बर्दघाट नगरपालिकाले ल्यायो दमकल, उद्योगी ब्यवसायी खुसी

0

 बर्दघाट ९ मंसिर – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि दमकल खरिद गरेको छ । नगरले विद्युतीय बोलपत्रमार्फत आर्थिक बर्ष २०७६÷०७७ दमकल खरिद प्रक्रिया शुरु गरेको थियो । नगरप्रमुख धीरज शर्मा बस्यालले बर्दघाटमा बढ्दो शहरीकरणसँगै आगलागीबाट हुने जोखिम न्यूनीकरण गर्न खरिद ऐनबमोजिम दमकल खरिद गरिएको जानकारी दिनुभयो । विना कुनै अनुदान आफ्नै लगानीमा नगरले दमकल खरिद गरिएको उहाँले बताउनुभयो । यस अघि दमकल खरिद जिम्मा अटो ओएज कम्पनी बुटवलले पाएको थियो । ६० लाख रुपैयाँमा लागतका दमकल ल्याइएको नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताउनुभयो । गत आर्थिक वर्षबाट उक्त तयारी भए पनि कोरोना लकडाउनले दमकल खरिद हुन सकेको थिएन । ०७७ कात्तिक मसान्तसम्म दमकल ल्याउने सम्झौता नगर र कम्पनीबीच भएको थियो । नगरमा आगलागीका हुँदा दमकल अभावले बर्सेनि लाखौं रुपैयाँको क्षति पुग्ने गरेको छ । आगलागीका घटनाबाट व्यावसायिक प्रतिष्ठानका साथै बस्तीमा समेत क्षति हुँदै आएको छ । यसअघि नगरप्रमुख बस्यालको कार्यकक्ष र पाठक खाद्य मसला उद्योगमा आगलागी हुँदा दमकलको विषय चर्चामा आएको थियो । स्थानीय रुपमा पनि निजी क्षेत्रले दमकल खरिदबारे चासो व्यक्त गर्दै आएको थियो । हाम्रो चाँसो र चिन्ता अब हटेको छ –बर्दघाट उद्योग वाणिज्य संघ अध्यक्ष लेखनाथ न्यौपानेले भन्नुभयो, ‘आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न दमकल आयो । न्यौपानेले दमकल ल्याइएकोमा खुसी ब्यक्त गर्नुभयो । नगरमा दमकल नहुँदा रामग्राम र बुटवल उपमहानगरबाट ल्याउनुपर्ने बाध्यता थियो । जिल्लाको पुरानो नगरपालिका रामग्राममा एउटा मात्र दमकल छ । उक्त दमकलले जिल्लाका ७ वटै पालिका, रुपन्देहीका केही पालिका र नवलपुरसम्म सेवा दिँदै आएको छ । नवलपुरस्थित कावासोती नगरमा पनि दमकल छ । यो समाचार बर्दघाट पोष्ट दैनिकले प्रथम पृष्ठमा छापेको छ ।

You might also like