महानगरमा बढ्दै भोकाहरू

0

भाद्र १७,काठमाडौँ —

खुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका र सडकमा लस्करै थचक्क बसेका सबैजसोको अनुहार उदास देखिन्छ । थकित र भोकले गलेका देखिने उनीहरूमा वृद्ध, महिला र बालबालिकाभन्दा वयस्कहरूको संख्या धेरै छ । छेवैमा वीर अस्पतालको गेटनजिकै त्यस्तै करिब दुई सय जना लस्करै धुले भुइँमा थचक्क बसेका छन् । उनीहरूका अघि ‘सिल्भर कोटेड’ कागजको खाली प्लेट छ ।

निषेधाज्ञाका कारण कामविहीन भएपछि भोकभोकै परेका सर्वसाधारणलाई राजधानीको खुलामञ्चमा खाना खुवाइँदै। विभिन्न व्यक्ति र समूहले यहाँ दिनहुँ ६ सय जनाभन्दा बढीलाई खाना खुवाइरहेका छन् । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण सहर सुनसान छ । तर रत्नपार्कको छेउमा रहेको खुलामञ्चअघि जसको केही भागलाई अस्थायी बसपार्क बनाइएको छ, त्यहाँ दिउँसो २ बजेपछि सयौं मान्छेहरूको चहलपहल सुरु हुन्छ । निषेधाज्ञामा त्यतिका धेरै मान्छे कुनै जुलुस वा धर्ना गर्न वा बसपार्कबाट गाडी चढेर कतै जान भेला भएका होइनन् । काठमाडौंका विभिन्न चौकुनाबाट प्रहरीको आँखा छल्दै उनीहरू भोक मेट्न आएका हुन् ।

उनीहरूलाई नीलो पीपीई लगाएका स्वयंसेवकले खाना बाँडिरहेका छन् । भोकको झोंकमा तिनीहरूले न भौतिक दूरी कायम गरेका छन् न स्वयंसेवकले नै दूरी मिलाउन सकेका छन् । तिनैमध्येका केही भने छेवैको सार्वजनिक शौचालयमा आड लागेर र केही अलि परतिर एक्लै बसेर खाना खाइरहेका छन् ।

टन्टलापुर घाम बिस्तारै ओइलाउँदै छ । तीन लहरमा बसेर खाना खाइरहेको यो हूलभन्दा परतिर अर्को त्यस्तै हूल जम्मा भइसकेको छ । खाना खाइवरी चुठेको चिसै हात लिएर कोही भने अर्को लाइनमा उभिन पुगिसकेका छन् । हेर्दाहेर्दै अर्को लाइनमा लगभग चार सय जना पुगिसके । उनीहरू पनि अघिल्लो समूहजस्तै भोक टार्न काठमाडौंका विभिन्न ठाउँबाट हिँडेरै खुलामञ्च आइपुगेका हुन् ।

खुलामञ्चमा केही दिनयता दिउँसो ३ बजेतिर ‘हन्ड्रेड्स समूह’ र साँझतिर वर्षौंदेखि कारागारमा रहेका अभिभावकका बालबालिका संरक्षण गरिरहेकी इन्दिरा रानामगरले खाना खुवाइरहेका छन् । सोमबार खुलामञ्चमा देखिएको भीड यिनै दुई समूहले बाँड्ने खाना खान जम्मा भएका भोकाहरूको हो । हन्ड्रेड्स समूह र इन्दिराका अनुसार यहाँ खान आउनेहरूमा सडकमा आश्रितहरूदेखि डेरा गरी बस्ने तर काम नभएका कारण हातमुख जोर्न नसक्नेहरू छन् । कागजको प्लेट समातेर खानाको प्रतीक्षामा बसेकामध्ये एक थिए, काठमाडौंमा ज्यामी काम गर्ने सर्लाहीका शंकर यादव । गरिआएको काम पाउन छाडेपछि परिवारको मुखमा माड लगाउने उपाय खोज्दै आलसतालस भएका ४२ वर्षीय उनले खिन्न हुँदै भने, ‘भाइरस–भाइरस भन्छन्, हामीचाहिँ खान नपाएर मर्ने भयौं ।’

खुलामञ्चमा आएका खान र गरिखान नपाउने अधिकांशको भनाइ शंकरकै जस्तो छ । संक्रमणबाट बच्न प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा दिनभर काम गरेर साँझको छाक टार्ने वर्गहरू भोकै पर्न थालेका छन् । यसरी भोकै हुनेहरू प्रशासनको भय छल्दै निःशुल्क खाना पाइने ठाउँमा धाउन बाध्य छन् । शंकरले निधार खुम्च्याउँदै भने, ‘भोकबाट बाँचे पो रोगको डर, भोकैले मरे केको रोग !’

अघिल्लो लकडाउन सकिएपछि शंकरले केही दिन काम पाएका थिए तर निषेधाज्ञापछि उनले काम पाउनै छाडे । काम नभएपछि कमाइ रोकियो अनि उनी सडकमै आइपुगे । पत्नी र दुई सन्तानलाई मैतीदेवीको डेरामा छोडेर शंकर बिहानै निस्कन्छन् । बिहानको खाना गौरीघाटतिर निःशुल्क पाइने ठाउँमा पुगेर खान्छन् । अनि डेरा फर्केर केही बेर सुस्ताएपछि खाना खान खुलामञ्च आउँछन् । हन्ड्रेड्स समूहले दिउँसो बाँड्ने खाना खाइसकेपछि उनी इन्दिराले साँझपख खाना बाँड्ने लाइनमा बस्छन् । दोस्रो लाइनमा बसेर पाउने प्याकेटको खाना भने उनले घरमा लगेर दिन्छन् । कहिलेकाहीं त उनी खुलामञ्चबाट प्याकेटको खाना लिएर कालीमाटीतिर पुग्छन् ।

रात छिप्पिसकेका बेला त्यहाँ पनि निःशुल्क खाना बाँडिने गरेको उनले बताए । भने, ‘मैले घरमा खाइनँ भने बच्चाबच्चाले अलि धेरै खान पाउँछन्, म त हिँड्न सक्छु, त्यसैले बिहानै निस्कन्छु ।’ अर्थात् निषेधाज्ञा भए पनि भोककै कारण शंकर बिहानदेखि साँझसम्मै निःशुल्क खान पाइने आसमा कैयन् ठाउँ चहार्छन् ।

स्वयंसेवकहरूका अनुसार शंकरजस्तै घरको चामल जोगाउने वा प्याकेटको खाना पाए घरका सदस्यको पनि भोक मार्न सकिन्छ भनेर खाना खोज्दै दिनभर काठमाडौंका अनेक कुना चहार्नेहरूको संख्या बढ्दै जान थालेको छ । शंकरको छेवैमा बसेर खाना खाइरहेका सेताम्मे दाह्री भएका एक वृद्धको व्यथा भने शंकरको भन्दा पृथक् रहेछ ।

‘कहाँ बस्नुहुन्छ ?’ भनेर सोध्दा एकछिन रोकिएर उनले भने, ‘जहाँ पुग्दा निद्रा लाग्छ, त्यहीं सुत्छु ।’ अर्थात् उनी सडकमै सुत्दा रहेछन् ।

गत वर्षको मंसिर २९ मा काठमाडौं महानगरपालिकाले ‘सडक मानवमुक्त’ सहर अभियान घोषणा गरेको थियो । ०७६ कात्तिक ४ मा त प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास कार्यक्रममा बोल्दै सडकका पेटीमा ‘सडक मानिस’ देख्न नपर्ने बताएका थिए । ‘अब सडकमा कोही पनि सुतेको, जिग्रिङ्ग भएर बसेको देख्नु पर्दैन । सडकमा मान्छे हुनै सक्दैन । हरेकको व्यवस्था गरिन्छ । आवास दिइन्छ । अब नो स्ट्रिट पिपुल,’ उनले भनेका थिए ।

गत जेठ २ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अब गरिबीका कारणले कोही भोकै नमर्ने बताएकी थिइन् । उसो त त्यसअघि पनि प्रधानमन्त्री ओलीले ०७५ पुस १३ मा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने बताउँदै भनेका थिए, ‘अब कोही भोकै बस्नै पर्दर्नै, भोकै मर्नुपर्दैन, कसैलाई पनि भोकै मर्न दिइँदैन, जाडोले कठ्यांग्रिएर कोही पनि मर्नुपर्दैन, अहिलेको सरकार जनताको सरकार हो । जनताको चाहना सम्बोधन गर्न सरकार तयार छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीले गरेको वाचा चटक्कै भुलाउने गरी खुलामञ्चको एकछेउमा ६ बजेतिर खाना पाइने आसमा लाइनमा उभिएकाहरूले कल्याङमल्याङ गरे । उनीहरू ‘आमा आउनुभयो’ भन्दै कराए । विद्युत् प्राधिकरण भएतिरबाट एउटा ट्याक्सी खुलामञ्चमा छिर्‍यो । त्यसमा थिइन्, प्याकेटको खाना लिएर आएकी इन्दिरा रानामगर । लकडाउनको तेस्रो दिनबाट निःशुल्क खाना खुवाउन थालेकी इन्दिराको अभियान आजसम्म निरन्तर छ । उनले भनिन्, ‘सुरु–सुरुमा सडकमा आश्रितहरूलाई खाना खुवाएको थिएँ । हिजोआज त डेरा भएर पनि खाना खानै नसक्नेहरूको संख्या बढ्दै गएको छ ।’

औसतमा दिनहुँ पाँच सय प्याकेट खाना बाँड्ने इन्दिराले लकडाउनको सुरुवाती दिनतिर ठमेलको सञ्चयकोष भवन र सरस्वती क्याम्पसछेउमा खाना बाँडिन् । तर होहल्ला र फोहोर भएको भन्दै स्थानीयले विरोध गरेपछि उनी विभिन्न ठाउँमा खाना बाँड्दै हिँड्छिन् । रत्नपार्कमा बाँडेर इन्दिरा लैनचौर, विष्णुमती, बसपार्क, बालाजु र शोभाभगवतीमा खाना पर्खेर बसेकालाई खाना खुवाउँछिन् । दिनभर आफैं खटिएर खाना बनाउने र साँझ ट्याक्सी भाडामा लिएर भोकाहरू खोज्दै हिँड्ने उनले भनिन्, ‘कसैको पेट भोको नहोस् भनेर सकेसम्म दौडने गर्छु ।’

अहिलेसम्म सरकारी निकायबाट कुनै सहयोग नपाएको बताउने इन्दिरालाई खाद्यान्न सरसामग्री किन्न विदेशमा रहेका, विद्यार्थी र आफन्ती मनकारीहरूले सघाइरहेका छन् । भात, मिक्स तरकारी अनि सागसहितको खानाको प्याकेट बाँड्दै आएकी उनले शनिबार भने मासुभात नै खुवाउँछिन् । भनिन्, ‘कतैबाट सहयोग आयो भने फलफूल, सलाद पनि प्याकेटमा राख्छु ।’

इन्दिराभन्दा अघि खुलामञ्चमा खाना खुवाउने ‘हन्ड्रेड समूह’का संस्थापक बब्लु गुप्ताका अनुसार लकडाउनलगत्तै समूहले निःशुल्क खाना खुवाउन थालेको हो । पहिले अनामनगर, शान्तिनगर, जडीबुटीमा खाना पकाएर विभिन्न ठाउँमा खुवाउने समूहले हिजोआज भने खुलामञ्चमा मात्रै खुवाइरहेको छ । ‘हामी अनुदान जति छ, त्यति खाना बनाएर खुवाउने गर्छौं । अहिले घटेको छ, त्यसैले खुलामञ्चमा मात्र खुवाइरहेका छौं,’ गुप्ताले भने । यही समूहका अन्य स्वयंसेवकहरू तीनवटा मोटरसाइकलमा खाना बोकेर चक्रपथ चहार्छन् । अनि जहाँ भोको मान्छे देख्यो, त्यहीं खुवाउँछन् ।

गुप्ताका अनुसार खुलामञ्चमा दैनिक साढे तीन सयदेखि साढे पाँच सयसम्मले खाना खाइरहेका छन् । त्यसरी खाना खानेमध्ये सहचालक, भरिया, रिक्सावाला, ज्यामी काम गर्ने र अपांगता भएका व्यक्तिहरूसम्म छन् । उनले कहिले दाल, भात, तरकारी खुवाउने त कहिले स्रोत नभएका बेला दालमोठ र चिउरा मात्रै भए पनि खुवाउने गरेको बताए । यद्यपि सोमबार त्यहाँ आउने अधिकांशले खाना नमिठो भएको र समूहका सदस्यहरूले रुखो व्यवहार गरेको गुनासो पोखे । कति जनासँग त स्वयंसेवकको भनाभन परिरहेको थियो ।

गुप्ताले भने रक्सी खाएर होहल्ला गर्ने भएकाले सम्झाउनुपरेको बताए । ‘रत्नपार्कमै नियमित बस्ने केटाहरूले पैसा मागेर हैरान गर्छन्, कोही मातेर आउँछन्, भौतिक दूरी कायम गर्दैनन्, त्यसैले कहिलेकाहीं अलि ठूलो स्वरमा बोल्नुपर्ने हुँदो रहेछ,’ उनले भने, ‘त्यस्तै, हाम्रा कतिपय नयाँ स्वयंसेवक साथीहरूले परिस्थति सम्हाल्न नसकेको पनि हुन सक्छ । हामी सहज बनाउँदै छौं ।’ खाना खाने ठाउँमा स्प्रे छर्केको, सेता घेरामा बस्ने ठाउँ बनाएको, नियमित त्यहाँ पुग्ने स्वयंसेवकलाई पीपीईको व्यवस्था गरेको तर मान्छेको भीड बढ्दै गएपछि ज्वरो नाप्न नसकेको उनले जानकारी दिए ।

खुलामञ्चमा खाना खोज्दै पुग्नेमा अर्का थिए, धादिङ खानीखोलाका राजेश राई । खानाको प्याकेट हातमा बोकेका उनले भने, ‘भारी बोकेर खान्छु भन्दा पनि पाइएन । यसरी अरूले दिएको खानुपर्‍यो ।’ एक दशकयता असन क्षेत्रमा भारी बोक्ने काम गर्दै आएका उनले अरू बेला पसिना बगाएर जसोतसो पेट भरे पनि लकडाउन र निषेधाज्ञापछि थाप्लो र नाम्लोको नाता टुटेकाले भोको पेट हुन थालेको सुनाए ।

लकडाउनको सुरुवाती दिनमा जस्तो स्थानीय तहले चामलसहितको खाद्यान्न सहायता नबाँड्दा र निषेधाज्ञाको १४ दिन पुगिसक्दा विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले बाँड्ने निःशुल्क खाना खान आउनेहरूको भीड उपत्यकामा बढ्दै गएको छ । एक्सन फर सोसल चेन्ज नामक अभियानका विनयजंग बस्नेतले लकडाउनको दसौं दिनयता निरन्तर काठमाडौंका विभिन्न स्थानमा भोकाहरूलाई निःशुल्क खाना खुवाइरहेका छन् । औसतमा दैनिक ५ सय हाराहारीलाई खाना खुवाउँदै आएका विनयले पछिल्ला दिनमा सडकमा आश्रित मात्र नभएर ज्यामी र दैनिक ज्यालादारीमा काम गर्ने डेरावालाहरू पनि खाना खोज्दै आउनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘काम पाए काम गर्थेम्, नपाएर सडकमा खाना खोज्दै आएको भन्नेहरू पनि हिजोआज भेट्न थालेको छु ।’

पाटन, मंगलबजार, बालकुमारी, कौशलटार र पशुपति क्षेत्रमा नियमित दैनिक एक छाक खाना खुवाउँदै आएका विनयले पछिल्ला दिनमा बाटोछेउमा खानाको आसमा बस्ने एकै परिवारका चार/पाँच सदस्य पनि आफूले देख्न थालेको बताए । उनले निषेधाज्ञा लम्बिँदै जाँदा गरिखाने वर्ग साँच्चिकै मर्कामा परेको सुनाउँदै भने, ‘सडकमा देखिनेहरू त सानो संख्या मात्रै हो । राजधानीमा मात्रै खान नपाउनेको संख्या हजारौं छ ।’

सामाजिक अभियन्ता पुकार बमसहितले लकडाउन सुरु भएयता हाम्रो सानो प्रयास नामक अभियानबाट करिब ६० हजारभन्दा धेरैलाई निःशुल्क खाना खुवाइसके । लकडाउनको सुरुवाती दिनमा दैनिक एक हजारसम्मलाई खाना खुवाएको यो समूहले पछिल्ला दिनमा २/३ सयलाई खुवाएको थियो । हाम्रो सानो प्रयासले सातै प्रदेशका विभिन्न स्थानीय समूह र साथीहरूसँगको सहकार्यमा खाना खुवाइरहेका छौं । पछिल्लो दिनमा संक्रमण बढ्दै गएपछि सार्वजनिक रूपमा खाना खुवाउन समस्या पर्न थालेको तर खानाको खोजीमा बाटो छेउछाउ आउनेहरूको संख्या बढेको पुकारले बताए । पछिल्लो १ सय ३४ दिनयता सयौं साथीहरूसँगको सहकार्यमा भोकाहरूलाई खाना खुवाउँदाको अनुभव साट्दै पुकारले भने, ‘लकडाउन खुलेपछि ज्यालादारी काम गर्ने धेरै मान्छे काठमाडौं फर्के तर तिनीहरूले काम पाएनन् । बरु उल्टै निषेधाज्ञामा बस्नुपर्‍यो । अहिले त्यो समूह सबैभन्दा धेरै भोकै पर्न थालेको छ ।’

जुजुकाजी महर्जनसहितको समूहले बालाजुस्थित मिर्गौला अस्पतालका बिरामी, कुरुवा र कर्मचारी गरेर करिब सय जनाजतिलाई निःशुल्क खाना खुवाउँदै आएको छ । महर्जनले आफूहरू खाना लिएर अस्पताल जाँदै गर्दा बाटो छेउछाउमा खान पाइने आसमा उभिएका मान्छेहरू देख्न थालेको बताए । उनीसहितको समूहले केही दिनअघि ठमेल, छेत्रपाटी र वसन्तपुर क्षेत्रका २० रिक्सा चालकलाई निःशुल्क खाना खुवाएको थियो । महर्जनले भने, ‘बिस्तारै भोकै पर्नेहरूको संख्या बढ्दै जान थालेको छ ।’ उनले अघिल्लो लकडाउनमा निःशुल्क खाना बाँड्ने धेरै समूह सक्रिय रहेको तर अहिले भोकाहरूको संख्या बढ्दै जाँदा त्यस्ता समूहको अभाव भएको र सरकारीस्तरबाट पनि प्रयास हुन नसकेको बताए ।

सडकमा आश्रित र परिवारविहीनहरूको उद्धार गर्दै आइरहेको मानव सेवा आश्रमले लकडाउनयता देशैभरिबाट १ सय ७० जनालाई उद्धार गर्‍यो । आश्रमले केही दिनअघि कालीमाटीबाट सडकमा आश्रित चार जनालाई उद्धार गरेको थियो । जसमा दुई जना कोरोना संक्रमित थिए । आश्रमका अनुसार ती दुवै संक्रमित कैयन् दिनयता काठमाडौंका विभिन्न ठाउँमा निःशुल्क बाँडिने खाना खाइरहेका थिए । आश्रमले केही दिनअघि ललितपुरका विभिन्न स्थानबाट सडक आश्रित ६ जनालाई उद्धार गरेको थियो । जसमा ५ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

You might also like