लामो सीमाबन्दीले सकस

0

सर्लाही ३ मंसिर, — कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा आठ महिनादेखि नेपाल–भारत सीमा वारिपारि आउजाउमा रोक लगाइँदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन् । सीमा वारिपारिको सम्बन्धमा लगाइएको ‘ब्रेक’ ले दैनिक जीवनमा प्रभाव परेको भन्दै सीमा क्षेत्रका मानिसले आक्रोशसमेत पोख्ने गरेका छन् ।

सर्लाहीमा भारतसँगको मूल नाका बन्द रहँदा वैकल्पिक बाटो वारपार गर्दै स्थानीय । तस्बिर : ओमप्रकाश/कान्तिपुर

सीमा क्षेत्रमा सरकारी निर्णयको अबज्ञा गरिरहेको पनि भेटिन्छ । औपचारिक नाका र प्रहरीको उपस्थिति रहेका ठाउँ नजिकैबाट खेतैखेत मानिसको लस्कर वारिपारि गरिरहेको देखिन्छ । सीमा क्षेत्रमा प्रहरीसँग भनाभन सामान्यजस्तै बनेको छ ।पारिको बजारमा यताभन्दा सस्तोमा सामान किन्न अभ्यस्त बनेका सीमावर्ती क्षेत्रका नेपालीलाई मर्का परेको छ । सर्लाही उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहले जीविकोपार्जनका लागि रासन खरिददेखि पेसा व्यवसायसम्मका लागि दुईतर्फी आउजाउ गरिरहने मानिसलाई नियमित कामकाज रोकिँदा समस्या भएको बताए ।

‘पारिका मान्छे यता आउन रोकिँदा नेपालको बजार र व्यवसाय पनि सुकेको छ,’ उनले भने । चाडबाडका बेला मानिसले थप पीडा महसुस गरेका छन् । कविलासी–७ गैरका आकाश ठाकुरले नाका बन्दका कारण भाइटीका लगाउन भारतको सीतामढीस्थित बहिनीको घर जान नपाउँदा खल्लो लागेको सुनाए ।

सीमा खुलाउनुपर्ने मागमा राजनीतिक दल, सीमा क्षेत्रका पालिका प्रमुख र सांसदहरू एकमत देखिएका छन् । जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीको संयोजकत्वमा सीमा खुलाका लागि दबाब दिन सर्वदलीय संघर्ष समिति बनाइएको छ ।

संघर्ष समितिको नेतृत्वमा मंगलबार मलंगवाको भारतको सोनवरसासँग जोडिने भन्सार क्षेत्रमा धर्ना दिइएको छ । धर्नामा प्रदेश सांसद, पालिका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ सबैले साथ दिएका छन् । धर्ना लगातार चल्ने र सुनुवाइ नगरिए छठपछि आन्दोलनमा जाने संघर्ष समितिका संयोजक चौधरीले बताए ।

औपचारिक नाका बन्द भइरहँदा सवारीसाधनबाट मानिसको ओहोरदोहोर हुन सकेको छैन । अत्यावश्यक कामले वारिपारि गर्नेहरू कष्टप्रद यात्रा गरिरहेका छन् । जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य अशोककुमार यादवले महिनौं सीमा बन्द गरेर सरकारले सीमावर्ती क्षेत्रका बासिन्दाबीच फाटो ल्याउने काम गरेको बताए । वारिका बजार पूर्णरूपमा खुलेका छन् । पारि पहिलेदेखि नै खुला छन् । सीमापारि बिहारमा भर्खरै चुनावसमेत भएको छ । दशगजा क्षेत्रमा मात्रै नेपालका तर्फबाट गरिएको लकडाउनले कोरोना संक्रमण नियन्त्रण हुने विश्वास राख्नु गलत भएको कांग्रेसका प्रदेशसभा सदस्य उपेन्द्र कुशवाहाले बताए ।

सीमा बन्दले सम्बन्ध र परम्परा मात्र हैन, यस क्षेत्रका नागरिकलाई औषधि उपचार गराउन पनि निकै समस्या परिरहेको छ । भारतीय बजार नजिक पर्ने गरेकाले सीमा क्षेत्रका नागरिकका लागि औषधि उपचारसहित किनमेल गर्न भारतीय बजार रोजाइमा पर्दै आएको थियो । अर्कोतर्फ भन्सारको बाटो बन्द हुँदा तस्करीले प्रश्रय पाएको छ । विद्यालय तथा कलेज पढ्ने उमेरका युवा तस्करीमा जोडिन थालेका छन् । पढाइ रोकिएर घर आएका कतिपय युवा वारिका व्यापारीका लागि सामान ल्याइदिने, औषधि ढुवानीमा संलग्न हुने जस्ता काममा सक्रिय भएका छन् ।

वीरगन्जमा स्नातक दोस्रो वर्षमा पढ्दै गरेका तर कक्षा नभएपछि लामो समयदेखि मलंगवा घरमै रहेका २० वर्षीय एकवाल (नाम परिवर्तन) ले एक किलोमिटर वारपार गर्दा दिनमा एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनले धेरै मानिसले भारतीय कम्पनीको औषधि सेवन गर्ने गरेको र त्यही आवश्यकता पूर्ति गरिदिँदा आफ्नो आम्दानी हुने गरेको उल्लेख गरे । ‘सबै मानिस खेतको बाटो, हिलो माटो हुँदै पारि जान चाहँदैनन् । मैले अत्यावश्यक मानिएका औषधि ल्याइदिएर समाजसेवा गरेको छु,’ उनले भने ।

चौधरीजस्तै कैयन् युवा जानेर नजानेर यसरी नै तस्करीमा रमाउन थालेका छन् । तस्करी बढ्दा सीमा क्षेत्रमा खटिएका प्रहरीले अनुचित लाभसमेत लिन थालेको एक जनप्रतिनिधिले बताए । युवाले ड्युटीमा खटिएको प्रहरीलाई रकम बुझाएर सामान वारपार गराउने गरेको बताए । उनका अनुसार बन्द रहेको मुख्य नाकामा खटिएका प्रहरीले नै चोरबाटो बताइदिने गरेका छन् । भारतको सीतामढीमा उपचार गराउँदै आएका धनकौल–९ का शिवकिशोर सिंहले भारतीय बजारमा सहजै सुपथ मूल्यमा पाउने औषधिलाई दोब्बर मूल्य तिर्नुपरिरहेको बताए । ‘दोब्बर पैसा दिँदा मात्र औषधि ल्याइदिन्छन्,’ उनले भने ।

नाका बन्दका कारण किसानलाई यसपालि रासायनिक मल अभावको समस्यासमेत भयो । यता नेपाल सरकारले मल उपलब्ध गराउन सकेन, उता किसानले पारिबाट मलको आपूर्ति गर्न सहज भएन । तस्करी गरेर ल्याइएको मललाई किसानले महँगोमा किन्नु परेको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताए । मलंगवामा सीमा क्षेत्र जोडिने मुख्य बाटोमै घर रहेका चौधरीले महिनौंदेखि वारिपारि गर्ने हजारौं मानिसको पीडा देख्दा विरक्त लागेको बताए । ‘झोला र बालबच्चा लिएर पैदल चोरबाटो हिँडिरहेका हुन्छन्,’ उनले भने ।

सरकारले कोरोना नियन्त्रणका लागि गत चैत ११ गते देशव्यापी लकडाउन तथा सीमा बन्द गरेयता सर्लाहीको नाका औपचारिक रूपमा खोलिएको छैन । पारि छिर्ने मुख्य बाटामा प्रहरीले बाँसको ढाट लगाएको छ । जसका कारण सवारीसाधन जान पाउँदैनन् । कतिपयमा भने नाम मात्रको बन्द छ । नेकपाबाट प्रतिनिधित्व गरेका चक्रघटा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले सीमा खुलाउन ढिला भइरहँदा मानिसमा उकुसमुकुस बढ्दै गएको बताए । ‘ग्राउन्ड रियालिटी एउटा छ । सरकारको नीति अर्कै खालको हुँदा समस्या छ,’ उनले भने । नागरिक अगुवा रजनीकान्त झाले नाका बन्द गरिए पनि कोरोना संक्रमणको फैलावट नरोकिएको बताए । ‘दुवैतिर लकडाउन भइरहेको अवस्थामा अर्कै थियो । दुवैतिर सबै खुल्ने तर सीमा मात्रै बन्द गरिरहँदा आम मानिसमा संशय पनि बढेको छ,’ उनले भने ।

सरकारले देशैभर भारतबाट नेपाल प्रवेशका लागि पछिल्लो समय १० वटा नाकालाई मात्रै अनुमति दिएको छ । प्रवेश गर्न भनिएका स्थानमा पनि आउजाउ सहज छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी पौडेल सीमा खुलाउनका लागि दबाब थेगिनसक्नुभएको बताउँछन् ।

‘जिल्ला तहको हातमा छैन, यहाँको विषयवस्तु केन्द्रमा पुर्‍याएका छौं,’ उनले भने । उनले सीमा बन्द हुँदा तस्करीलगायत विकृति बढेको र त्यसको नियन्त्रणका लागि प्रहरी प्रशासनले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरे ।

कान्तिपुर

You might also like