हाटबजारका सटरको टेण्डरमा अनियमितता भएको व्यवसायीको आरोप

0

 २५ कात्तिक ,बुटवल-बुटवल हाटबजारका व्यवसायिक सटरको टेण्डर प्रक्रियामा उपमहानगरपालिकाले अनियमितता भएको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् ।

उनीहरुले टेण्डर प्रक्रिया खारेज गरेर पुन अर्को टेण्डर आह्वान गर्न माग समेत गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरी व्यवसायीहरुले म्याद नाघेर आएका टेण्डरहरुलाई समेत दर्ता गराएको भन्दै उपमहानगरपालिकाले अनियमितता गरेको आरोप लगाए ।

कात्र्तिक २४ गते सोमबार मध्यान्ह १२ बजेसम्म अन्तिम म्याद रहेकोमा म्याद नाघेर आएका टेण्डर दर्ता गरेको भन्दै हिजो व्यवसायीहरुले उपमहानगरको कार्यालय घेराउ गरेका थिए ।

त्यसक्रममा प्रहरी र व्यवसायीबिच झडप समेत भएको थियो । पत्रकार सम्मेलनमा सटर व्यवसायी संघर्ष समितिका अध्यक्ष खुमानन्द खनालले सोमबार दिउसो २ बजे टेण्डर खोल्ने भनिएको भएपनि ३ बजेसम्म धमाधम टेण्डर दर्ता गरेको आरोप लगाए । उनले सुचनामा उल्लेख भए विपरित बैक मार्फत धरौटी जम्मा नगरी सिधै खाममा पैसा राखेर आएका निवेदनलाई समेत दर्ता गरेको बताए ।

बुटवल उपमहानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख विष्णु खनालले टेण्डर प्रक्रिया नियमाअनुसार भएको भन्दै खारेज नहुने बताए ।

‘बसिरहेका व्यवसायीले छोड्न नपरोस भन्ने कुरा अस्वभाविक होइन । उहाँहरुले आरोपका लागि आरोप लगाउनुभएको हो ।’-उनले भने-‘हामीले नियमअनुसार नै टेण्डर प्रक्रियाको काम गरेका छौं ।’

खाम भित्र रकम राखिएको भन्ने विषयमा आफूहरुलाई थाहा नहुने खनालको भनाइ छ । ‘बन्द खामभित्र ढुंगा माटो के छ हामीले जान्ने कुरा भएन ।’-उनले भने-‘पैसा राखिएको रहेछ भने पनि मुल्यांकन समितिले के गर्ने भन्ने कानुन अनिुसार निर्णय गर्छ ।’

हाटबजारका ८७ वटा सटरका लागि गरिएको टेण्डर आह्वानमा ३ सय ४१ जनाले निवेदन दिएका थिए ।  बुटवल उपमहानगरपालिकासँगको सम्झौता अनुसार १७ वर्ष अघि शेर्पा टि कम्पनीले सटर बनाएर भाडामा लगाएको थियो । सम्झौतामा उल्लेख भए अनुसार शेर्पा टि ले नै १५ वर्ष भाडामा लगाएको थियो ।

सम्झौताको अवधि २ वर्ष अघि सकिएपनि उपमहानगरले व्यवसायीहरुलाई २ वर्ष म्याद थपेको थियो । उक्त म्याद यही कात्तिक ३० गते सकिने भएपछि टेण्डर प्रक्रिया अगाडी बढाइएको हो ।

लुम्बिनी टाइम्स

You might also like