१७ औं राष्ट्रिय धान दिवस मनाईयो ( फोटो फिचर सहित )

0

उमेश बि.क.
नवलपरासी १५ असार – पश्चिम नवलपरासी सहित देशैभर राष्ट्रिय धान दिवस मनाइएको छ । सोही क्रममा सरावलस्थित ज्योति सम्बाद केन्द्रको आयोजनामा तथा सरावल गाउँपालिका,एबीसी नेपाल ,स्ट्रोम फाउन्डेसन नेपालको संयुक्त सहयोगमा १७ औं राष्ट्रिय धान दिवस मनाइएको छ । धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित दिवस मनाइएको हो ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन धान दिवस संगै रोपाईं जात्राका रुपमा विविध कार्यक्रम गरि धान दिवस धुमधाम साथ सम्पन्न गरिएको छ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै थोरैव्यक्तिहरुको उपस्थितिमा जनप्रतिनिधि तथा किशोर किशोरीहरुले सरावलको हाताभित्र रहेको खेतमा धानको बेर्ना रोप्दै उक्त दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले हालसम्म नवलपरासी जिल्लामा ९५ प्रतिशत भन्दा बढि धानको रोपाई भइसकेको बताउनुभयो । मौसमको अनुकुलताको कारण यस वर्ष धानको वीउ चाँडै हुर्कनुको साथै खेतमा पानी प्रयाप्त भएको कारण राष्ट्रिय धान दिवसको दिनसम्म ९५ प्रतिशत धानको रोपाई सम्पन्न भइसकेको बताउनुभयो । नेपाल कृषि प्रधान देश भनिएतापनि माटोमा प्रांगरिक पदार्थ न्यून हुनु, गुणस्तर वीउ प्रतिस्थापन दर न्यून हुनु, सन्तुलन मलखादको प्रयोगमा कमि हुनु, मौसमी प्रतिकुलता, बाढि, जलवायू परिवर्तन, रोगकिरा महामारी जस्ता समस्याले गर्दा व्यवसायिक उत्पादनमा कमि हुन पुगेको बताउदै सरावल गाउँपालिकाबाट कृषि क्षेत्रको समस्या बुझ्दै विभिन्न कृषि अनुदान तथा कृषकलाई प्रत्यक्ष लाभ हुने काम गरिरहेको र अगामी आर्थिक बर्षमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदै काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको हो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले कोरोना महामारीले कृषिको महत्त्वलाई उजागर गरेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने निति लिएको बताउनु भएको हो । धान दिवसका अवसरमा शूभकामना सन्देश दिदै कोभिड—१९ महामारीले अर्थतन्त्रमा परेको नकरात्मक असरलाई न्यूनिकरण गर्न धानको उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो ।

१७ औं राष्ट्रिय धान दिवसमा धान रोपाई गरि दहि चिउरा खाएर सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल ,समाजसेवी बिनोद पाण्डेय ,एबिसि नेपालकी सहजकर्ता साइदा नेसा,सबिता चौधरी,किशोर किशोरी सम्बादका महेश यादव,सन्दिप बिक , सुरेन्द्र प्रजापति,सन्जय जैसवाल,आरिफ अलि खान , दुर्गा बि.क लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो।

You might also like