लकडाउनको सदुपयोग गर्दै च्याउबाट आत्मनिर्भर बन्दै युवा
सिन्धुपाल्चोक, भदौ १८ गते । लकडाउनको समयलाई सदुपयोग गर्दै त्रिपुरासुन्दरी गाउँपालिका-२, चोकटीका युवाहरू च्याउ खेती गरेर आत्मनिर्भर हुन थालेका छन् । चोकटीको लागार्चेमा १० रोपनी जग्गा भाडामा लिएर युवाहरूले कन्या च्याउको व्यवसाय शुरु गरेका छन् ।
विदेश गएर अर्काकै देशमा रगत पसिना चुहाएर काम गर्नुभन्दा आफ्नै गाउँमा सानोतिना व्यवसाय गरेपनि आत्मनिर्भर हुन सकिने आशामा युवाहरूले च्याउ खेती शुरु गरेको बताएका छन् । अहिले उनीहरूले १२ वटा टनेलमा च्याउ खेती गरेका छन् । दश लाख लगानीबाट शुरु गरेको उक्त च्याउ खेतीको उत्पादन पनि अति राम्रो भएको उनीहरूले जनाएका छन् ।
च्याउ धमाधम उत्पादन हुन थालेको छ । उत्पादन गरेको च्याउमा कुनै पनि विषादी नमिसाइएको सुवास राउत बताउनुहुन्छ । दैनिक तीन सय देखि पाँच सय किलोसम्म च्याउ उत्पादन भइरहेको छ । ती च्याउलाई पाँचखाल र राजधानीको डिलरमा लगेर बिक्री गर्ने गरिएको सुवासले जानकारी दिनुभयो । अर्गानिक च्याउ उत्पादन गरेकै कारण स्थानीय र राजधानीका बजारमा माग बढेको अर्का युवा सबिन राउतले बताउनुभयाे ।
२०७६ फागुनबाट युवाहरूले सुरा कृषि प्रालिले नामबाट उत्पादन गरेको च्याउ प्रतिकेजी १५० रुपियाँमा स्थानीय बजारमा नै बिक्री हुँदैआएको छ । तराईबाट पराल ल्याई त्यसलाई पानीमा उमालेर बल बनाई कन्या च्याउको बीउ उमारेर स्वादिष्ट च्याउ उत्पादन गरेको युवाहरूले जनाएका छन् । उनीहरूले उत्पादन गरेको च्याउको माग दिन दिनै बढ्न थालेको छ । राउत युवाहरू मिलेर व्यावसायिक रुपमा च्याउ खेती गरेर मनग्गे आम्दानी हात पार्न थालेपछि अन्य युवाहरू पनि विभिन्न व्यावसायिक खेतीमा लाग्न शुरु गरेका छन् ।..Gorkha patra