बालुवाटारमा कोरोना : प्रधानमन्त्रीको भेटघाट बन्द, चिया पिउन र मास्क खोल्न निषेध

0

असोज १८, २०७७ काठमाडौं : 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अहिले कोरोनाको हटस्पट बनेको छ। शनिबार आएको रिपोर्ट अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका पाँचजनासहित ७५ जनालाई कोरोना देखिएको छ। प्रमुख सल्लाहकार विष्णु रिमालसहित सचिवालयका पाँचजना र ७० जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै किसिमका भेटघाट बन्द गरेका छन्। ठूलो संख्यामा कोरोना देखिएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य सुरक्षामा सतर्कता बढाइएको छ। गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई सामान्य मानिसलाई भन्दा कोरोना संक्रमणको जोखिम उच्च हुन्छ।

त्यहीकारण स्वास्थ्य सुरक्षामा सतर्कता अपनाइएको प्रधानमन्त्री ओलीको निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले बताइन्। बालुवाटारमा चिया पिउन र मास्क खोल्न निषेध शुक्रबार कोरोना परीक्षणका लागि नमुना दिएकामध्ये ७५ जनामा कोरोना देखिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको रिपोर्ट नेगेटिभ आएको छ। यो प्रधानमन्त्री र उनकी पत्नीको यो रिपोर्ट बिहीबारको हो।  बालुवाटारमा तैनाथ सुरक्षाकर्मी र सचिवालयका सदस्यहरूमा ठूलो संख्यामा कोरोना देखिएपछि उनको मेडिकल टिमले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटघाट निषेध गरेको छ।  बालुवाटारमा जाने सबैलाई चिया पिउन र मास्क खोल्न मनाही गरिएको निजी चिकित्सक प्रा.डा. शाहले बताइन्। ‘अन्य व्यक्तिलाई भन्दा अंग प्रत्यारोपण गरेका मानिसमा संक्रमणको उच्च जोखिम हुन्छ। हालसम्म उहाँ सुरक्षित हुनुहुन्छ’,  उनले भनिन्, ‘धेरैमा संक्रमण देखिएपछि अन्यलाई पनि संक्रमणको जोखिम हुन्छ। त्यहीकारण हामीले उहाँको भेटघाटमा कडाइ गरेका छौं। भेट्नै पर्ने मानिसले पनि उहाँसँगको भेटका क्रममा चिया नपिउने र मास्क नखोल्न अनिवार्य गरेका छौँ।‘  मास्क खोलेर बोल्दा थुकको छिटाबाट संक्रमण सर्न सक्ने उच्च जोखिम हुन्छ। चिया पिउँदा पनि त्यही हुने भएकाले सकभर अत्यावश्यक काम बाहेकका व्यक्तिसँग प्रधानमन्त्रीलाई नभेट्न सुझाव दिएको सिंहले बताइन्।  ‘अन्य व्यक्तिमा भन्दा प्रत्यारोपण गरिएका व्यक्तिमा संक्रमण देखिए गाह्रो हुने हुन्छ’, उनले भनिन्, ‘त्यसैले सकभर अहिले प्रधानमन्त्रीज्युसँग भेटघाट कम गर्न सबैलाई आग्रह गर्छु,’ उनले भनिन्।

शनिबार प्रधानमन्त्रीको सचिवालयका पाँचजना सदस्यसँगै ७० जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भएको थियो। शनिबार आएको रिपोर्ट अनुसार प्रधानमन्त्रीका तीन सल्लाहकार विष्णु रिमाल,डा राजन भट्टराई र सूर्य थापालाई कोरोना पुष्टि भएको थियो। त्यसैगरी प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना देखिएको छ। यसअघि प्रधानमन्त्री कार्यालयकै फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना देखिएको थियो। स्रोतका अनुसार शनिबार आएको रिपोर्टमा बालुवाटारको सुरक्षामा तैनाथ नेपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८ जना, नेपाल प्रहरीका २१ जनालाई कोरोना देखिएको थियो। केही दिनअघि प्रधानमन्त्री सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा संक्रमण देखिएपछि त्यहाँ सबैको परीक्षण गराउन थालिएको हो। त्यस क्रममा बुधबार प्रधानमन्त्री र उनीसँग नजिक रहने सदस्यहरुको नमूना लिइएको थियो । त्यसपछि क्रमश: अरुको पनि जाँच भइरहेको छ।  Thaha khaber

You might also like