सडकमा टायर पोल्ने ‘बहादुर’हरूले चिन्नुपर्ने दीपेश (फोटो फिचर)

0

पर्वत : नेपालमा आन्दोलन भएका बेला रोष प्रकट गर्न सडकमा पुराना टायर बाल्ने खराब प्रवृत्ति छ। त्यसो गर्दा एकातिर पर्यावरणमा असर गर्छ भने अर्कातिर सडक संरचनामा क्षति पुग्छ।

आन्दोलनमा ‘टायर विकृति’ त छँदैछ। साथै, टायरको पुन:प्रयोग नगर्ने र जथाभावी फालिदिने समस्या पनि उत्तिकै छ।

तर, पर्वतको जलजला गाउँपालिका–३, माझफाँटका ३४ वर्षीय दीपेश के.सी. का लागि तिनै पुराना टायर जीवनका आधार हुन्। उनले ट्रकका ट्रक टायर खरिद गरी विभिन्न सामग्रीहरू बनाउँछन्।

पुराना टायरलाई ‘मोडीफाई’ गरेर बनाइएका कुर्ची, टेबल, फुलदानी गमला, ऐना, मूर्ति, मोडा र सोफा लगायतका सामग्री बनाएर बेचिरहेका उनले सबैबाट स्याबासी पाइरहेका छन्।

जापानी सीप स्वदेशमा उपयोग 

वि.सं. २०६८ सालमा दीपेश जापान गएका थिए। त्यहाँ रहँदा उनले पुराना टायरबाट नयाँ सामग्री निर्माण गरी बेच्ने एक कम्पनीमा काम गरे।

चार वर्ष जापान बसाइका क्रममा उनले टायरबाट अन्य बस्तु बनाउने कुरामा आफूलाई निखारे। जापानको सीपलाई स्वदेशमा प्रयोग गर्ने सोच राखेका उनले त्यही कारण पनि आफ्नो काममा बढी लगाव राखे।

‘विदेशमा काम गर्ने तरिका नेपालको जस्तो हुँदैन। त्यहाँ हरेक कुरालाई सकेसम्म खेर नफाल्ने भन्ने हुन्छ। मैले काम गर्ने उद्योगमा टायरबाट अरू सामग्री बनाउने काम हुन्थ्यो,’ दीपेशले भने, ‘विदेशमा सिकेको सीप यहाँका लागि नौलो भयो, सायद नेपालमा यहाँ बाहेक अन्य ठाउँमा पुराना टायरबाट यस्ता सामग्री बनाउने ठाउँ छैनन्।’

रोजगारीको सिलसिलामा जुन देशमा पुगेपनि त्यहाँ सिकेको सीपलाई स्वदेशमा प्रयोग गरेर त्यस्तै खालको मिहिनेत गरेमा सफल बन्न सकिने उनलाई लाग्छ।

ढाड दुख्ने समस्या निम्तिएपछि चौथो वर्षमा जापान छाडेर उनी स्वदेश फर्किए। स्वदेश फर्किएको केही समयमा नै उनले जलजला गाउँपालिका–८ नाङ्लीवाङस्थित लस्तीमा ‘ढिकी जाँतो हस्तकला केन्द्र’ स्थापना गरे। त्यसको उद्देश्य टायरबाट अन्य बस्तु बनाएर बिक्री गर्नु थियो।

विदेशमा पनि निर्यात

हस्तकला केन्द्रबाट उत्पादित सामग्रीहरू मुख्य बजार काठमाडौँ, इटहरी, पोखराको लेकसाइड, पर्वत, बागलुङ र म्याग्दी हुन्। ती ठाउँहरूमा उनले ‘सोरूम’ समेत राखेका छन्। विदेशमा उनको मुख्य बजार स्वीट्जरल्याण्ड हो।

कोरोना प्रकोप हुनु अघिसम्म हरेक ६/६ महिनामा उनले बनाएका सामग्री निर्यात हुने गरेको थियो।

कारोबार राम्रो, वातावरण पनि सफा 

आफूले गरिरहेको कामले राम्रो कमाई त भएकै छ, अर्को पक्ष : वातावरण पनि सफा र स्वच्छ हुँदा धर्मको काम पनि आफूले गरिरहेको दीपेश बताउँछन्।

एक महिनामा करिब ३० सेट कुर्ची, सोफा, मोडा लगायतका सामग्रीहरू निर्माण हुन्छन्। जसमा करीब दुई लाख रुपैयाँ जतिको कारोबार हुन्छ। कामदारलाई दिने तलब र लगानी कटाउँदा करिब ४० हजार रुपैयाँ जति बचत हुन्छ।

नयाँ प्रयोग भएको र सुरू गरेको त्यति लामो समय नभएका कारण पनि टायरले काठबाट बनेका फर्निचरलाई विस्थापित गरिहाल्ने अवस्था भने बनिहालेको छैन।

अहिलेसम्म खरिद गरेकाहरूले टायरका सामग्रीलाई निकै राम्रो मानेको बताएपनि उचित प्रचारप्रसार नभएका कारण कारोबार ह्वात्तै नबढेको दीपेश बताउँछन्। कोरोना महामारीका कारण भने यदाकदा मात्र कारोबार हुने गरेकोले अहिले सामग्री उत्पादन पनि नगरेको उनको भनाई छ।

‘कोरोना नआउने बेलासम्म व्यवसायले विस्तारै गति लिँदै गएको थियो। हामीले आवश्यक प्रचारप्रसार गरेनौँ, अनि यो कुरा नयाँ पनि भयो,’ दीपेश भन्छन्, ‘कोरोनाले कारोबार ठप्प भएको छ, ग्राहकहरू यदाकदा  आउने गर्नुभएको छ, जसले हामीकहाँबाट सामान लैजानुभएको छ, सन्तुष्टि मिलेका कारण उहाँहरूले अरूलाई पनि किन्न सुझाउनु हुँदोरहेछ।’

पुराना टायरको पुन:प्रयोग गर्दा वातावरण सफा राख्न समेत मद्दत पुगेकोले आफूले समाज र वातावरणको लागि अलिकति भएपनि योगदान गरेको उनको भनाई छ।

आन्दोलनका क्रममा बालिने र फोहोरको रूपमा यत्रतत्र फाल्दा प्राकृतिक सौन्दर्यता बिग्रनुको साथै प्रदूषण पनि गराउने वस्तुलाई पुन:प्रयोगमा ल्याउँदा आफूलाई आनन्द मिलेको दीपेश बताउँछन्।

साथमा माछा र तरकारी खेती

चार वर्षदेखि टायरको काम गरिरहेका दीपेशले तरकारी खेती पनि गरिरहेका छन्। उनले तरकारी उत्पादनका लागि मात्रै १२ लाख रुपैयाँ लगानी गरेका छन्। आठवटा टनेलमा काउली र गोलभेँडा लगाएका छन्। टनेल बाहिर पनि तरकारी लगाएका छन्।

दैनिक ४० किलोभन्दा बढी त टमाटर मात्रै बिक्री हुने गरेको र मागअनुसार उत्पादन गर्न नसकेको दीपेश बताउँछन्। कतिपय ठाउँका कृषकले व्यवसायिक रूपमा तरकारी खेती गरेर पनि बजार नपाएको बेलामा उनलाई भने यसको समस्या छैन।

बागलुङ, म्याग्दी र पर्वत तीनै जिल्लालाई पायक पर्ने स्थानमा खेती गरिरहेकोले आफ्नो उत्पादन जाने गरेको उनको भनाई छ। त्यसमा पनि उनको हस्तकला केन्द्र र तरकारी खेती छेवैमा मुस्ताङ–म्याग्दी–पर्वत–पोखरा सडक रहेको छ। जसले अन्य जिल्लामा उत्पादन निर्यात गर्न सहज भएको छ।

त्यससँगै रहेको माछा पालनले पनि उनको आर्थिक अवस्था बलियो बनाएको छ। पछिल्लो पटक मात्रै उनले माछाका ४५ हजार भुरा हालेका थिए। माछा र तरकारीको व्यापार पनि राम्रो हुँदा उनलाई जापानमा कमाएको पैसाले भन्दा स्वदेशमा परिवारसँगै रहेर गरेको आम्दानीले खुसी मिलेको छ।

टायर र तरकारीको लागि उनले १० रोपनी क्षेत्रफल भएको जग्गा भाडामा लिएका छन्।

थाहा खबर

You might also like