स्याउ टिप्‍न धादिङका किसान मुस्ताङमा

0

जोमसोम : स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु भएको छ ।स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैचामा फलेको स्याउ संकलन गर्न जुटेको पाइएको हो ।

यसवर्ष विश्व व्यापी माहामारीको रुपमा सिर्जित कोभिड-१९ को कहरका कारण मुस्ताङ सुनसान जस्तै छ । तर ,स्याउ धनीको निवेदन पत्रका आधारमा स्थानीय तहले उपलब्ध गराएको सिफारिसपत्रका आधारमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्याउ व्यापारीका लागि जिल्ला आउजाउ गर्ने अनुमती खुल्ला गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालका अनुसार २ साताअघिको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति –सिसीएमसी) को निर्णयपछि करिब ३ दर्जन व्यापारी मुस्ताङमा स्याउ खरिद गर्न आइसकेको जानकारी दिए ।

उनका अनुसार स्याउ संकलनका लागि आउनेमा अधिकाँश धादिङका छन् भने केही नवलपरासी,कास्की,बाग्लुङ र म्याग्दीका व्यापारी रहेका छन्। जिल्ला प्रशासन कार्यालयले मुस्ताङमा अझै थप स्याउ व्यापारी आउने क्रममा रहेको जनाएको छ । यसअघि समितिले स्याउ व्यापारी मुस्ताङ आउँदा विभिन्न शर्त पालना गर्नुपर्ने निर्णय गरेको थियो ।

मुस्ताङका ३ स्थानीयतह स्याउ उत्पादनले प्रसिद्ध छ । घरपघझोङको मार्फा ,चिवाङ ,छैरो ,स्याङ,ठिनी र जोमसोम ,थासाङ गाउँपालिकाको टुकुचे ,सौरु र कोवाङ र वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको कागबेनी,मुक्तिनाथ ,फल्याक,छेङ्गुर ,धाकार्जुङ  फल्याक ,ताङ्वे र छुसाङ लगायतका गाउहरुमा यतिबेला स्याउ टिप्ने चटारो छ । स्याउ व्यापारीहरु बगैचा धनीकै निगरानीमा क्वारेन्टाइमा बसी बगैचामा भौतिक दूरी कायम गरेर स्याउ संकलन गर्दै गरेको जनाइएको छ ।

जोमसोमका स्थानीय तेज गुरुङको बगैचामा स्याउ संकलन गर्न आएका धादिङका व्यापारी बमबहादुर तामाङले यसववर्ष मुस्ताङ आउँदा निकै समस्या परेको बताए । उनले स्याउ संकलन गर्न आउँदा ठुलो खर्च बढ्यो तर यसबाट फाईदा हुने नहुने डर लागेको जनाए । यस्तै, धादिङका अर्को व्यापारी प्रेम तामाङका अनुसार चिसो मौसममा हुर्काइएको मुस्ताङको स्याउको छुट्टै विशेषता रहेपनि भारतीय स्याउसँग मुस्ताङको स्याउले अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

उनले दुबै स्याउ हेर्दा उस्तै हुने र मुल्यमा भारतीय स्याउ सस्तो पर्ने भएकाले तलका व्यापारीले मिसाएर बिक्री गर्ने गरेकाले मुस्ताङको स्याउ ब्राण्डलाई असर पुर्‍याएको उल्लेख गरे ।

यसवर्ष मौसमी आद्रता र बढी मात्रामा वर्षा भएकाले थासाङ गाउँपालिकाको कोवाङ ,टुकुचे र सौरुमा स्क्याप रोग देखिएको छ भने घरपझोङको मार्फा ,चिमाङ र छैरोमा पनि आशिंक स्याउमा स्क्याप रोग देखा परेको स्थानीय किसान दिपक लालचनले दिए ।

स्याउमा स्क्याप देखा परेसँगै यसवर्ष गुणस्तरीय स्याउ नफलेको उनको भनाइ छ । जिल्ला स्याउ जोन मुस्ताङले यसवर्ष २० प्रतिशतले स्याउ उत्पादन घट्नसक्ने जनाएको छ । जोनले स्याउ धनीको बगैचा अवलोकन गरेपछि यस्तो बताएका हो । 

स्याउ जोन मुस्ताङका कार्यालय प्रमुख सुधिर थापाले यसवर्ष करिब १५ सय मेट्रिक टन स्याउ घट्ने अनुमान गरे । कोरोना कहरका कारण उचित बगैचा व्यवस्थापनमा कमी र निरन्तरको वर्षा र हुस्सुले उत्पादन घट्न सक्ने उल्लेख गरे ।जोन कार्यालयका अनुसार यसवर्ष  स्याउ प्याकेजिङ कार्टुनका लागि १० लाख बजेट बिनियोजन भएको जनाएको छ । स्याउ कार्टुन ढुवानीको क्रममा रहेको र आएपछि ५० प्रतिशत अनुदानमा वितरण हुने बताएको छ ।

यसवर्ष जिल्लामै फुटकर बिक्री हुने २० प्रतिशत उत्पादित स्याउ कोरोना कहरका कारण बिक्री नहुने भएको छ । कोरोनाकै कारण गतवर्षको भन्दा किसानले १० प्रतिशत कम मुल्यमा स्याउ बिक्री गरेको पाईएको छ । स्याउ जोन मुस्ताङको वार्षिक प्रगती पुस्तिकाका अनुसार मुस्ताङमा १२ सय हेक्टरमा स्याउ खेती विस्तार भएको छ । जसमध्ये ५ सय हेक्टरमा लगाएको स्याउ विरुवाले मात्र उत्पादन दिने गरेको पुस्तिकामा उल्लेख छ । जोनका अनुसार एक हेक्टर जमिनमा ३ सय १४ विरुवा रोपण गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७६/०७७ मा मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने अघिल्लो वर्ष ५८ सय मेट्रिक टन स्याउ फलेको थियो । मुस्ताङका किसानले एकघर धुरीले कम्तिमा ३ लाख देखि करोडसम्मको स्याउ बिक्री गर्ने गरेको पाइएको छ । स्याउ खेतीबाट मनग्ये आम्दानी हुने भएपछि मुस्ताङका किसान स्याउ खेति विस्तारतर्फ आर्कर्षित भएका छन् । मुस्ताङमा स्याउ खरित्न आउने व्यापारीले सुरुआतमा केही पैसा पेश्की दिने र स्याउ बिक्री गरेपछि बाकी भुक्तानी दिने चलन छ । मुस्ताङबाट हरितालिका तीजदेखि दसैं तिहारसम्म बाहिरी जिल्लामा स्याउ निर्यात हुने टुकुचेका स्याउ किसान राजन शेर्पाले जानकारी दिए ।..Annapurnapost

 

You might also like