कहाँ छैन महिला हिंसा ?
यमुना पराजुली अधिकारी
केही समयअगाडि गायिका तथा सांसद कोमल वलीलाई आरोप लाग्यो– तिघ्रा देखाएर राजनीतिमा प्रवेश गरेको। संविधानसभा हलभित्र यस्तो हिंसा भएको केही समयपछाडि दैलेखकी एक महिला सुकी बडुवालले छोराछारीसहित नदीमा हेलिएर आफूलगायत ससाना आफ्ना छोराछोरीको पनि इहलीला समाप्त गरिदिइन्।
यी दुइटा घटना बिल्कुलै फरक परिवेशका हुन्। आपूm हिंसामा परेको केही दिनपछाडि कोमल वलीले जिल्ला अदालतमा गएर पीडकविरुद्ध उजुरी दिइन् भने ती कर्णालीकी महिलाले हिंसा खप्न नसकेर लालाबालासहित कर्णालीमा हेलिनुपर्यो। चरम हिंसा सहन नसकेकै कारण कोही पासो लाग्छन् त कोही विष पिउँछन् भने कसैले सन्तान नै सखाप पारिरहँदासम्म यस्ता घटना भएको केही समयसम्म मिडिया र सरोकारवाला तातिन्छन्। युटुबरहरूले भ्युज बटुल्छन् अनि फेरि सेलाउँछन् र केही समयमै फेरि त्यस्ता मुटु कमाउने घटना सुन्नमा र पढ्नमा आउँछन्। तर जरोसम्म किन पुग्दैनन् सरोकारवाला ? दैलेखकी सुकी बडुवालले किन आफ्ना सन्तान सखाप पारिन् ? एउटी आमाका लागि सन्तान सखाप पार्न के त्यति सजिलो होला ? सुकी गइन्, आफ्ना सन्तानसहित। तर सुकीजस्ता हिंसामा परेका अरू सुकी कति होलान् ? खै त जान्ने प्रयास ? बस्, घटना हुन्छ दुईचार दिन न्युज पढ्यो, सुन्यो, आँसु बगायो च्वच्व गर्यो पाँचौं दिन भुल्यो। यही हो त स्थानीय निकायको कर्तव्य ? यस्ता घटना रोक्न स्थानीय निकायले कतिको चासो दिन्छ र चेतनामूलक कार्यक्रम देखाउने गरेको छ त ? प्रश्न धेरै छन् तर उत्तर एकदमै कम।
के सहर के गाउँ ? के विकसित ठाउँ के अविकसित ठाउँ महिला हिंसा जहींतहीं नै छ भन्ने माथिका दुई उदाहरणबाटै स्पष्ट हुन्छ। गाउँमा स्कुलबाट फर्किंदै गरेकी छोरी खोलाखोल्सीतिर यौन हिंसामा पर्छे भने भ्यान चढेर बोर्डिङ स्कुल गएकी छोरी भ्यानभित्रै यौन हिंसामा पर्छे। उसलाई कसैले कुहिना ठोकाउँछ त कसैले चिरिक्क चिमोट्छ। कहाँ छ त सुरक्षित स्थान छोरीको लागि ?
संविधानसभा सदस्य त यसरी हिंसामा पर्न सक्छन् भने गाउँठाउँका धेरै देखसुन नभएका महिलामा कत्तिको पीडा होला ? हामी सहजै अनुमान लगाउन सक्छौं। धरै कानुन नबुझेका डरैडरमा जिउन बाध्य महिलाको अन्तिम विकल्प के हुन्छ त ? मर्नु या मार्नु ? यसका लागि सरोकारवालाले केके गर्दैछन् त ? मार्नु मात्र नभएर मर्नु पनि अपराध नै हो भनेर चेतना फिँजाएका छन् कि छैनन् होला ? केके कार्यक्रम लगेर निरिह महिलालाई सान्त्वना र हिम्मत दिँदैछन् त ? कानुन नै थाहा नपाएर आत्महत्या गर्न विवश महिलालाई तिमीले हिंसा सहनुपर्दैन। यो–यो प्रकारले हिंसा हुँदा सुनिदिने ठाउँ पनि छ है। हिंसा सहनु पाप हो भनेर कसले बुझाउने ? महिलाका नाममा खुलेका एनजीओ तारे होटलमै कार्यक्रम गर्न व्यस्त छन् कि गाउँगाउँ पनि पुगेका छन् ? यसको लेखाजोखा कसले राख्ने ?
सहरबजारमा हुने महिलाका पीडा छुट्टै छ फेरि। कानुन सबै थाहा पाएर पनि समाजको डरको खातिर हिंसा सहेर हाँस्न विवश छन् नारी। हिम्मतै गरेर डिभोर्स गर्दा पनि आम्दानीको पर्याप्त स्रोत नहुनु, छोराछोरीलाई राम्रो स्कुलमा हालेर पढाउन नसकौंला भन्ने पिर, छोराछोरीका सामान्य रहर पूरा गर्न नसकौंला भन्ने पिर। एकल भएर बस्ता अनेक लान्छना लाग्ला भन्ने पिर। बाउआमाले जिन्दगीभर पिर गर्नुहोला भन्ने पिर। यो हो हाम्रो समाज अरूका लागि हिंसा सहेर बाँचिदिनुपर्ने र हाँसिदिनुपर्ने समाजमा छौं हामी। सबै महिला सक्षम नै हुन्छन् भन्ने छैन। के जो महिला सक्षम छैन उसले सन्तानकै लागि कति समय हिंसा सहेर बाँच्ने त ? एउटी नारी स्वतन्त्र भएर हिंसारहित जीवन जिउन चाहन्छे भने उसका लागि ऊ आपूmउपयुक्त केही रोजगार पाउने कि नपाउने ? आफ्ना सन्तान महिलाले आफैं आफ्नै कमाइले पाल्न सक्ने वातावरण पाउने कि नपाउने ? कि आफ्ना सन्तानले सही शिक्षा पाउने लोभमा आमाहरूले हिंसा सहेरै बस्नुपर्ने हो ? अनि दूरदराजका महिलाले हिंसा सहन नसकेर सन्तानसहित इहलीला समाप्तै गर्नुपर्ने हो यसको जवाफ कता गएर खोज्ने होला ?
Annapurna post