बैदेशिक रोजगारीलाई निरुत्साहन – नगर प्रमुख बस्याल

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले नगरका दक्ष युवा शक्ति बैदेशिक रोजगारीका नाममा बाहिरिएको हु्दाँ आगामी दिनमा बैदेशिक रोजगारलाई निरुत्साहित गर्ने बताउनुभएको छ । स्वदेशमै युवाहरु टिक्न सक्ने वातावरणको सृजना गर्न नगरपालिका लागि परेको उहाँले जानकारी दिनुभयो । सोमबार बर्दघाट ४ बाढिपिडितमा स्थानिय तहको नेतृत्व र ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनरद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रम अन्र्तगत वितिय साक्षरता र मनोसमाजिक परामर्श कक्षा सञ्चालनका लागी समुह गठन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले सो कुरा बताउनुभएको हो । कार्यक्रममा उपप्रमुख माया देवी पौडेलले महिलाहरु पुरुषहरुको कमाईमा मात्र निर्भर हुन नहुने र स्वयं महिला पनि आर्थिक उपार्जनमा लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा बर्दघाट नगरपालिकाका रोजगार संयोजक जंग मल्ल, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगायतले मन्तब्य राख्नुभयो । नेपाल सरकार र स्वीस सरकरको दुई पक्षीय समझौता अनुसार श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्थानीय तहको नेतृत्वमा सञ्चालित सामी परियोजनाले सञ्चालन गर्ने गतिविधिका बारेमा ईन्द्रेणी समाजिक विकास मञ्चका अध्यक्ष बद्री सुवेदीले प्रकाश पार्नुभयो । परियोजनाले नगर भित्रका वडा नम्बर ४, ८, १० र १२ का ४ स्थानमा वितिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्ने जनाएको छ । उक्त कार्यक्रमको सहजीकरण सामी परियोजनाका संयोजक ज्ञानेश्वर भण्डारी र वितिय सहजकर्ता नारायण घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा बर्दघाट ४ का जनप्रतिनिधि, संघ सस्थाका प्रतिनिधि र बर्दघाट ४ को स्मृतिनगर र धौलागिरी टोलका बैदेशिक रोजगारीमा रहेकाहरुको परिवारको उपस्थिति रहेको थियो । कार्यक्रममा कक्षा सञ्चालनका लागि वडाध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षतामा ५ सदस्सीय कक्षा सञ्चालन समिति गठन गरिएको छ ।

You might also like