ढुंगामा जीवन भर्ने यम बहादुर : जसले लकडाउनको चालै पाएनन

0

भारतिय सेनामा भर्ति भएका भए बुटवलका यमबहादुर थापा अहिले सेवा निवृत्त भईसक्नु हन्थ्यो । बुवा लालवीर थापामात्र होईन बाजे जैबहादुर थापापछिको उनको सबै परिवार भारतिय सेनामै रहेकोले यमबहादुरलाई पनि भारतिय सेनामै भर्ति हुने दवाव थियो ।
भारतिय सेनाको सुवेदारबाट रिटायर्ड भएका बुवा लालवीरले यमबहादुरलाई पनि भारतिय सेनामै भर्ती गराउन चाहनु हुन्थ्यो । तर यमबहादुरले त्यो बाटो रोज्नु भए । तर सानैदेखि कलाक्षेत्रमा रुचि भएका यमबहादुरलाई अरुको देशमा अर्काको लागि काम गर्ने ईच्छा भएन, उहाले कलाक्षेत्र रोज्नु भयो ।
‘बुवालाई पनि आर्टमा फोटोग्राफिमा रुचि थियो, उतीबेला क्यामेरामा ब्लाकएण्ड ह्वाईट फोटो आउथ्यो, बुवाले फोटोमा कलर लगाएर रंगिन बनाउनुहुन्थ्यो म पनि नजिकै बसेर सिक्थे ।’ भारतबाट घरमा आउंदा कलर ल्याईदिनुहुन्थ्यो, मैले बनाएका चित्र हेरेर प्रोत्साहन गर्नुहुन्थ्यो त्यसैले पनि भर्ति हुन जबरजस्ती भने गर्नुभएन ।’ यम बहादुरले बिगत सुनाउनु भयो ।
‘हामी लाहुरेको सन्तान, मेरो बाजे भारतिय सेनाको हवल्दार, बुवा सुबेदार, माईलो बुवा, उहांको छोरा, मावली बाजे, मामाहरु, ससुरा बुवा सबै लाहुरे हुनुहन्छ, लाहुरेको परिवारमा जन्मिएर त्यो पेशामा लाग्न दवाव हुनु स्वभाविक थियो ।’ उहां भन्नु हुन्छ ।


‘कला मृत्यु पछिको जीवन हो,’ प्राचीन मिश्रको यो भनाई जस्तै थापाले ढुंगा, सिमेन्ट र धातुमा जिवन खोज्न थालेको पनि झण्डै तिन दशक भयो । ०२९ सालमा गुल्मीको सत्यवती गाउंपालिका २ थुम्का लाकुरीबास (साविक ठूलो लुम्पेक ७) मा जन्मिएका थापाले सबैभन्दा पहिले दुर्गाभवानीको बनाएको चित्र बनाउनु भएको थियो । कक्षा ४ मा पढ्दा बनाएको त्यो चित्र कतै हरायो रे ।
कसैको तस्विर हेरेकै भरमा दुरुस्त चित्र उतार्ने र सुहाउंदो रङ भर्दै जांदा मूर्तिकला प्रति आकर्षित हुंदै गए । कमेरो र कालोमाटो खोज्दै उनी खोला खाल्सी पुग्थे । खरबारीमा धमिरोले लगाएको माटो बोकेर ल्याउंथे । मेहनत गरेर बनाएका माटोका सामग्री हेरेर शिक्षकहरुले पनि हौस्याईदिन्थे ।
रुखमा बांगिएका हांगाबिंगा देखेपनि उनी त्यसमा कला देख्थे । ‘बेरिएका र बांगिएका हांगाविंगामा सर्प बेरिएजस्तै, चरा जस्तै आकृति लाग्थ्यो, त्यस्तै काठ दाउरा घरमा लिएर रंगाएर राख्थे ।’ कलामा सानैदेखि रुची भएकोले एसएलसी पछि काठमाण्डौमा ललितकला क्याम्पसमा भर्ना हुन गए उहाले सरसर्ती बिगत बताउनु भयो ।
उहां पढाई सकेर ०५८ सालमा बुटवल आउनु भयो त्यो बेला कार्यक्रमका लागि व्यानर तथा पसल व्यवसायका बोर्डहरु बनाउने चलन थियो । उहां पनि बुटवल ट्राफिकचोकमा ईमेज आर्ट स्टुडियो संचालन गरी कला सूरु गर्नुभयो ।
शुरुका दिनमा साईनबोर्ड, शिलापत्र र ताम्रपत्रबाट शुरु गरिएको ईमेज आर्ट स्टुडियाको चर्चा संगै यमबहादुरको सिप र क्षमतापनि निखारिदै थियो । उहांले साईनबोर्ड र शिलापत्रसंगै मूर्ति बनाउन सुरु गर्नु भयो ।साथीहरु यस्तो कला बेचेर बांच्न सकिदैन भन्नुहुन्थ्योे ।’ उहां विगत सम्झिनु हुन्छ ।
यमबहादुरले यो अवधीमा भगवानका मूर्ति, सहिद, राजनितिक दलका दिवंगत नेताहरु सालिक, गौतमबुद्ध लगायत दर्जनौ प्रकारका असंख्य आकृत्तिहरु ढुंगा, सिमेन्ट, धातु र काठका मुढामा उतारि सक्नु भएको छ । यो अवधीमा कति मूर्ति बनाएं भन्ने उहांलाई सम्झना छैन । देवताका मूर्ति कति बनाए भन्ने गनिदैन तर ठूला शालिकहरु ४० वटा जति बनाएको छु ।’ उहा भन्नुहुन्छ
आफ्ना श्रृजना सबै राम्रो लागेपनि सहिद कृष्णसेन ईन्छुक लक्ष्मीप्रसाद देवकोटा, लखन थापाको शालिक पनि मलाई मनपर्ने मध्येका हुन् ।’रुपन्देहीमात्र होईन दाङ, अर्घाखांची, गुल्मी, स्याङजा, चितवन, कपिलवस्तु लगायतका जिल्लामा उहांले ढुंगा, सिमेन्ट र धातुलाई कुदेर बनाएका मूर्ति र शालिकहरु ठडिएका छन् ।
यम बहादुरकै नेतृत्वमा राजधानी बाहिर पहिलो पटक २०६७ सालमा बुटवल हिलपार्कमा राष्ट्रिय प्रस्तर मूर्तिकला कार्यशाला र देवदहमा २०७६ सालमा काष्ठकला कार्यशाला सम्पन्न भईसकेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौका प्राज्ञ सभा सदस्य समेत रहेका यमबहादुरलाई नेपाल कमर्सियल आर्टिष्ट संघले २०६७ सालमा हेमगंगा युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।


भारतिय सेनामा भर्तिहुने पारिवारिक चेन तोडेर मूर्तिकलामा लागेका थापाले मूर्तिकलामा भने आफ्नो पारिवारिक चेन तयार गर्नु भएको छ । उहांकी स्नातकोत्तर श्रीमती ठमी थापा र साली नुमकला राहादी संगै जेटिए छोरा कुशल थापा मूर्तिकलामा रमाईरहेका छन् । खोलाको बगरमा फालिएको ढुंगामा छिना, हथौडा र मेसिन कुदाएर मूर्ति र शालिक बनाउनु सजिलो नभएपनि सिक्दै जांदा सहज लाग्ने कुशल बताउंछन् ।
चैत्र महिना यता कोरोना संक्रमणको कारण सबैक्षेत्र अस्तव्यस्त रहंदा उहांलाई भने काम गर्न भ्याईनभ्याई छ । अहिलेपनि उनले रुपन्देहीको सुर्यपुरा घटनामा मारिएका नेपाली कांग्रेसका नेता सहिद यादवनाथ आलोकको धातुको ७ फिट अग्ला शालिक बनाउंदै हुनुहुन्छ ।
सिमेन्टको मूर्ति र शालिक बनाउदा ५० हजारदेखि ९० हजार रुपैया सम्म पर्ने र धातुको भने ४ लाख देखि १३ । १४ लाख रुपैयासम्म पर्ने यम बहादुरको भनाई छ । ढुंगा सजिलै पाईने भएपनि त्यसलाई कुदेर बनाउंदा धेरै मेहनत लाग्ने भएकोले डेढदेखि दुईलाख सम्म लिन्छन् । समय, मेहनत, जोखिम र लगानी के मा बढि पर्छ त्यहि अनुसार मूल्य निर्धारण गर्छु । उहाले भन्नु भयो ।
ढुंगाको एउटा शालिक १५ दिनदेखि एकमहिना भित्रमा बनाएर पुरा गर्छन् । धातुको भने केहि बढि समय लाग्छ । धातुको आधा कदको शालिक डेढ दुई महिनामै बनाउन सकिन्छ, पुर्ण कदको बनाउन भने चारपांच महिना लाग्नसक्छ ।
‘मूर्ति बनाउन सिप संगै बल, धैर्यता, मेहनत, जांगर सबै चाहिन्छ, ढुंगामा काम गर्दा मिलाउन जानिएन भने चोईटिने डर हुन्छ, उछिट्टिएर लाग्ने डर हुन्छ, धातुमा बनाउंदा त्यसले पोल्ने, पड्किने खतरा बढि हुन्छ, बनाउन सबैभन्दा माटो र सिमेन्टको सजिलो हुन्छ ।’ उहा भन्नुहुन्छ् ।
नेपालमा मूर्ति र शालिकको महत्व सबैले बुझेको जस्तो लाग्दैन, मृत्यु भएका मानिसको वर्षौ पुरानो तस्विर हेरेर त्यसैको आधारमा उ जस्तै देखिने गरि शालिक बनाउने हो चोकमा सजिलै ठडिएको देखिएजस्तो बनाउन सजिलो छैन ।’ उहां भन्नुहुन्छ । कला भनेको चलचित्र मात्रै हो भन्ने बुझ्यो मिडियाले पनि हामीलाई साथ दिएन उहाले थप्नु भयो ।

समयचक्र
You might also like