उपत्यकाका घर-घरमा संक्रमित, फेरि लकडाउन गर्न स्वास्थ्यविद्को सुझाव
असोज १९, २०७७ काठमाडौं :
पछिल्लो समय काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड १९) को इपिसेन्टर नै बनेको छ। उपत्यकामा हाल दैनिक करिब दुई हजार हाराहारीमा कोरोनाका संक्रमित देखिन थालेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार र स्वकीय सचिवसँगै सुरक्षाकर्मीसहित ७० बढीलाई कोरोना पुष्टि भएपछि बैठक र नेताहरूबीच भेटघाट नै रोकिएको छ। शनिबार आएको रिपोर्टअनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण भएको छ। यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई एकपछि अर्को गर्दै लगातार संक्रमण हुने क्रम बढ्दो छ। आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको तयारीको लागि गरिएको स्वाब परीक्षणमा ७ जना केन्द्रीय सदस्यसहित केहीलाई संक्रमण पुष्टि भइसकेको छ। यसरी सदस्यहरू संक्रमित बनेपछि नेकपाको सचिवालय बैठक तथा कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भइसकेका छन्। आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीका सचिवालयका सदस्यहरूलाई कोरोना पुष्टि भएपछि स्थगित भएको हो। उता, कांग्रेसको भोलि सोमबारको लागि बोलाइएको बैठक असोज २५ गतेसम्मलाई स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। उपत्यकामा आम सर्वसाधारणदेखि भिआइपी सम्मलाई संक्रमण हुन थालेपछि सरकारलाई पुन: केही समय उपत्यकामा कडा लकडाउन गरेर व्यापक रुपमा समुदायमा परीक्षण गर्नु पर्ने दबाब विज्ञहरुले दिन थालेका छन्। पुन: लकडाउन गरी अवस्थालाई नियन्त्रणमा लिन सुझाव उपत्यकासहित देशभर संक्रमित बढ्दै जाँदा सरकारमाथि पुन: लकडाउनको दबाब बढ्न थालेको हो। चिकित्सकहरूले पुन: लकडाउन गरी अहिलेको अवस्थालाई नियन्त्रणमा लिन सुझाव दिइसकेका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसमेत सहभागी रहेको मन्त्रालयको कोभिड १९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकमा सहभागी अधिकारीले संक्रमणले अवस्था भयावह भएको भन्दै तत्काल लकडाउनको निर्णय गर्न सुझाव दिएका छन्। मन्त्री ढकालले भने प्रधानमन्त्रीसँग छलफल गरी आवश्यक निर्णय लिइने बताएका छन्। प्रधानमन्त्री निकट मानिएका कतिपय चिकित्सकहरूले तत्काल लकडाउन नगरे लक्षण भएका संक्रमितले बेड तथा आइसियु पाउनै मुस्किल हुन सक्ने भन्दै नियन्त्रणमा लिने उपाय तत्काल खोज्न आग्रह गरेका छन्। उनीहरूले तत्कालका लागि लकडाउन एउटा विकल्प हुनसक्ने बताएका छन्। अत्यावश्यक कामबाहेक उपत्यका नआउन आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले समेत शनिबारको प्रेस ब्रिफिङमा अत्यावश्यक काम नपरी काठमाडौं नआउन र उपत्यकाबाट बाहिरसमेत नजान आम सर्वसाधारणलाई आग्रह गरिसकेका छन्।
उनले अब आउने मात्रै नभई जो जहाँ छ त्यही बस्नका लागि आग्रह गरिने बताएका थिए। उनले भनेका थिए, ‘अब आउन मात्रै होइन काठमाडौंबाट पनि अत्यावश्यक काम नपरी नबाहिरिनुहोला भन्ने हाम्रो सुझाव हो। किनभने अवस्था धेरै नै गम्भीर भइसकेको छ। यसलाई अब हामी नै अनुशासित भएर नियन्त्रणमा लिने हौँ।’ सोचेभन्दा अझै खराब अवस्था आउँछ यता, वरिष्ठ जनस्वास्थ्यविद् प्राडा. शरद वन्तले लकडाउन शब्दमा भन्दा पनि आम सर्वसाधारणलाई सचेत र अनुशासित बनाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिन्छन्। उनले अवस्था बिग्रँदै जाँदा यो अवस्था आउँछ भनेर पहिल्यै अनुमान रहेको भन्दै अब तत्काल सरकारले उपयुक्त निर्णय लिनुपर्ने बताए। उनले भने, ‘अहिले पनि समय बितिसकेको छैन लकडाउन मात्रै नभएर सम्भावित संक्रमितलाई समेत खोजी गरेर व्यापक परीक्षण गरेमा हामीले संक्रमण नियन्त्रण गर्न सक्छौँ नत्र उपत्यकाको अवस्था हामीले सोचेभन्दा अझै खराब हुन्छ।’ यस्तै, यसरी नै संक्रमण बढ्दै गएमा हाम्रो अहिलेको संरचनाले संक्रमितको उपचार धान्न नसक्ने उनको बुझाइ छ। सरकारले अहिले मुख्य रुपमा संरचना बढाउनुपर्ने उनको सुझाव छ। उनले भने, ‘हाल देखिएका धेरै संक्रमितमा लक्षण धेरै भएका छन् अब देखिने संक्रमित पनि धेरै लक्षण भएका नै हुनेछन्,’ उनले थपे, ‘यसरी नै संक्रमण बढ्दै जाँदा हाम्रो हालको संरचनाले धान्नै सक्दैन।’ हाल उपत्यकाका संक्रमित विभिन्न अस्पतालहरूमा छरिएर राख्दा पनि संक्रमण फैलिएको उनले बताए। उनले भने, ‘खासमा कोभिड र ननकोभिड बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा पनि संक्रमण फैलिएको छ।’ सरकारले कोभिड डेडिकेट अस्पताल बनाउनु पनि आवश्यक रहेको उनको सुझाव छ। पछिल्ला दिनमा कोभिडका बिरामीले राजधानीका सबै अस्पताल भरिभराउ छन्। आम सर्वसाधारणदेखि भिआइपी मात्रै होइन। यसपटक अस्पतालमा कार्यरत चिकित्सक नर्स तथा प्यारामेडिक्स र अन्य सहयोगी गरी ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमणमा परेका छन्।..Thaha khaber