बिरामी प्रधानमन्त्रीको राजीनामाले तरंगित जापानी राजनीति

0

१६ भदौ, काठमाडौं ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले गत शुक्रबार स्वास्थ्यका कारण देखाउँदै राजीनामा दिए । कोरोना भाइरस (कोभिड–१९) को महामारीकै बीचमा आएको राजीनामालाई विश्वभर निकै चासोका साथ हेरिएको छ ।

विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा सबैभन्दा लामो समय पदमा रहने प्रधानमन्त्रीको कीर्तिमानी बनाएका आबेको राजीनामासँगै भावी प्रधानमन्त्रीका विषयमा पनि चर्चा शुरु भएको छ ।

किन दिए आबेले राजीनामा ?

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो । यस्तो अवस्थामा उनले आफ्नो स्वास्थ्यको कारणलाई देखाउँदै राजीनामाको घोषणा गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको कारण आफूले राम्रो राजनीतिक निर्णय गर्न नसक्ने बताए ।

उनले आफूले कार्यकाल पूरा गर्न नसकेकोमा जनतासँग माफी पनि मागेका छन् । उनको स्वास्थ्यमा गत जुलाईदेखि नै केही समस्या देखिँदै आएको थियो । अझै उनको उपचारका लागि लामो समय लाग्न सक्ने सम्भावना रहेकाले उनले राजीनामा दिएका हुन् । तर, यति मात्र कारण भने होइन ।

पछिल्लो समय जापानमा आबेको लोकप्रियता पनि घटेको थियो । आबेले मुलुकको आर्थिक सुधारको लागि ‘आबेनोमिक्स’को योजना अघि सारे । यसले राजकोष, मौद्रिक र संरचनात्मक नीतिमा नवपरिवर्तनको अनुमति दिने गर्छ । यद्यपि यो योजनामा भने अनुमान गरिएअनुसार सफलता मिलेन । यसको विज्ञापन बढी गरिएको भन्दै आबेको आलोचना हुने गरेको छ ।

सिन्जो आबेले यो आठ वर्षमा विभिन्न ६ वटा निर्वाचनहरुमा जित हासिल गरेर आफूलाई जनअनुमोदित गरे । जसमा तीनवटा तल्लो र तीनवटा माथिल्लो सदनका लागि भएका निर्वाचन थिए ।

आबेले उल्लेख्य लोकप्रियता पाए पनि गत वर्ष जापानको बिक्री कर आठ प्रतिशतबाट १० प्रतिशतमा पु¥याउने निर्णय गरेपछि उनको लोकप्रियतामा कमी आएको थियो । साथै अर्को भ्रष्टाचारको मुद्दा  आएसँगै  उनलाई थप क्षति पुगेको थियो ।

कोरोना भाइरसको महामारीसँग लड्ने विषयमा पनि आबेलाई सोचेजस्तो सफलता हासिल भएन भने टोकियो–२०२० ओलम्पिक खेल स्थगित हुँदा उनले धेरै निराशाको सामना गर्नुप¥यो ।

त्यस्तै पछिल्लो केही महिनायता जापानको अर्थतन्त्रमा पनि ठूलो गिरावट देखिएको छ । त्यसमा कोरोना भाइरसको महामारीमा जापानको अर्थतन्त्र थप समस्यामा परेको छ । आबेले राजीनामा दिनुको कारण यी समस्या पनि हुन सक्छन् । साथै आगामी प्रधानमन्त्रीलाई पनि यो अवस्थाबाट मुलुकलाई सामान्य अवस्थामा ल्याउने चुनौती हुनेछ ।

को बन्ला अबको प्रधानमन्त्री ?

आबेपछि अब जापानको राजनीतिक परिदृश्य धेरै अस्थिर भने नदेखिने अपेक्षा छ । किनकि अहिले आबेको पार्टी लिबरल डेमोक्रेटिक पार्टी बहुमतसहित सत्तामा छ । जापानको दुवै सदनम यो पार्टीको बहुमत छ । साथै सन् २०२१ सम्मको कार्यकालभन्दा अगाडि नै मध्यावधि निर्वाचन गर्नुपर्ने पनि कुनै कारण देखिएको छैन । त्यसैले त्यसअघिसम्मको राजनीतिक अवस्था स्थिर नै रहने देखिन्छ ।

अहिले जापानका पूर्व रक्षामन्त्री र पार्टीभित्र लामो समयसम्म आबेको प्रतिस्पर्धीको रुपमा रहेका शिगेरु इशिबाले आफू प्रधानमन्त्री पद सम्हाल्न तयार रहेको संकेत दिइसकेका छन् । उनले धेरैभन्दा धेरै आर्थिक समानताको विषयमा आफ्नो सन्देश जापानी जनताले राम्रोसँग बुझ्ने बताएका छन् । उपप्रधान तथा अर्थमन्त्री तारो आसोलाई पनि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा हेरिएकोा छ ।

संसद्मा आबेको पार्टीको पकड रहेकाले प्रधानमन्त्रीको निर्णय पार्टीले नै तय गर्नेछ । जापानका पूर्वविदेशमन्त्री फुमियो किशिदा पार्टीमा विवाद निकै कम भएका व्यक्ति मानिन्छन् । त्यसैले उनी प्रधानमन्त्री बन्ने सम्भावना पनि छ । त्यस्तै पार्टीका अन्य सदस्यमा मुख्य क्याबिनेट सेक्रेटरी योशिहिडे सुगा पनि यो पदका लागि एक उम्मेदवार बन्न सक्छन् । पर्यावरण मन्त्री शिन्जिरो कोइजुमी निकै लोकप्रिय छन् । तर, कम उमेर भएको कारण उनको सम्भावना भने कम छ ।

आबेको योगदान

सिन्जो आबेले प्रधानमन्त्रीका रुपमा देशलाई महत्वपूर्ण योगदान दिएका थिए । उनले राजनीतिक स्थायित्व कायम गरे । यसको सहारामा अन्तर्राष्ट्रियरुपमा पनि जापानले आफ्नो स्थान कायम राख्न सफल भयो । आबेले पहिलो र दोस्रो गरी आठ वर्षको आफ्नो कार्यकालमा आफूलाई सम्झिन उल्लेख्य ठाउँ राखिदिएका छन् ।

उनी जापानको राष्ट्रिय सुरक्षालाई नयाँ स्वरुप दिने योजनाका साथ आएका थिए । यो क्षेत्रको सुधारको नतिजा अहिले जापानमा देख्न सकिन्छ । उनले जापानमा क्षेत्रीय विश्वव्यापी राजनीतिक विभाजनलाई सन्तुलनमा राख्ने प्रयास गरे ।

साथै आबेले जापानका लागि लचिलो नीति ल्याएका थिए । यसको माध्यमबाट रक्षा क्षेत्रमा जापानलाई ठूलो उपलब्धि हासिल भयो । हालै मात्र जापानले बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडा रहेको ‘फाइभ आइज इन्टेलिजेन्स’ पार्टनरसिप’मा सहभागी हुने निर्णय गरेको छ । यससँगै अब जापान ‘शान्ति नीति’मा अघि बढिरहेको र आगामी दिनमा पनि उसले यसलाई अवलम्बन गर्दै अघि बढ्ने संकेत जापानले दिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध

आबेको पालामा जापानले अन्तर्राष्ट्रिय सम्बन्ध निकै सुमधुर राख्न सफल भएको छ । आबेले आफ्नो पद छाड्दा धेरैले उनको यो क्षमतालाई धेरैले प्रशंसा गरेका छन् । विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको सम्बन्ध राम्रो छ । जबकि पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा पनि अमेरिकासँग जापानको सम्बन्ध राम्रो थियो । अहिले अमेरिकाले लिएको नीतिको कारण अमेरिकासँग कूटनीतिक सफलता पाउनु निकै कठिन काम हो ।

जापानले अमेरिकासँगको व्यापारमा निकै समझदारीपूर्ण निर्णय लियो र व्यापारिक तनावको अवस्था आउन दिएन । जापानले अमेरिकासँग मात्र होइन, अमेरिका, भारत, अष्ट्रेलियाजस्ता मुलुकसँग पनि निकै समझदारीपूर्ण तरिकाले निर्णय लिएको थियो । यसबाट आबेको कूटनीतिक कुशलतालाई बुझ्न सकिन्छ ।

चीनसँगको सम्बन्ध पनि जापानले निकै कुशलतापूर्वक कायम राखेको थियो । चीनसँग जापानको केही विषयमा पनि विवाद भए पनि आबेले व्यावहारिक सहयोगको बाटो भने बन्द हुन दिएनन् । उनले सन् २०१८ मा चीनसँग धेरै वित्तीय र विकास परियोजनाको सम्झौता पनि गरेका थिए । आबेले आफ्नो कार्यकालमा ट्रान्स–प्यासिफिक पर्टनरसिप (टीपीपी–११)लाई बलियो बनाउन निर्णायक भूमिका निर्वाह गरेका थिए ।

सन् २०१९ मा जापानले युरोपेली संघ (ईयू)सँग पनि एक सफल व्यापारिक सम्झौता गरेका थिए । त्यस्तै भारतसँग जापानको शिखर वार्ताको तयारी चलिरहेको छ ।

कूटनीतिक हिसाबमा आबेले चालेको कदमलाई पछ्याउँदै आगामी दिनमा सबै मुलुकसँग मित्रवत् सम्बन्ध स्थापना गर्नुका साथै समझदारीपूर्ण कूटनीतिक निर्णय गर्नु आगामी प्रधानमन्त्रीको लागि चुनौती हुनेछ ।(अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)…Online khaber

You might also like