कोरोना संक्रमितको उपचारका लागि एचडीयू थप्ने लुम्बिनी प्रदेश सरकारको निर्णय अलपत्र, २ महिनासम्म भएन काम

0

बुटवल,  ७ मंसिर–असोजको पहिलो हप्ता बसेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बुटवलको लुम्बिनी प्रदेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीहरुको लागि हाइ डिपेन्डेन्सी युनिट एचडीयु सेवा विस्तार गर्ने निर्णय गरेको थियो।त्यसको झण्डै एक महिनापछि कात्तिकको पहिलो हप्तामा बसेको केन्द्रकै अर्को बैठकले पनि एचडियु सेवा सम्बन्धी एक कदम अघि बढेर निर्णय गरेको थियो।

‘सबै कोभिड विशेष अस्पतालमा एचडियु क्षमता विस्तार गर्ने। लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखाना कोभिड विशेष अस्पतालमा अघिल्लो निर्णयानुसार तत्काल आइसियु र एचडीयु सेवा विस्तार गर्ने’–बैठकका निर्णयमा भनिएको छ–‘सबै जिल्ला अस्पतालहरुमा अन्य सेवा प्रभावित नहुनेगरि र मौजुदा दरबन्दी र जनशक्तिबाट संचालन गर्ने गरि ५ बेड सम्म क्षमताको एचडियु सेवा सञ्चालन गर्ने।’ तर प्रदेश सरकारले तत्काल विस्तार गर्ने भनिएको भएपनि बुटवलको कोरोना विशेष अस्पतालमा अझै एचडियु सेवा थपिएको छैन। आइसियु भन्दा कम र जनरल आइसोलेसन बेड भन्दा बढी सुविधा भएको एचडियु सेवा भएमा उपचारमा सहजता हुने थियो। यसबाट मृत्युदर पनि कम हुन सक्थ्यो।

बुटवलको कोरोना विशेष अस्पतालमा १६ बेडको आइसियु सेवा छ। आइसियुका बेड प्रायः भरिभराउ हुन्छ। बेडको अभावमा अन्तिम अवस्थामा आइसियुमा ल्याइएका धेरैले ज्यान गुमाएका छन्। कतिपयको आइसियुमा बेड नै नपाएर मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुटवलको कोरोना अस्पतालको आइसियुमा हालसम्म ७५ जना बिरामी भर्ना भएका छन्। तर त्यो भन्दा बढी ९६ जनाको अस्पतालमै मृत्यु भइसकेको छ। यसले आइसियुमा उपचार नपाएर हुने संख्यालाई पनि चित्रित गर्दछ।अहिले लक्षण देखिएर  ज्वरो आएका बिरामीहरु सुरुमा प्रादेशिक अस्पतालको फिवर क्लिनकमा जाने गर्दछन्। सामान्य लक्षण देखिएकाहरु स्वास्थ्य परिक्षण पछि घर फर्केर होम आइसोलेसनमा बस्छन्।

गम्भीर प्रकारका बिरामीलाई कोरोना अस्पताल पठाइन्छ। धागो कारखानाको अस्पतालमा बेड खाली नहुँदा प्रादेशिक अस्पतालकै फिवर क्लिनिकमा राखिन्छ। आइसियु नपाएर कतिपय बिरामीको फिवर क्लिनिकमै मृत्यु भएको छ।अस्पतालमा एचडियु सेवा थपिएमा अन्तिम अवस्थामा आइसियुमा भर्ना गर्नुपर्ने अवस्था रहँदैन। आइसियु पुग्न भन्दा केही अघिको उपचार एडियुमै हुन्थ्यो। तर प्रदेश सरकारले निर्णय गरेपनि एचडियु सेवा विस्तारमा ढिलाइ भएको छ। सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशका चारवटै कोभिड अस्पतालमा अहिलेसम्म एचडियु सेवा विस्तार गरिसक्ने योजना रहेपनि केही ढिलाइ भएको बताए। उनले सबै अस्पतालमा बजेट गइसकेको र टेण्डर प्रक्रिया अघि बढेको जानकारी दिए।
‘सबै अस्पतालले टेण्डर प्रक्रिया अगाडि बढाएका छन्’–मन्त्री बरालले भने–‘अस्पतालहरुको समीक्षा बैठकमा पनि हामीले बजेट जाने काम नहुने अवस्था आउन नदिन भनेका छौं।’जिल्ला अस्पतालहरुलाई भने सुनिश्चितताको पत्र मात्र पठाइएको बजेट नपठाइएको उनले जानकारी दिए। अहिले ४ वटा कोभिड अस्पतालमा २५ वटाको दरले एचडियु सेवा थप हुने र त्यसको लागि ६ करोड जति बजेट छुट्याएको मन्त्री बरालको भनाइ छ। जनशक्ति नभएमा एचडियु सञ्चालनको लागि समस्या हुने अस्पतालहरुले बताइरहेका बेला मन्त्री बरालले अभाव हुन नदिने दाबी गरे। ‘४ वटा अस्पतालमा नयाँ दरबन्दी सिर्जना गरेका छौं, त्यसले एचडियु सेवा चलाउन सक्छ’ –उनले भने।
दाङको बेलझुण्डी स्थित कोरोना अस्पतालमा ५ बेडको आइसियु र १५ बेडको एचडीयु सेवा पहिलेदेखि नै छ।

प्रदेश सरकारले निर्णय गरेपछि पनि यहाँ एचडीयु बेड थपिएको छैन। कोरोना अस्पताल समेत हेर्ने राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्ड डा. शर्वेस शर्माले पत्र आइसकेको र २५ बेड एचडियु सेवा थप्ने तयारी गरेको बताए। ‘पत्र आएको छ, टेण्डर प्रक्रियामा जान्छौं’–उनले भने–‘सेवा थप भएपनि जनशक्ति अभाव हुँदा सञ्चालन गर्न समस्या नै हुन्छ।’ एचडीयु सेवा थप गर्ने प्रदेश सरकारले निर्णय गरेपनि जनशक्ति व्यवस्थापनबारे कार्यान्वयन फितलो छ। प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा ५ बेडको एचडियु सेवा विस्तार गर्ने निर्णय गरेपनि जिल्ला जिल्लाबाट शहरका ठूला अस्पतालमा बिरामी रिफर हुने क्रम जारी छ। कपिलवस्तु जिल्लाबाट कोरोना संक्रमणबाट गम्भीर बनेका थुप्रै बिरामी बुटवल र भैरहवामा रिफर भएर आइरहेका छन्। तर एचडियु सेवा सुरु हुन सकेको छैन। सामान्य लक्षण देखिएका बाहेक बिरामीलाई रिफर नै गर्नुपर्ने अवस्था रहेको कपिलस्तु अस्पताका डा. गणेश क्षेत्रीले बताए। ‘आइसियु चाहिने बिरामीलाई हामीले पठाउनै पर्छ’–उनले भने–‘एचडियु सेवा सुरु भयो भने बिरामीको रिफर धेरै कम हुन्छ।’

लुम्बिनि टाईम्स

You might also like