निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको म्याद आज सकिँदै, आयोजनाको काम भने निरन्तर
भैरहवा–रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद आज बिहीबार सकिदै छ।
पाँच पटक म्याद थप गरी सकेको विमानस्थलले निर्माण सम्पन्न गर्न नसकेको भन्दै आयोजनाले छैठौं पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ।
निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले २०२० डिसेम्बर ३१ सम्मका लागि निर्माणको लागि समयावधि पाएपनि निर्माण सम्पन्न नहुने देखिएपछि अघिल्लो साता नै म्याद थपका लागि आयोजनालाई निवेदन दिएको छ।
गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाले निर्माण कम्पनीको म्याद थपको निवेदन आएपछि अहिले सम्मको प्रगति र बाँकी काम सम्पन्न गर्न लाग्ने समयावधिलाई आँकलन गरेर म्याद अवधि थप गर्ने वा ठेक्का रद्द गर्ने विषयमा निर्णय गरेको छैन।
‘म्याद थप कहिले सम्म हुन्छ भन्ने कागजी प्रक्रियामा छ केही टुङगो लागेको छैन’–आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले भने–‘विमानस्थलको काम रोकिन्न, काम निरन्तर भइरहेको छ, निर्माण कम्पनीले काम सम्पन्न गर्न नसकेपछि म्याद थप गर्नु नियमित प्रक्रिया हो अधिकारीले लुम्बिनी टाइम्ससँग भने।’
आइसीबी एकको २०१५ जनवरीमा शिलान्यास भएको विमानस्थल १८ जुन २०१८ मा सम्पन्न हुन नसकेपछि म्याद थपिदै काम अघि बढेको थियो।
चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसन कन्स्ट्रक्सन ग्रुपले ५ औँ पटक थपिएको म्यादअवधिमा समेत काम सम्पन्न गर्न नसकेपछि छैठौं पटक म्याद थप्ने तयारी भइरहेको छ।
दुई सञ्चार उपकरणको जिम्मा पाएको एरोथाई कम्पनीले पनि काम सम्पन्न गर्ने गरी म्याद थपका लागि निवेदन दिएको छ।
सुरुवाती समयमा कछुवा गतिमा भइरहेको विमानस्थलको निर्माण कार्य पछिल्लो ३ वर्षमा २५ प्रतिशतबाट ९३ प्रतिशत भन्दा बढी भौतिक प्रगति हासिल गरेको छ। अहिले ९५ प्रतिशत उपकरणहरु अधिकांश फिल्डमा आइसकेको छ।
पहिलो चरणको अर्थात आईसीबी–१को काम मध्येको भौतिक निर्माणको सबै काम सम्पन्न भइसकेको छ। उपकरण जडान यहाँका प्राविधिकहरुले जडान गर्न नसक्ने भएर उपकरण जडान पूर्वका काम भएको छ।
सबै उपकरण आइसकेपनि फर्ड लाइट, एक्सरे मेसिन, कन्भियर बेल्ट, धावनमार्गका लाइट, भिएमआर÷डीएमई सञ्चार उपकरण, एयर ट्राफिक कन्ट्रोल तथा मौसम पूर्वानुमान व्यवस्थापनका लागि आवश्यक उपकरण जडानको लागि चिनियाँ, अमेरिका, अष्ट्रिया, थाइल्याण्डका प्राविधिक आउनु पर्ने छ।
विदेशी प्राविधिक जनशक्ति आउने प्रतिक्षामा रहेको बताउँदै अधिकारीले जनशक्ति व्यवस्थापन भएको २ देखि ३ महिनामा निर्माण सम्पन्न हुने जनाए।
‘आइसीबी १ का लागि तत्काललाई १० जना चिनियाँ कामदार आन्तरिक उडानबाट चिनियाँ अन्तर्राष्ट्रिय विमानस्थल आएको भन्ने सूचना आएको छ। अहिलेको मुख्य चुनौती दक्ष प्रविधिक ल्याउनु नै हो नआए सम्म केही भन्न सकिने अवस्था छैन’–अधिकारीले भने ।
लुम्बिनि टाईम्स