काठ निकासीमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न फेकोफनको माग
नवलपरासी १४ मंसिर – वन पैदावारको उपयोगमा लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय परासीमार्फत वन तथा वातावरण मन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) पश्चिम नवलपरासीले सामुदायिक वनमा रोकिएका काठ कटान, ओसारपसार र बिक्री तत्काल खुला गर्न माग गर्दै फेकोफनले ज्ञापनपत्र बुझाएको महासंघका प्रदेश सचिवालय सदस्य नारायण पाण्डेले जानकारी दिनुभयो ।
महासंघले आइतवार परासीमा पत्रकार सम्मेलन समेत गरेको पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटका अध्यक्ष चुडामणी भण्डारीले जनाउनुभयो ।
सम्मेलनमा महासंघका अध्यक्ष कमल परियारले वन ऐन तथा नियमावली अनुसार रुख कटान तथा बिक्रीमा लगाएको रोक फुकुवा गर्नुपर्ने माग गर्नुभयो ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले २०७७ जेठ १५ गते वन क्षेत्रबाट काठ कटान ओसारपसार तथा बिक्रीमा लगाइएको प्रतिबन्धप्रति महासंघले आपत्ति जनाएको हो । अध्यक्ष परियारका अनुसार २०७७ जेठ २८ गते सालबाहेक काठको बिक्री खुला गरिएको छ ।
सालको काठमा निरन्तर प्रतिबन्धको कारणले देशभरका २२ हजार २ सय ६६ सामुदायिक वनले व्यवस्थापन गरी रहेका २९ लाख घरधुरीका १ करोड ४० लाख उपभोक्ताहरु आफ्नो दैनिक काम गर्नबाट वञ्चित भएका छन् । महासंघका अनुसार २०७७ असोज ११ गतेको निर्णय भए पश्चात वन तथा वातावरण मन्त्रालयले उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको क्रममा विभिन्न कार्यहरु सुरुआत गरेको घोषणा गरेको छ । सरकारले त्यस्तो व्यहोरा अवगत गराएतापनि सामुदायिक वनका उपभोक्ताले संकलित सालको काठ सदुपयोग तथा बिक्रीका विषयमा अहिलेसम्म कुनै निर्णय नभएको अध्यक्ष परियारले बताउनुभयो ।
महासंघका अध्यक्ष परियारको अध्यक्षता तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य नारायण पाण्डेको प्रमुख आतिथ्य र महासंघका जिल्ला उपाध्यक्ष दिलिप चापागाईंको सञ्चालनमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा लगायतले बोल्नुभएको थियो ।