राष्ट्रिय युवा संघद्वारा सपथ ग्रहण

0

बर्दघाट २४ असोज :

राष्ट्रिय युवा संघ नेपाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला कमिटीको शनिवार बर्दघाटमा सपथ ग्रहण भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानीका लागि आफू बुटवलको पक्षधर रहेपनि पार्टी अनुशासन कायम राख्न दाङ्को पक्षमा मतदान गरेको दावी गर्नुभयो । मन्त्री चौधरीले राजधानीका लागि बुटवललाई पनि दुई तिहाई मत नपुग्ने स्थिति रहेकोले पार्टीले ह्विप लगाएको र मतदानमा पार्टीका कुनै पनि सांसदले ह्विप उल्लघंन नगरेको बताउनुभयो । उहाँले बुटवल राजधानी हुने अवस्था नभएपछि बुटवल भैरहवालाई वित्तिय राजधानी तथा कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई सांस्कृतिक पर्यटकीय राजधानी बनाउने प्रस्ताव पनि आफैले गरेको जिकिर गर्नुभयो । राष्ट्रिय युवा संघका जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका केन्द्रिय वरिष्ठ सदस्य किरण पौडेलले संघका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य एवं स्थानीय तह कमिटीका संयोजक सहसंयोजकहरुलाई सपथ गराउनुभयो । युवा संघको गत फागुनमा एकिकरण भई ७१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको थियो । जसको संयोजकमा युवराज डुम्रे र सहसंयोजकमा दीपक राना रहेका छन् । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, राष्ट्रिय युवा संघका केन्द्रिय वरिष्ठ सदस्य किरण पौडेल, केन्द्रिय सचिवालय सदस्य केहर सिंह कुंवर, केन्द्रिय सदस्य प्रकाश भट्राई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

You might also like