रेस्टुराँ खुले, तर छैनन् ग्राहक

0

१४ असोज /

काठमाडौं : सरकारले व्यवसाय सञ्चालनको अनुमति दिएसँगै असोज १ देखि होटल तथा रेस्टुराँ सञ्चालनमा आएका छन्। कोरोना महामारीका कारण चैत ११ गतेबाट बन्द होटल तथा रेस्टुराँ असोज १ गतेदेखि सञ्चालनमा आएका थिए। कोरोना संक्रमण दर घटिनसकेको भएकाले होटल तथा रेस्टुराँ सञ्चालनमा आए पनि ग्राहक नआएको होटल व्यवसायी बताउँछन्।

अहिले ग्राहक आउनेभन्दा पनि कोरोना सुरक्षाका उपाय होटलले कसरी अवलम्बन गरेका छन् भन्ने जिज्ञासाका लागि फोन आउने गरेको होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले जानकारी दिए। ‘ग्राहकले होटलले संक्रमण रोकथामका लागि के कस्ता उपाय अपनाएको छ। हामी कत्तिको सुरक्षित छौं जस्ता सुरक्षाचासोबारे जिज्ञासा राख्ने गरेका छन्’, उपाध्यक्ष शाह भन्छन्। सुरक्षित बसाइका लागि विश्वासको वातावरण बनाउनु ठूला होटलको अहिलेको चुनौती रहेको उनको भनाइ छ।

कोरोना त्रास एकातिर छ भने अर्कोतिर सबै व्यापार व्यवसाय प्रायः ठप्प हुँदा होटल तथा रेस्टुराँमा गएर खाने वातावरण नभएको व्यवसायी नै बताउँछन्। नखुल्नुभन्दा खुलेपछि विस्तारै व्यवसायले गति लिने अपेक्षा व्यवसायीको छ। कोरानाले गर्दा सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्नुपर्ने संघ उपाध्यक्ष शाहले बताए। ठूला पाँचतारे होटल पनि आंशिक मात्र सञ्चालनमा छन् भने केही सञ्चालनको तयारीमा रहेको शाहले जानकारी दिए। पाँचतारे होटलका रेस्टुराँ तथा कफी सप भने खुलेका छन्।

उपत्यकाका अधिकांश रेस्टुराँ खुलेको भए पनि विदेशी पर्यटकमा आस्रित ठमेलका होटल तथा रेस्टुराँ खुल्न नसकेको रेस्टुराँ तथा बार एसोसिएसन नेपाल (रेबन) का अध्यक्ष अरनिको भण्डारीले जानकारी दिए। ठूलाभन्दा साना होटल तथा रेस्टुराँमा मानिसको चहलपहल केही बढी भएको उनले बताए।

पर्यटकीय नगरी पोखराका होटल पनि कुल संख्याको २५ देखि ३० प्रतिशत मात्र खुलेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। ग्राहक संख्या भने नगन्य रहेको बताए। संक्रमण यथावत रहेको, विदेशी पर्यटक आउन नपाएको, सभा तथा सम्मेलन एवं मठ मन्दिर दर्शन पनि नखुलेकाजस्ता कारणले गर्दा होटल रेस्टुराँमा ग्राहकको चाप नभएको उनले बताए। दसैंतिहारपछि व्यवसायले गति लिने आशा उनको छ। आन्तरिक पर्यटनको हबको रूपमा रहेको चितवनका होटल, रेस्टुराँ तथा रिसोर्ट असोज १ बाट नै सञ्चालनमा आएका छन्।

व्यवसाय खुलेको भए पनि चहलपहल खासै नभएको होटल संघ चितवनका पूर्व अध्यक्ष ज्ञानेन्द्र विष्टले बताए। अलिअलि नेपाली पाहुना आउने गरेको उनी बताउँछन्। व्यवसाय चलाउने अहिलेको रणनीति आन्तरिक पर्यटनलाई पहल गर्नु नै भएकाले होटल आफैले पनि सस्तो प्याकेजका लागि तयारी गरिरहेको विष्ट बताउँछन्। ‘सस्तो दरमा प्याकेज उपलब्ध गराएर घरेलु पाहुना आकर्षण गर्ने सबै व्यवसायीले सहमत गरेका छौं। साबिकभन्दा ३० प्रतिशतसम्म सहुलियत दिने गरी काम भइरहेको छ’, विष्ट बताउँछन्। दसैंपछिबाट चितवन तथा सौराहा घुम्न अभियान चलाउने तयारीमा व्यवसायी छन्।

खुलेपछि विस्तारै व्यवसायले गति लिने अपेक्षामा होटल व्यवसायी रहेको भए पनि पुनः बन्द हुने होकी भन्ने त्रासमा उनीहरू छन्। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्याले निश्चित सीमा नाघ्यो भने पुनः लकडाउन गर्न सुझाइरहँदा अब लकडाउन विकल्प नभएको तर्क उनीहरूको छ। सरकारले बन्द गर्नुभन्दा अहिले खुलेको समयमा कोराना संक्रमण फैलन नदिनका लागि अपनाइएका मापदण्डको अनुगमन गर्न जरुरी रहेको व्यवसायी बताउँछन्। कतिपय होटल रेस्टुराँले न्यूनतम सुरक्षाका मापदण्ड पनि नअपनाइरहे पनि त्यसमा सरकारको अनुगमन नभएको होटल संघका उपाध्यक्ष शाह बताउँछन्।….Annapurna post

 

You might also like