सरकारी जागिरसँगै व्यवसायिक कृषि र पशुपालन

0

१५ भदौ ,

ओखलढुंगा : धेरैले खेतीपाती गर्नुका दुखले जागिर रोज्छन्। त्यसमाथि पनि धेरैको नजर सरकारी जागिरतिरै हुन्छ। जागिरे भएपछि कृषिलाई पनि मुख्य पेशालाई महत्व दिने विरलै हुन्छन्।  तर ओलखढुंगा नारायणस्थानका बालकुमार खनाल सरकारी जागिरसँगै कृषिमा पनि एक अब्बल किसान हुन्। सिद्धिचरण नगरपालिका–३, नारायणस्थानका बालकुमार खनालले जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव हुन्। कार्यालय समयबाहेक उनी अधिकांश समय खेतबारीमै भेटिन्छन्।

पाँच वर्ष भयो खनालले फलफूल खेती र पशुपालन सुरु गरेको।  बिहान बेलुकी उनी आफ्नो बगैँचामा व्यस्त हुन्छन्। उनले लगाएको मूख्य फलफूल खेती अहिले किवी रहेको छ। गतवर्ष ५० वटा जति बोटले राम्रो उत्पादन दियो। करिब १ लाख ५० हजार जतिको किवी बिक्रि गरेको खनाले सुनाए।

यसवर्ष १ सय २० बोट भन्दा बढी किवीका बोट छन् र त्यसमा लटरम्मै फल लागिसकेका छन्। तर कोरोनाको कहरले गर्दा बिक्रि गर्न गाह्रो होला कि भन्ने चिन्ताले पिरोलेको छ उनलाई। स्थानीय बजारमा स्याउ र सुन्तलाको भाउ भन्दा सस्तो दिँदा पनि मान्छेले झन सस्तो माग्ने गरेको उनले बताए।

‘मान्छेलाई किवी फलको बारेमा जानकारी नहुँदा स्थानीय बजारमा यो सस्तो मूल्यमा मागेका हुन्।’ उनले भने, ‘फलफूलमा किवी खाने बानी पार्न समय लाग्छ।’ किवीसँगै खनालको बगैँचामा सुन्तला, कागती, ड्रागनफल, आलमोन्ड (हाडे बदाम) पनि छन्। रुद्राक्ष र बोधिचित्त हुर्किएर फल्न थालिसकेको छ।

उनले सुरुमै बाख्रापालनमा हात हाले। तर, बाख्रापालनको सामान्य ज्ञानसम्म नलिई सुरु गर्दा निकै डुबे। दुई दिनमा १४ वटा सम्म पाठापाठी मरे। अहिले बाख्राको संख्या घटाएर १७ वटामा झारेका छन्। उन्नत जातसँग क्रस गरेर नश्ल सुधार गर्न बोयरको ५० प्रतिशतको बोका पालेका छन्। लोकल खरिजातसँग क्रस गरेर जन्मिएका पाठापाठी धेरैले माग्ने गरेको उनले बताए।

बाख्रापालन सुरु गर्दा घाँसले नपुगेपछि घाँस किनेर पाले। पछि सम्भव नहुने रहेछ भन्ने थाहा पाएपछि उनले १७ रोपनीमा घाँस रोपेका छन्। डाले र भुईँ घास रोपेका छन्। घाँसको नर्सरी बनाएका छन्। उनको अनुभवमा सबैभन्दा ठूलो समस्या दक्ष प्राविधिकको अभाव नै हो। पशुपालन र कृषि दुवैमा भनेको बेलामा रोग पहिचान गरेर समाधान गरिदिने प्राविधिक पाउन गाह्रो छ।

खनालले किवी खेतीमै १२ लाख भन्दा बढी लगानी गरेका छन्। घाँसखेती र पशुपालनसहित गरी  करिब २० लाख जति लगानी गरेको उनले जानकारी दिए। धेरै लगानी फिर्ता भइसकेको छैन। तर अर्को वर्षदेखि ५ देखि ६ लाखको व्यापार गर्ने उद्देश्य उनले राखेका छन्। जागिरबाट अवकाश लिएपछि कृषि र पशुपालनै पूर्णरुपमा समय दिने उनको सोच छ।..Annapurna post

You might also like