सरकार रमिते छ, आफ्नो सुरक्षा आफैँ गराैँ : कांग्रेस नेता सिंह

0

काठमाडाैं ,७ मंसिर :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेलासमेत सरकार रमिते बनेको बताएका छन्। आज आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँगको भेटघाटका क्रममा नेता सिंहले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जन जीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाएका हुन्।

‘यो सरकार स्वार्थमा डुबेको छ। भ्रष्टाचारमा लिप्त छ,’ पूर्व-उपप्रधानमन्त्रीसमेत रहेका सांसद सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ। यो लोकतन्त्रवादीहरूका लागि समेत अशोभनीय हो ।’ सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनकाे भनाइ छ।

उनले कांग्रेसले काेराेना लगायतका विषयमा प्रतिपक्षीको रूपमा कुरा उठाए पनि सरकारले बेवास्ता गरेकाे आराेप लगाए।  ‘कांग्रेसले भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोले कै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको’ उनले भने।

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको भन्दै उनले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने अवस्था अाएकाे बताए।  ‘कोरोना महामारीको बेलामा सरकारले के गर्याे अब यो भनिरहनु परेन,’ उनले भने, ‘ अब गर्छ भन्ने आश गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ ।’नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने पनि बताए।

You might also like