कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापनमा घाटमै गएर स्थानीयले गरे अवरोध

0

२० कार्तिक/सिन्धुली : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएका सिन्धुलीको कमलामाई नगरपालिका ५ जरायोटारका ४८ वर्षीय एक पुरुषको शव अन्त्येष्टि गर्नेक्रममा स्थानीयले अवरोध गरेका हुन् । सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ती पुरुषको शव नेपाली सेनाले कमलामाई नगरपालिका ५, ६ र ७ को संगमस्थल गडौंली घाटमा अन्त्येष्टि गर्न लागेपनि स्थानीयले अवरोध गरेपछि रोकीएको हो ।

सयौंको संख्यामा जम्मा भएका स्थानीयले शव गाड्न खाल्टो खन्न पुगेको कमलामाई नगरपालिकाको ब्याकलोरलाई खाल्टो खनिसकेपछि नियन्त्रणमा लिएर अवरोध गरेका हुन् । कोरोना संक्रमितको शव ल्याउँदै गरेको थाहा पाएपछि आर्यघाटमै पुगेर विरोधमा उत्रिएका स्थानीय तथा शिक्षक कृष्णहरी ढुङ्गेलले कुनै हालतमा शव व्यवस्थापन गर्न नदिने चेतावनी दिए । उनीसँगै जम्मा भएकाहरुले प्रहरी माथिनै जाई लागेका थिए ।

उता शव व्यवस्थापनका लागि बिहानैदेखि प्रयास गरिएको भएपनि खाल्टो खनेर शव लैजाँदै गर्दा पनि स्थानीयले आक्रमणमा उत्रने भएपछि शव फिर्ता ल्याइएको कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीले बताए । 

उक्त स्थानमा परम्परागत घाट भएपनि कोरोना संक्रमितको भने अन्त्येष्टि गर्न स्थानीयले अवरोध गर्नु दु:खद भएको समेत मेयर खत्रीको भनाइ छ । घाटमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरेपनि स्थानीयले चर्को विरोध गरेपछि मृतकको शवलाई फर्काएर कमलामाई नगरपालिका ५ स्थित ढाक्रेबास खोलामा व्यवस्थापन गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

‘यसअघि जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकी कमलामाई नगरपालिका ६ पानीटंकीकी ८४ वर्षीया वृद्धाको शव कमलामाई नगरपालिका ७ स्थित बुकाखोलामा व्यवथापन गरिएको थियो । तर, यो पटक भने स्थानीयले विरोध जनाएपछि शव व्यवस्थापनको लागि अन्तिम तयारी गरिएपनि अर्को ठाउँमा लानुपरेको छ,’ प्रजिअ पाण्डेले भने ।

यसअघि गत जेठ महिनामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कमलामाई नगरपालिका ९ भिमानको चुरे जंगलमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

तर, त्यहाँपनि स्थानीयले अवरोध गरेपछि पुरानो आर्यघाटको रुपमा रहेको गाडौंलीमा शव व्यवस्थापन गर्न खोजिएको हो । गडौंलीमा समेत त्यहाँका स्थानीयले अबरोध गरेपछि अब कहाँ शव व्यवस्थापन गर्ने भन्ने अन्यौल भएको छ ।

तर, तत्काल जिल्लामा सर्बदलिय संयन्त्रको बैठक बसेर दिर्घकालीनरुपमा शव व्यवस्थापनका लागि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाए । …Annapurna post

You might also like