कोरोनाका नाममा लुटको खेती

0

बुटवल, असोज २९ /

 रुपन्देहीको मर्चवारी गाउंपालिकाले कोरोना संक्रमणको महामारी फैलिएसंगै त्यसको नियन्त्रण र व्यवस्थापनका लागि सन्चालन गरेका क्वारेन्टिनहरुमा भएको खर्च भन्दै मनोमानी रुपमा बिल भुक्तानी गरिएको छ ।
गाउंपालिकाका जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा खरिद नै नगरेका औषधी तथा अन्य सामानको बिल पेश गरि रकम निकाशा तथा भुक्तानी दिने गरिएको छ ।
गाउंपालिकाले कोरोना नियन्त्रणको लागि भन्दै क्वारेन्टिन व्यवस्थापनमा हालसम्म २ करोड रुपैया भुक्तानी दिईसकेको छ । गाउंपालिका अध्यक्ष, वडा अध्यक्ष तथा कर्मचारीहरुकै मिलेमतोमा अझै १ करोड ५० लाख बराबरका बिल भुक्तानीका लागि पेश गरिएका छन् ।
गत चैत्र ११ गतेदेखि देशभर लकडाउन गरिएपनि भारतिय सिमासंग जोडिएको उक्त गाउंपालिकाले सिमापारिबाट आउने नेपालीलाई क्वारेन्टिनमा राखेर मात्र घर पठाउने व्यवस्था गरेको थियो । तर क्वारेन्टिनमा बसेकाहरुको संख्याभन्दा बढि संख्या देखाएर समेत खर्च भएको भन्दै रकम भुक्तानी गरिएको छ ।
त्यस्तै क्वारेन्टिनमा प्रयोग नै नभएका औषधी, खानेपानी, साबुन तथा भांडावर्तन र बिस्तारहरुको समेत बिल पेश गरि भुक्तानी गरिएको छ । “गाउंपालिकाका अध्यक्ष, वडाअध्यक्ष तथा केहि कर्मचारीको सिफारिसको आधारमा रकम भुक्तानी लगिसकेका छन् ।” गाउंपालिकाका एक कर्मचारीले भने ।
सातवटा वडा रहेको गाउंपालिकामा वडा नंं १ मा तिन स्थानमा र अरु वडामा एकएक स्थान गरि ९ स्थानमा क्वारेन्टिन संचालन गरिएको थियो । गाउंपालिकाले क्वारेन्टिनहरुको संचालन तथा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित वडा कार्यालयलाई दिएको थियो । तर वडा अध्यक्षहरुले भने मनोमानी रुपमा खर्च माग गरेका छन् । कतिपय वडाले एकपटक भुक्तानी लगिसकेपछि दुईतिन पटकसम्म बिल पेश गरेका छन् ।
भुक्तानीका लागि गाउंपालिकामा पेश गरिएको विवरण अनुसार वडा नं. १ देखि ५ नंं वडामा जेनेरेटर, खाट र बिस्ताराको भाडा मात्रै ४१ लाख ७९ हजार ८८ रुपैयाको बिल पेश गरिएको छ । सबै वडाहरुले पूजा टेण्ट हाउस र चौहान टेन्ट हाउसको नामको बिल पेश गरेका छन् ।
जेनेरेटर र बिस्ताराको लागि सबैभन्दा बढि वडा नं. २ ले ११ लाख ९ हजार ४ सय रुपैया खर्च भएको दावी गरेको छ । त्यसवापत उक्त वडाले २ लाख ९८ हजार ४ सय रुपैया गाउंपालिकाबाट भुक्तानी लगिसकेको छ भने ८ लाख ११ हजार रुपैयाको थप बिल पेश गरेको हो ।
वडा नं. १ ले १० लाख ७१ हजार ९ सय ६० रुपैयाको बिल पेश गरेको छ ।
वडा नं. ३ ले जेनेरेटर र बिस्तारको भाडा भन्दै दुईपटक गरि ९ लाख ४७ हजार ६ सय रुपैयाको बिल पेश गरेकोमा ३ लाख ५५ हजार २ सय रुपैया भुक्तानी लगिसकेको छ । पछि थप गरिएको ५ लाख ९२ हजार ४ सय रुपैया भने भुक्तानी गरिएको छैन ।
वडा नंं ५ ले पनि जेनेरेटरको बिस्तारा भाडा भन्दै ४ लाख ६७ हजार ७ सय २० रुपैयाको बिल पेश गरेकोमा ४ लाख २७ हजार ६ सय रुपैया भुक्तानी लगिसकेको छ । पहिलो पटक पेश गरिएको बिलको भुक्तानी भईसकेपछि उक्त वडाबाट ४० हजार एक सय २० रुपैयाको बिल थपेर पेश गरिएको थियो ।
त्यस्तै वडा नं. ४ ले पनि जेनेरेटर भाडा भन्दै ५ लाख ८२ हजार ४ सय रुपैयाको बिल पेश गरेको छ । गाउंपालिकामा पेश गरिएको खर्च विवरण बैशाख २२ गतेदेखि असार मसान्त सम्मको हो ।
यी वडा कार्यालयहरुले दुई महिनाको अवधीमा क्वारेन्टिनमा खाना र खाजा खर्च भन्दै १ करोड ३४ लाख ३१ हजार भन्दा बढिको बिल पेश गरेका छन् ।
खाना खाजा खर्च भन्दै वडा नं. ५ ले दुईपटक गरि ३१ लाख ४८ हजार ९ सय ७० रुपैयाको बिल पेश गरेको छ । पहिलो पटक बैशाख २५ देखि जेठ मसान्तसम्म खाना खर्च १८ लाख ७१ हजार ६ सय १० गरि कुल २३ लाख ७१ हजार १० रुपैया भुक्तानी लगेको उक्त वडाले पुनः १५ लाख ३० हजार ७ सय २७ रुपैयाको बिल पेश गरेको छ ।
गाउंपालिकाको लेखा शाखामा पेश गरिएको असार महिनाको बिलमा खाना र नास्ताको लागि १२ लाख ७७ हजार ३ सय ६० रुपैया भुक्तानी माग गरिएको छ । यो वडाले दुईपटक गरि क्वारेन्टिन खर्च भन्दै ३९ लाख भन्दा बढिको भुक्तानी गर्न गाउंपालिकालाई दबाब दिईरहेको छ ।
त्यस्तै वडा नंं २ ले पहिलो पटक ११ लाख ८ सय ४० रुपैया भुक्तानी लगिसकेपछि दोश्रो पटक पनि १६ लाख १७ हजार ७ सय २० रुपैयाको खाना खर्च माग गरेको छ । उक्त वडाले विभिन्न खर्चको भन्दै २१ लाख ६२ हजार ४ सय ६० रुपैया भुक्तानी लगिसकेको छ । दोश्रो पटक २५ लाख ९ हजार सय ६९ रुपैया भुक्तान मागेको छ ।
वडा नं. ३ ले पनि पहिलो पटक २२ लाख ९२ हजार ५ सय ११ भुक्तानी लगेपछि फेरी १४ लाख ५४ हजार ८ सय ८० रुपैयाको खर्च माग गरेको छ ।
वडा नं. १ ले वडाका तिनवटा क्वारेन्टिनको खर्च भन्दै ३८ लाख ३० हजार ७३ रुपैया भुक्तानी माग गरेको छ । वडा नं. ४ ले भने एउटै क्वारेन्टिनको खर्च २८ लाख ४ हजार ६ सय ४ रुपैया देखाएको छ ।
वडा नं. ६ र ७ ले कुन शिर्षकमा कति खर्च भएको हो नखुलाई एकमुष्ठ रुपमा लाखौंको भुक्तानी माग गरेका छन् । गाउंपालिकामा पेश गरिएको विवरण अनुसार वडा नंं ६ ले बैशाख ३० गतेदेखि जेठ ३२ सम्म एक महिनाको अवधीमा २४ लाख ९ हजार ३ सय १७ रुपैया खर्च भएको भन्दै भुक्तानी माग गरेको छ । उक्त वडाले कति मानिस क्वारेन्टाईनमा बसेका थिए भन्ने नखुलाई खाना नास्ता भन्दै ११ लाख ६३ हजार ७ सय ६० रुपैया भुक्तानी माग गरेको छ ।
त्यस्तै वडा नंं ७ ले २१ लाख ५४ हजार १ सय ५२ रुपैया भुक्तानी माग गरेको छ । यो वडाले पनि खाना खाजाको लागि ११ लाख २३ हजार ९ सय ६० रुपैया भुक्तानी माग गरेको छ ।
पेश गरिएको खर्च विवरण हेर्दा सबै वडाहरुले एउटै अनुपातमा खर्चक्वारेन्टाईन व्यवस्थापन, सरसफाई कर्मीको पारिश्रमिक, भांडावर्तन खरिद, मास्क र सेनिटाईजर खरिद गरेको भन्दै रकम माग गरेको गाउंपालिकाले जनाएको छ ।
त्यस्तै गाउंपालिकाका कतिपय शाखा प्रमुखहरुले क्वारेन्टिन खर्च व्यवस्थापन तथा «सबैजसो वडाहरुले खाना खर्च भन्दै एउटै किराना र मिष्ठान्न पसलको बिल पेश गरेका छन् । किराना र मिष्ठान्न पसलबाट लाखौं रुपैयाको खाना खाजाको बिल पेश गरिएपनि कति जनालाई खाना खाजा खुवाईएको हो भन्ने उल्लेख गरिएको छैन । वडा कार्यालयले यतिसम्म गरेका छन् की क्वारेन्टाईनमा भएको सबै खर्चको बिल भौचर समेत एउटैमा उठाईएको छ ।
अधिकांश बिलहरु सितल गल्ला भण्डार एण्ड किराना स्टोर मर्चवारी, नेपाल एरोमेट्रिक ट्रेड लिंक, पूजा टेन्ट हाउस, यादव मिष्ठान्न भण्डार, प्रकाश बस्त्रालय लगायतका काटिएका छन् ।
अचम्म त के भने क्वारेन्टिनमा खाना नास्ता खुवाईएको भन्दै विशाल किराना तथा चिया पसल मर्चवारीको बिल पेश गरिएको छ । “खाना खाजा खुवाएको भन्दै किराना पसलको लाखौंका बिल पेश गरिएका छन्, यो सरासर ठगि हो ।” गाउंपालिकाका एक कर्मचारीले भने ।
ति क्वारेन्टिनमा बैशाख पहिलो सातादेखि असार दोश्रो सातासम्म क्वारेन्टिन संचालन गरिएको भएपनि ति क्वारेन्टिनमा कति व्यक्तिहरु राखिएको थियो भन्ने विवरण भने वडा कार्यालयसंग छैन ।
बिल हेर्दा यतिसम्म गरिएको छ की एउटै क्वारेन्टिनमा ४ सय ४५ थान झुल खरिद गरिएको देखाईएको छ । वडा नं. २ ले जनहित माविमा संचालन गरेको क्वारेन्टिनमा ४ सय ४५ थान झुल खरिद गरेको भन्दै बिल पेश गरेको छ ।
गाउंपालिकामा संचालन गरिएका ९ वटै क्वारेन्टिन विद्यालयमा बनाईएको र विद्यालयमा खानेपानीको राम्रो व्यवस्था भएपनि खानेपानी र साबुनको लागि मात्रै ८ लाख ७६ हजार बढि खर्च देखाएका छन् । सबै वडाहरुले पेश गरेको बिलमा सयौं कार्टुन पानी खरिद गर्दापनि खुद्रा बोतलको मुल्य अनुसारको बिल पेश गरिएको छ ।
यी वडाहरुले मास्क, सेनिटाईजर र औषधी विक्री गर्ने अनुमती नै नभएको प्रयोगशालाबाट ति वस्तु खरिद गरिएको भन्दै बिल पेश गरेका छन् ।
वडा नं १ को सेमरा स्कुलमा सन्चालित क्वारेन्टिनमा भएको खर्च बिवरणमा भैरहवाको मल्टीस्टार हेल्थ केयर सेन्टरबाट ५६ हजार ९ सय ६० रुपैयाको औषधी खरिद गरिएको बिल पेश गरिएको छ ।
उक्त सेन्टरले ल्याब संचालन गर्ने अनुमती लिएपनि औषधी बिक्रि गर्ने अनुमती नै पाएको छैन । तर वडाले भने मल्टिस्टार हेल्थ केयर सेन्टरको बिल राखेर बजार मुल्य भन्दा दोब्बर मुल्यका बिलहरु पेश गरेको छ ।
मल्टिस्टार हेल्थ केयर सेन्टरका सन्चालक रोशन पाण्डेले भने आफुले मर्चवारी गाउंपालिकालाई कुनैपनि औषधी बिक्रि नगरेको बताए । “मलाई औषधी बिक्रि गर्ने अनुमती पनि छैन मैले मर्चवारीलाई मात्र होईन कसैलाई औषधी बिक्रि गरेको छैन, मेरो फर्मको नाममा नक्कली बिल पेश गरेर कसैले खायो होला मलाई थाहा भएन ।” उनले भने ।
गाउंपालिकामा पेश भएको बिलमा अधिकतम बजारमुल्य ८ रुपैया पर्ने पेन्टापलाई २२ रुपैया उल्लेख गरिएको छ भने अधिकतम खुद्रा मुल्य १ रुपैया पर्ने निकोट्याव लाई १० रुपैया लिईएको छ । त्यस्तै क्वारेन्टिनमा औषधी दिने समेत अनुमती नभएको बताईन्छ ।
त्यस्तै सोहि वडाको जनशक्ति प्राविमा संचालित क्वारेन्टिनमा ५३ हजार १ सय ३० र सरस्वती प्रावि समेरगढमा संचालित क्वारेन्टिनका लागि ५९ हजार ८० रुपैयाको औषधि लगिएको भन्दै निदान फार्मेसीबाट बिल पेश गरिएको छ । निदान फार्मेसीले पनि उक्त गाउंपालिकामा कुनैपनि औषधी र मास्क तथा सेनिटाईजर विक्री नगरेको जनाएको छ ।
उक्त वडाले साबुन, पानी, कोलगेट ब्रस खरिद गरेको भन्दै शितल गल्ला भण्डार एण्ड किराना स्टोरको नाममा ३ लाख ९२ हजार ३ सय ७० रुपैयाको बिल पेश गरेको छ
वडा नं. १ का अध्यक्ष मुकेश यादवले गाउंपालिकामा पेश गरिएका सबै बिल वास्तविक खर्च भएका बिल भएको दावी गरे । दुईमहिनाको अवधीमा ३८ लाख बढि खर्च भएपनि भुक्तानी नभएको बताए ।
गाउंपालिका अध्यक्ष केशवनन्द बानियाले सबै क्वारेन्टिकन संचालन तथा व्यवस्थापनको लागि सम्बन्धित वडा अध्यक्ष र कार्यालयलाई जिम्मेवारी दिएकोले आफुलाई थाहा नभएको बताए ।
“सबै क्वारेन्टिनको जिम्मा सम्बन्धित वडालाई नै दिएर खर्च समेत पठाईएको हो, कति खर्च भयो, कसरी व्यवस्थापन भयो मलाई जानकारी छैन ।”  उनले भने ।
अध्यक्ष बानियाले आफुलाई जानकारी नभएको बताएपनि गाउंपालिकाको कार्यपालिकाको बैठकबाटै बिल भरपाई नहेरी सबै वडाहरुमा भएको खर्च भुक्तानीको लागि सिफारिस गरिसकेका छन्क । अहिले सबै वडाअध्यक्षहरु सोहि निर्णय बोकेर बिल भुक्तानीको लागि गाउंपालिका कार्यालय धाउने गरेका छन् । वडा अध्यक्षहरुले खर्च भुक्तानीको लागि गाउंपालिकाका कर्मचारीहरुलाई धम्किपूर्ण दवाव समेत दिने गरेका छन् ।

गाउंपालिका अध्यक्षबाटै कर्मचारीलाई ज्यानमार्ने धम्की

गत बैशाख १३ गते गाउंपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवाली, लेखा शाखा अधिकृत यमकान्त पौडेल र योजना अधिकृत पशुपती गैरेले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन दिए ।
निवेदनमा लेखिएको थियो “जीउज्यानको सुरक्षा गरी यस कार्यालयमा हाजिर गराउने व्यवस्था गरिपाउं ।” उक्त निवेदनमा गाउंपालिका अध्यक्ष केशवनन्द बानियाले विभिन्न गैरकानुनी गलत काम गर्न दवाव दिने र स्थानीय तथा सिमापारीका अपरिचित मानिसहरु प्रयोग गरि ज्यान मार्ने तथा अपहरण गर्ने धम्की दिने गरेको उल्लेख गरिएको छ ।


निवेदनमा अध्यक्ष बानियाले आफ्नो व्यक्तिगत हित अनुकुलका योजना सम्झौता गर्न दवाव दिने र कार्य सम्पादन नभएका योजनाको समेत कार्य सम्पादन भएको प्रमाणित गर्न दवाव दिने गरेको उल्लेख छ । गाउंपालिका अध्यक्षले गैरकानुनी कामको लागि दवाव दिने र नमानेको कारण ज्यान मार्ने धम्की दिएपछि प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली त्यहां बस्न नसकि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सरुवा माग गरि अन्यत्र सरुवा भईसकेका छन् ।
त्यहां कार्यरत लेखा अधिकृत पौडेलले पनि गाउंपालिकाका विभिन्न मानिसहरुद्धारा पटकपटक ज्यान मार्ने धम्की दिएकोले अन्यत्र सरुवाको लागि गत साउन १५ गते मन्त्रालयमा निवेदन पठाएका थिए ।
पौडेल अहिलेसम्म मर्चवारीमै कार्यरत रहेका छन् । प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीको स्थानमा लक्ष्मण अर्याल हाजिर भएका छन् । तर गाउंपालिका अध्यक्षबाट गैरकानुनी कामको लागि आउने दवाव भने नरोकिएको कर्मचारीहरु बताउंछन् ।
लेखा अधिकृत पौडेलले पुनः भदौ २८ गते सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनबाट पनि जनप्रतिनिधीबाटै अहिलेपनि धम्की आउने गरेको पुष्टि हुने गरेको छ ।
अहिले क्वारेन्टिनमा भएको खर्च भुक्तानीको लागि भन्दै गाउंपालिका अध्यक्ष र वडाअध्यक्षले बारम्बार धम्की दिने गरेको कर्मचारीहरुको भनाई छ ।

Samaya chakra

You might also like