाले कोरोनाको संक्रमणबाट जोगाउनको लागि स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरि कोरोना संक्रमण फैलन नदिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोना फोकल पसर्न डा. पुष्पराज पौडेलले नागरिकमा आफै स्वास्थ्य मापदण्ड पालना गर्ने कुराको आभाास नभएसम्म सरकारका कामले मात्रै कोभिड नरोकिने बताए । दाङबाट सुमन केसीको सहयोगमा ।
Globalawaj