शल्यक्रिया गरेको ९ घण्टापछि सुत्केरीको मृत्यु

0

मोरङको रंगेली नगरपालिका–७ मा रहेको रंगेली अस्पतालमा शल्यक्रिया गरिएको ९ घण्टापछि सुत्केरीको मृत्यु भएको छ। शल्यक्रियामार्फत प्रसूति गराइएकी सुनवर्षी नगपालिका–९ की २५ वर्षीया सुष्मिता मण्डलको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो। शल्यक्रियामार्फत उनले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिइन्। उनको पहिलो सन्तान पनि छोरी हुन्।

डा. अरुण भट्टराई नेतृत्वको टोलीले बिहीबार साँझ ५ बजेतिर उनको शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि सामान्य अवस्थामा रहेकी सुष्मितालाई एक्कासि पेट दुख्ने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम देवले बताए।

‘सुत्केरी महिलाको अवस्था सामान्य नै थियो। शल्यक्रियापछि पति (श्रीमान)लगायत परिवारका सदस्यसँग गफगाफ गरेर बसिरहेका बेला एक्कासि स्वास्थ्यमा समस्या देखियो,’ डा. देवले भने, ‘पेट दुख्ने र श्वास फेर्न गाह्रो हुन थाल्यो। अवस्था जटिल बनेपछि रेफर गरेर थप उपचारका लागि विराटनगर पठाउने तयारी हुँदै गर्दा मृत्यु भयो।’ उनका अनुसार सुत्केरीको मृत्युको कारण पत्ता लाग्न सकेको छैन।
‘फोक्सोको नशा ‘ब्लक’ भएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘पोस्टमार्टम गरेपछि मात्रै मृत्युको कारण पत्ता लाग्छ।’ शवको पोस्टमार्टम गरेर सुत्केरीको मृत्युको कारण पत्ता लगाइने जानकारी
डा. देवले दिए। उनका अनुसार आमाको मृत्यु भए पनि उनीबाट जन्मिएकी शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ।

सुत्केरीको मृत्यु भएको खबर प्राप्त भएसँगै आफन्त र परिवारका सदस्य रंगेली अस्पतालमा भेला भएका छन्। उनीहरुले मृत्युको कारण आफूहरुलाई प्रष्ट पार्नुपर्ने माग राखेका छन्। डा. देवका अनुसार आफन्त र परिवारका सदस्यले सुत्केरीको मृत्युको कारण बुझ्न खोजिरहेका छन्। ‘मृतक महिलाका आफन्तहरु अस्पतालमा भेला हुनु भएको छ। तर आक्रोसित नभइकन शान्तसँग बसेर उहाँहरुले मृत्युको कारण थाहा हुनुपर्ने माग राख्नु भएको छ,’ उनले भने, ‘आफन्तको मृत्यु भएपछि कारण थाहा हुनुपर्छ भन्न पाउनु उहाँहरुको अधिकार हो। हामी पनि सुत्केरीको मृत्युको कारण पत्ता लगाउने प्रयास गरिरहेका छौँ।’

पति राजेश मण्डलले शल्यक्रियापछि अवस्था सामान्य रहेको र निक्कै बेर आफूहरुसँग गफ गरेर बसेकी सुष्मिताको मृत्यु भएको बताए। ‘गफ गरेर बसिरहेका बेला एक्कासि पेट दुख्यो र श्वास फेर्न गाह्रो भयो,’ राजेश भन्छन्, ‘थप उपचारका लागि विराटनगरतर्फ लैजान खोज्दै गर्दा केही बेरमै मृत्यु भयो।’ सुत्केरी पत्नीको मृत्युको कारण आफूहरुले थाहा पाउनुपर्ने माग उनले गरेका छन्।  annapurnapost

You might also like