किन बेवारिस पारिन्छन् नवजात शिशु ?

0

२४ मंसिर ,काठमाडौँ — महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहरालाई कात्तिक १९ गतेको साँझ एउटा सूचना आयो । लगत्तै उनले काठमाडौं महानगरपालिका–७ स्युचाटारस्थित ठूलो पर्खालको खुला चौरमा प्रहरी खटाए ।

अन्दाजी ७ बजेतिर प्रहरी पुग्दा कम्मलले बेरेको टोपीसहितको कपडामा नवजात शिशु फेला पर्‍यो । बेवारिस शिशु तीन–चार दिनको रहेको अनुमान प्रहरीले गर्‍यो । शिशुलाई बालबालिका खोजतलास केन्द्रको जिम्मा लगाइएको छ ।

यो घटनाको एक दिनअघि पनि महानगरीय प्रहरी वृत्त गौशालाले गल्लीमा फालिएको अवस्थामा नवजात शिशु फेला पारेको थियो । कात्तिक १८ गते राति ८ बजेतिर बत्तीसपुतलीको द्वारिका होटल छेवैको गल्लीमा कपडाको झोलाभित्र नवजात शिशु भेटियो । वृत्तका डीएसपी जितेन्द्रदेव बस्नेतले उक्त नवजात शिशु कसले त्यहाँ फाल्यो भन्ने विषयमा केही पत्तो लाग्न सकेको छैन । ‘हामीले तत्काल बच्चालाई ओम अस्पतालमा उपचारका लागि पुर्‍यायौं,’ उनले भने, ‘तीन दिनसम्म अस्पतालमा राख्दा कसैले बच्चामाथि हकदाबी गर्न नआएपछि बालबालिका खोजतलास केन्द्रमा बुझाइयो ।’ केन्द्रले भने थप पालनपोषणका निम्ति शिशुलाई बाल मन्दिरमा जिम्मा लगाइदियो ।

बालबालिका खोजतलास केन्द्र स्रोतका अनुसार कोरोना संक्रमण सुरु भएपछिका पछिल्ला ९ महिनामा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार नवजात शिशु र एक ८ महिनाकी बालिका बेवारिस अवस्थामा फेला पारेर केन्द्रलाई बुझाएको थियो । केन्द्रले तीमध्ये तीन नवजात शिशु र एक बालिकालाई बाल मन्दिरमा र अर्को एक नवजात शिशुलाई एक गैरसरकारी संस्थामा पालपोषणका निम्ति राखेको छ ।

जन्मिनेबित्तिकैका शिशु परित्याग गर्ने विवशता कसरी आइपर्छ ? यसको यकिन उत्तर न प्रहरीसँग छ न त त्यस्ता शिशुको जिम्मा लिने बालबालिका खोजतलास केन्द्रसँग नै । गत साउन २४ गते काँडाघारीमा फेला परेको नवजात शिशु र त्यसपछि विकसित घटनाक्रमले किन नवजात शिशु मिल्काउने काम भइरहेको छ भन्ने प्रश्नको एउटा पाटो बुझ्न सघाउँछ । स्थानीयले प्रहरीलाई सूचना दिएपछि उक्त नवजात शिशुको उद्धार भयो । लगत्तै प्रहरीले स्थानीयले नै शिशु फालेको हुन सक्ने भन्दै सुत्केरी महिलाको खोजी सुरु गर्‍यो ।

शिशु भेटिएको स्थान नजिकै डेरा गरी बस्ने १५ वर्षीया किशोरीसमक्ष प्रहरी पुगेपछि भने शिशुको आमाको पहिचान खुल्यो । ज्यामी काम गर्ने आमा र मदिराका अम्मली बाबुकी छोरी ती किशोरीले एक युवाले आफूलाई मायाजालमा पारी बलात्कार गरेको बताइन् । बालबालिका खोजतलास केन्द्रको सूचनामा आएलगत्तै ती किशोरी, आमा र नवजात शिशुलाई एक गैरसरकारी संस्थाको सेल्टर हाउसमा राखियो । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार बाल करणीको आरोपमा पक्राउ परेका करिब २२ वर्षीय युवकमाथि मुद्दा चलाइएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर–४ को एक खेतमा असोज २९ गते सालनालसहितको शिशु फेला पारेको थियो । वृत्तका डीएसपी नवीन कार्कीका अनुसार शिशुको उद्धार गरेर आवश्यक उपचारपछि राष्ट्रिय बालअधिकार परिषद्सँगको समन्वयमा पालनपोषणका निम्ति माइती नेपालमा पुर्‍याइयो । गत साउन १३ मा कपनको आकाशेधारा नजिक चौरमा कार्टुनमा नवजात शिशु भेटिएको घटनाको अन्तर्य पनि अनिच्छुक गर्भाधारण र सन्तान जन्मेपछि आइपरेको असामान्य परिस्थितिसँग जोडिएको छ । केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले बेवारिस शिशु फेला परेको र आफूले पाल्न लगेको भन्दै युट्युबहरूमा झूटो अन्तर्वार्ता दिएको पोल त्यतिबेलै खुलेको थियो ।

नवजात शिशुको उद्धारमा खटिएका प्रहरी र बालबालिका खोजतलास केन्द्रका कर्मचारीहरू अनौपचारिक कुराकानीमा कोराना संक्रमणसँगै सुरु भएको बेरोजगारी र आर्थिक संकटसँग यस्ता घटनालाई जोडेर हेर्नुपर्ने बताउँछन् । असोज २० गते आरुबारीको एक डेराबाट उद्धार गरिएका ८ महिने र करिब ५ वर्षीया बालिकाको कथाले उक्त भनाइलाई बल पुर्‍याउँछ ।

आफ्नो घरमा डेरा गरी बस्ने अभिभावकले दुई सन्तानलाई डेरामै छाडेर भागेको सूचना घरधनीले फोनमार्फत महानगरीय प्रहरी वृत्त बौद्धमा दिएपछि यो घटना सार्वजनिक भएको थियो । ज्यामी काम गर्ने बाबुआमा मदिराको अम्मली रहेको सूचना पनि प्रहरीकहाँ पुगेको थियो । एक स्थानीयले लकडाउन सुरु भएपछि ज्यामी काम नपाएको र छोरीहरूलाई राम्ररी खुवाउन नसकेपछि उनीहरू भागेको हुन सक्ने बताए ।

राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल नवजात शिशु बेवारिस अवस्थामा भेटिनुका पछाडि दुई कारण हुन सक्ने बताउँछन् । कोरोना संक्रमण बढेसँगै देखिएको आर्थिक संकट र वैदेशिक रोजगारीबाट अनिच्छुक गर्भसहित नफर्किएकाको उचित व्यवस्थापन राज्यबाट नगरिँदा यस्ता घटना भएको उनको भनाइ छ । त्यसो त परिषद्ले अनिच्छुक गर्भ बोक्न बाध्य भएकाले सहारा नपाउने र नवजात सन्तान फ्याँक्ने क्रम बढ्न सक्ने भन्दै प्रहरीलाई पनि यस्ता घटना देखिनेबित्तिकै खबर गर्न अनुरोध गरेको थियो ।

कान्तिपुर


 

You might also like