चालककै लापरबाहीले बढ्दैछ दुर्घटना
२४ मङ्सिर, काठमाडौँ। भक्तपुरबाट काठमाडौँ आउँदै गरेको बा.८च ४७५६ नम्बरको कार आइतबार राति कौशलटारमा दुर्घटनामा प¥यो । दुुर्घटनामा कारमा सवार एक युवतीको मृत्युभयो ।
दुुर्घटना भएको केही समयपछि प्रहरीको सम्पर्कमा आएका कार चालक सञ्जित कार्की र अन्य दुुई जना घाइतेको बयान उद्धृत गर्दै प्रहरीले तीव्र गतिसँगै सडकमा आएको गाईको बाच्छी जोगाउन खोज्दा सो दुर्घटना भएको निष्कर्ष निकाल्यो ।
त्यस्तै प्यूठानबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको लुु.१च ९७३१ नम्बरको भ्यान ११ गते चितवनको इच्छा–मनकामना नजिक सडकबाट त्रिशूूली नदीमा खस्यो । त्यसमा सवार मुकुन्द रोक्का पौडिएर बाँच्न सफल भए पनि उहाँकी बिरामी श्रीमती जमुना, छोरी जिनिशासहित चालक सूूर्य केसीले ज्यान गुमाउनुभयो ।
प्यूठानदेखि काठमाडौँ सम्मको लामो यात्रासँगै बिहानीपख चालक निदाएका कारण उक्त दुर्घटना भएको निचोड प्रहरीले निकाल्यो । उल्लेखित यी दुुई सवारी दुर्घटनामा चालककै कमजोरी देखाइएको छ । तीव्र गति र चालक निदाएकै कारण यी दुर्घटना भएको दाबी प्रहरीको छ ।
लापरबाहीबाटै दुर्घटना
प्रहरी प्रधान कार्यालयले पनि ८० प्रतिशत सवारी दुर्घटनामा चालकको लापरबाही तथा कमजोरी औँल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले चालकले ट्राफिक नियम पूर्ण पालना गरी सवारी चलाउने हो भने ९० प्रतिशत दुर्घटना नियन्त्रण गर्न सकिने बताउनुभयो ।
उहाँले प्राविधिक कमजोरी भए पनि चालक सचेत हुनैपर्छ, सडक र सवारी साधनलाई दोष दिएर उम्कन मिल्दैन भन्नुुभयो । ट्राफिक प्रहरीको अध्ययनले पनि दुर्घटनामा चालकलाई मुख्य दोषी र त्यसपछि अन्य कारण उल्लेख गरेको छ ।
औसत १५ दुर्घटना
मुलुकभर औसत दैनिक १५ वटा सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक दुुई जनाले अकालमै ज्यान गुमाउने गर्छन् । राज्यले सवारी दुर्घटनालाई सामान्य रूपमा लिए पनि यसबाट हुने धनजनको क्षति कहाली लाग्दो छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सवारी दुर्घटना सम्बन्धी अध्ययन नै नहुने गरेको गुनासो गर्नुभयो । उहाँले चालकलाई मात्र दोष थुपार्ने काम चर्चाका लागि मात्र हो । हवाई दुर्घटनामा जस्तो समिति नै गठन गरी सवारी दुर्घटनाको छानबिन र अनुसन्धान हुन सकेको छैन भन्नुुभयो ।
दुर्घटना बढ्नुमा चालकलाई मुख्य दोषी देख्नुभन्दा चालक अनुमति पत्र वितरण प्रणाली नै परिवर्तन गर्नुपर्ने सुझाव उहाँको छ । चालकको स्वास्थ्य परीक्षणदेखि सडकको अवस्था, चौपाय, हुस्सु कुहिरो, खाल्डाखुल्डी र यात्रु हामी सबैको कमजोरी उहाँले देखाउनुभयो ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार सवारी दुर्घटनामा दैनिक २४ वटा सवारी साधनको संलग्नता देखिने गरेको छ । त्यसमध्ये बस, मिनी बस र माइक्रोबस दुर्घटनाको सङ्ख्या मोटरसाइकलपछि दोस्रो स्थानमा रहेको छ । उहाँले क्षति बेहोर्नुपर्दाको पीडा पीडित परिवार र व्यवसायीलाई मात्र थाहा हुन्छ भन्नुभयो ।
दुुर्घटना नियन्त्रण गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको यातायात व्यवसायी औँल्याउँछन् । सवारी चालक अनुमति पत्र वितरणदेखि सवारी चालकको स्वास्थ्य परीक्षण, सवारी परीक्षण, स्थलगत अनुसन्धान तथा छानबिन प्रक्रिया जिम्मेवार र पारदर्शी हुनुपर्ने व्यवसायीको सुझाव छ ।
दुर्घटना झनै बढ्दो
आर्थिक वर्ष ०७५/७६ देखि ०७७/७८ सम्म तीन वर्षको सवारी दुर्घटनाको तथ्याङ्क अध्ययन गर्दा प्रत्येक वर्ष दुर्घटना बढ्दै गएको पाइएको छ । आ.व. ०७५/७६ मा १३ हजार ३६६ दुर्घटनामा दुई हजार ७८९ को मृत्यु र चार हजार ३७६ जना घाइते भएका थिए । आ.व. ०७६/७७ मा १५ हजार ५५४ दुर्घटना हुँदा दुई हजार २५५ को मृत्यु, चार हजार ६१७ जना घाइते र २५ हजार सवारी साधनमा क्षति पुगेको थियो ।
चालू आर्थिक वर्षको चार महिना अवधिमा पाँच हजार ६०४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ६५५ को मृत्यु, एक हजार ९९९ जना घाइते, आठ हजार ८१७ सवारी साधनमा क्षति पुगेको छ । उक्त तथ्याङ्कबाट प्रस्ट हुन्छ, प्रत्येक वर्ष सवारी दुर्घटना बढ्दो गतिमा छ । यातायात व्यवस्था विभागले भने सडक विस्तार र सवारी चापका कारण दुर्घटना बढेको जनाएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले राज्य स्तरबाट स्पष्ट रणनीति, अध्ययन अनुसन्धान तथा चालकलाई प्रशिक्षण छैन । सडक र सवारीका विषयमा ऐन कानुन छन्, प्रभावकारी कार्यान्वयन छैन भन्नुभयो ।
गोरखा पत्र