ज्ञानेन्द्रको जस्तै ओलीको पनि अब बिदा हुने दिन आउँछः रिजाल
बुटवल- नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले तत्कालिन राजा ज्ञानेन्द्रको जस्तै केपी ओलीको पनि विदा हुने दिन आउने बताएका छन्। उनले नियम कानून नमान्नेहरु इतिहासमा लामो समय नटिकेको भन्दै प्रधानमन्त्री ओली पनि ढिलो चाँडो बिदा हुने उल्लेख गरे।
रिपोटर्स क्लब नेपाल लुम्बिनीले आइतबार बुटवलमा गरेको कार्यक्रममा नेता रिजालले केपी ओलीले सत्ता टिकाउन कै लागि निर्वाचनको घोषणा गरेको त्यो सफल नहुने दाबी गरे। ‘यो सरकारले निर्वाचनका लागि मिति घोषणा गरेको होइन। प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै गरेको हो ।’ उनले भने । ‘नरहे बासँ नरहे बसुरी’को संज्ञा दिदै उनले ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूर्ण विश्वस्त रहेको रिजालले बताए। । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निणर्य लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे। ‘पंचायतकाल होस् या राजा ज्ञानेन्द्रको पाला होस अदालतले सही निणर्य गरेको छ। राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । त्यसैले संसद पुनस्र्थापना हुन्छ ।’ उनले भने।
लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म निरन्तर विरोध गरिरहने रिजालले जानकारी दिए। कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनीका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा भएको थियो ।
Lumbini Times