तराई–मधेसमा घर छ, कोरोनाको कहाँ डर छ ?

0

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा कोरोनाभाइरसको संक्रमण कायम छ । कोरोना संक्रमणकै कारण दैनिक २०/२५ जनाको मृत्यु भइरहेको छ भने संक्रमितको संख्या पनि बढ्दो छ । पछिल्लो समय पिसिआर परीक्षणको दायरा घट्दै गएकाले संक्रमितको वास्तविक संख्या गणना हुनै नसकेको टिप्पणी पनि भइरहेको छ । कयौँ संक्रमितले अस्पतालमा बेड पाउन नसकेको गुनासो पनि व्याप्त छ भने होम आइसोलेसनमा बस्नेहरुको संख्या पनि उल्लेख्य छ ।

गत चैत ११ गतेदेखि लकडाउन र त्यसपछि निषेधाज्ञाका माध्यमबाट कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी विभिन्न प्रतिबन्ध लगाएको सरकारले पछिल्ला दिनमा खासै चासो राखेकोसमेत देखिँदैन । पिसिआर परीक्षण भइरहेका क्षेत्रमा संक्रमण दर उच्च देखिनु स्वाभाविक हो तर कतिपय स्थानमा पिसिआर परीक्षण नै ठप्पप्रायः रहेका कारण पनि नागरिकमा कोरोनाको त्रास हट्दै गएको देखिन्छ ।

तराई–मधेसमा यतिबेला कोरोनाको त्रास पटक्कै देखिएको छैन । सुरुवातमा कोरोनाको जोखिम क्षेत्र मानिएको प्रदेश २ का विभिन्न जिल्लाका साथै भारतसँग सीमा जोडिएका अन्य प्रदेशका तराईका जिल्लामा समेत दैनिक जनजीवन यतिबेला सामान्यजस्तै देखिन्छ ।

तराईमधेसको जनजीवन हेर्दा कोरोनाको डर काठमाडौं उपत्यकातिर मात्र हो कि भन्ने लाग्न सक्छ । तराई–मधेसमा घर भएकै कारण कोरोनाको डर नभएको हो कि भन्ने आशंकालाई मधेसको पछिल्लो दैनिकीले बलियो तुल्याएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बजार–व्यवसाय पूर्ववत् सञ्चालन भइरहेको छ भने मास्क लगाएका मानिस मुस्किलले कतै–कतैमात्र देखिन्छन् ।

सुप्रिया केमिकलमा कार्यरत सुजित पाठकका अनुसार लामो समयको बन्दाबन्दी मानिसलाई ‘गर या मर’ को अवस्थामा पु-याएकाले पनि मानिसहरु कोरोनासँग डराएर बस्न छाडेका छन् । ‘तराईमधेसमा कोरोना नै नभएको त होइन तर डराएर कति बस्ने भनेर विपन्न मानिसहरु बाहिर निस्किन थाले,’ उनले भने, ‘त्यसपछि क्रमशः बजारतिर चहलपहल बढ्न थाल्यो ।’

जनकपुर चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्र सर्वसाधारण सेवाग्राहीले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीहरु प्रयोग गर्न छाडिसकेको बताउँछन् । ‘कोरोनाको संक्रमण हटिसकेको त होइन,’ उनले भने, ‘तर मानिसले त्यसलाई बेवास्ता गर्न थालिसकेको देखिन्छ ।’

लामो समय लकडाउनका कारण बन्द रहेको पसल बल्ल–तल्ल खोल्न पाएको उनले बताए । मास्क, सेनिटाइजरविना आएका ग्राहकलाई सुरक्षात्मक स्वास्थ्य सामग्री प्रयोग गर्न अनुरोध गर्नासाथ फर्किएर अर्को पसलतर्फ जाने गरेका कारण बाध्य भएर उनीहरुलाई सुझाव दिनै छाडिएको उनले बताए । ‘सकेसम्म आफू जोगिएर बस्ने हो,’ उनले भने, ‘ग्राहकहरुमा भने कोरोनाको डर नै हराउँदै गएको देखिन्छ ।’

ग्राहककै लापरवाहीले कोरोना संक्रमण बढ्दै गएको हो कि भन्ने लाग्न थालेको अर्का व्यापारी सुशील कर्ण बताउँछन् । ‘ग्राहकले सचेतता नपाउँदा हामी पनि संक्रमित हौँ कि भन्ने शंका पटक पटक लाग्ने गरेको छ,’ उनले भने ।
प्रहरी तथा स्थानीय प्रशासनले बजारमा मास्कविना निस्किएका सर्वसाधारणलाई यसैगरी छुट दिइरहने हो भने भोलिका दिनमा जटिल परिस्थिति नआउला भन्न नसकिने उनले बताए ।
परीक्षणको दर घटेका कारण पनि गाउँघरमा संक्रमितको संख्या कम देखिन थालेकाले संक्रमण नै अन्त्य भएको हो कि भन्नेखालको भ्रम मानिसमा उत्पन्न गराएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।

स्थानीय प्रशासनकै निर्देशनको अवज्ञा
कोरोनाबाट बच्न र बचाउनका लागि आवश्यक सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयद्वारा जारी निर्देशनलाई नागरिकले उपेक्षा गरिरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल स्वीकार गर्छन् । महामारी फैलने सम्भावना अझै रहेको भन्दै सर्वसाधारणलाई घरमै बसेर चाडपर्व मनाउन अनुरोध सहितको सूचना जारी गरे पनि त्यसको कार्यान्वयन फितलो देखिएको उनको भनाइ छ ।

‘हाट बजार, पसल, सार्वजनिक यातायातका साधनहरुमा हुने भिडभाड हेर्दा हामीले जारी गरेको सूचनाको कुनै प्रभाव नै देखिन्न,’ उनले भने । लहान, गोलबजार, मिर्चैया, कर्जन्हा, धनगढीमाई, कल्याणपुर, सिरहा नगरपालिकादेखि सीमावर्ती सखुवानन्कारकट्टी, भगवानपुर, नवराजपुर, औरही, बरियारट्टी गाउँपालिकामा लाग्ने साप्ताहिक हाटबजारले जिल्ला प्रशासन कार्यालयको सूचनालाई पूर्णतया बेवास्ता गरेको छ ।
लामो समय लकडाउन र केही समय निषेधाज्ञाका कारण मर्का झेलेका व्यवसायी र सर्वसाधारणलाई चाडबाडको समयमा केही सहज होस् भनेर पनि कडाइ गर्न नसकिएको उनको भनाइ छ ।

हाटबजारमा आउने सर्वसाधारणमध्ये मुस्किलले १० देखि १५ प्रतिशतले मात्र मास्क लगाउने गरेको देखिन्छ । जिल्ला प्रशासन कार्यालयले हाटबजार, मेला, महोत्सव नचलाउन पटक पटक सूचना जारी गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

जिल्लामा दिनहुँजसो आउने मन्त्री तथा सांसदहरुको स्वागत, सम्मान तथा सभा, पार्टीप्रवेश जस्ता कार्यक्रमले पनि सर्वसाधारणमा कोरोना प्रोटोकल उल्लंघनका लागि उक्साइरहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले बताए ।

उनले भने, ‘जिल्लामा कोरोनाको संख्या बढ्दै छ तर, त्यसलाई बेवास्ता गर्दै दल तथा मन्त्री, सांसदहरुले सभा एवं जुलुस निकाल्दा सामान्य नागरिकको मनबाट कोरोनाप्रतिको भय हटेको छ ।’
सीमापार भारतीय क्षेत्रका बजार खुलिसकेपछि दैनिक उपभोगका सामान किन्न जाने गरेको भीडलाई समेत नियन्त्रण गर्न सकिएको छैन । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहोरले सामान्य अवस्थाको झल्को दिइरहेको सिरहा नगरपालिका– १७ का रामविलास यादवले बताए ।

जिल्लाका अधिकांश बजारमा उपभोग्य वस्तुहरु भारतीय बजार खुटौना, लौकाहा, जयनगरबाटै भित्रिन्छन् । अधिकांश लत्ताकपडा पनि भारतीय बजारबाटै भित्रिन्छ । चाडपर्व रहेकाले भारतीय बजारबाट त्यस्ता सामान ल्याउने तस्करहरुको ओहोरदोहोर बाक्लै देखिन्छ । भारतमा संक्रमण बढ्दै गएका कारण पनि यसरी सीमा क्षेत्रबाट भइरहेको ओहोरदोहोरले कोरोनाको जोखिम बढाएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।

यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कर्यालयले सूचना जारी गरे पनि त्यो केवल औपचारिकतामा सीमित देखिन्छ । कार्यान्वयन गर्ने निकाय उक्त सूचनाको पालना गर्न र गराउने सन्दर्भमा मौन देखिन्छ । सीमाक्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी मुकदर्शकजस्तै छन् ।

टोलटोलमा चल्ने साना सार्वजनिक सवारीसाधनमा सर्वसाधारणहरु खचाखच भरिएर यात्रा गरिरहेको भए पनि ट्राफिक प्रहरीले बेवास्ता गर्दै आएका छन् ।
सर्वसाधारणको दैनिकीमा कोरोनाको प्रभाव नदेखिए पनि जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव अझै संक्रमणको जोखिम उच्च रहेको बताउँछन् । उनले भने, ‘यसलाई रोक्ने भनेको भौतिक दुरी कायम गर्ने, भिडभाडमा जाँदा मास्क लगाउने, बेला–बेलामा साबुनपानीले हात धुने र स्वास्थ्य सतर्कता अपनाउने नै हो ।’

पछिल्लो समय यसतर्फ मानिसले ध्यान नदिएको उनी बताउँछन् । ‘यसले झन् महामारी फैलाउन मद्दत गर्ने देखेको छु,’ उनले भने । पिसिआर परीक्षणको दर घट्नुको कारण प्रस्ट्याउँदै उनले भने, ‘सरकारले नै लक्षण देखिएकाहरुलाई मात्र कोरोना जाँच गर्ने भनेकाले जँचाउनेको संख्या कम देखिएको हो ।’ जिल्लामा अहिले १० देखि १५ जनाको जाँच हुने गरेको उनको भनाइ छ । उनले भने, ‘लक्षण देखिएकाहरुलाई मात्र जाँच गर्ने भएकाले परीक्षण गराउनेमध्ये ४० देखि ५० प्रतिशतमा संक्रमण देखिने गरेको छ ।’

प्रदेश २ मा कोरोना संक्रमणको अवस्था
भारतमा अझै पनि कोरोना संक्रमण दर भयावह छ । भारतसँग खुला सीमा भएका कारण विभिन्न नाका आसपासका चोरबाटो हुँदै दैनिक सयौँ सर्वसाधारण एवं व्यापारीहरु भारतबाट नेपालतर्फ आउने गरेका छन् ।
सार्वजनिक सवारी साधन सञ्चालन भइरहेका कारण आन्तरिक रुपमा पनि दैनिक एक जिल्लाबाट अर्कोजिल्ला आवत्जावत् गर्नेहरुको संख्या उल्लेख्य देखिन्छ । यस्तो अवस्थामा कोरोना संक्रमणको प्रसार अनियन्त्रित हुन सक्ने जानकारहरु बताउँछन् ।

प्रदेश २ मा प्रत्येक दिन ५ सय देखि एक हजार जनासम्मको पिसिआर परीक्षण हुने गरेको र सोमध्ये करिब १ सय जनामा कोरोना पोजेटिभ पुष्टि हुने गरेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाउँछ ।
स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का निमित्त निर्देशक विजय कुमार झाले कोरोना चेकजाँचको रिपोर्ट सन्तोषजनक रहे पनि आगामी दिनमा अवस्था भयावह हुनसक्ने अनुमान लगाए । उनका अनुसार बजारमा दिनहुँ भिडभाड बढ्दै गएको, सर्वसाधारणहरु स्वास्थ्यप्रति सचेत नदेखिएका कारण कोरोना संक्रमणको जोखिम उच्च देखिन्छ ।
‘जबसम्म कोरोना संक्रमणविरुद्धको खोप वा औषधि तयार भएर बजारमा आउदैँन, तबसम्म आफ्नो स्वास्थ्य सुरक्षा आफैले गर्नुपर्ने हुन्छ,’ उनले भने ।

पश्चिम नवलपरासीतिर पनि उस्तै
लुम्बिनी प्रदशको बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा पनि पुरै बजार खोलिएको छ । भारतसँगै सीमा जोडिएको स्थानका हाटबजारहरु पनि पूर्ववत् अवस्थामा खुल्न थालेका छन् । मानिसहरु स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्डसमेत पालना नगरी बजार तथा सेवा प्रदायक सरकारी निकायमा आउने गरेको पाइएको छ । बजार एवं सार्वजनिक स्थानमा देखिने अधिकांश मानिसले मास्क प्रयोग गरेको देखिँदैन भने भौतिक दुरी कायमै हुन सकेको छैन ।

सैलुन व्यवसायी बिरेन्द्र ठाकुर कोरोनाको डरले घरमै बस्ने हो भने भोकै मर्नुपर्ने अवस्था आउने भन्दै डरका बाबजुद काम गर्नु परिरहेको बताउँछन् । यद्यपि आफूले स्वास्थ्य सुरक्षा सावधानी अपनाउने गरेको उनले बताए ।


‘कोरोनाको डरले घरै बसियो भने घर व्यहार कसरी मिलाउने भन्ने समस्या छ नि सर,’ उनले भने, ‘हामीले पसल रहरले खोलिरहेका छैनाैं, बाध्यता छ । पेट पाल्नको निम्ति पनि कोरोनाजस्तो संक्रमणसँग जुध्नु परिरहेको छ ।’
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक जिल्लाको सबै बजारहरु खोलिएको भए पनि आफूहरुले जनसमुदायलाई घरबाहिर कामकाजले निस्किदा मास्क लगाएर निस्किने, भौतिक दुरी कायम गर्ने, सेनिटाईजर प्रयोग गर्ने र सावधानी अपनाउन सूचना तथा सन्देशहरु प्रवाह गरिरहेको बताउँछन् ।

‘जिल्लामा लामो समयसम्म लकडाउन र निषेधाज्ञा लगाइयो । अहिले सबै खोलिएको छ,’ उनले भने, ‘त्यसैले पनि कोभिड–१९ रोकथामका लागि सरकारको पनि ध्यान र चासो घटेको देखिएको छ । हामीले धेरै भिडभाड हुने सरकारी निकाय तथा बजारहरुमा सेवाग्राही तथा कर्मचारी र व्यवसायीहरुलाई सावधानी अपनाई कामकाज गर्नु भनेका छाैं ।’ अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० नपुगेकाले प्रशासनका तर्फबाट कुनै प्रतिबन्धात्मक कदम नचालिएको उनले बताए ।

रातो पाटि

You might also like