छिमेकी बोलाएर नाचगानसहित तीजको दरभोज, अनि देखियो कोरोना

0

भदौ ७, २०७७ काठमाडौं :

उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गर्दै एकै ठाउँ जम्मा नहुन दिएको कडा निर्देशनको नागरिकस्तरमा बेवास्ता भइरहेको छ। राजधानीमा कोरोना समुदायस्तरमा पुगिसकेको अवस्थामा एकजना महिलाले टोलभरीका छिमेकी भेला पारेर दरभोज गरेपछि उनैलाई कोरोना पुष्टि भएको छ।  केही दिनदेखि हल्का ज्वरो र लगातार खोकी लागेपछि काठमाडौंको कागेश्‍वरी-मनोहर नगरपालिका-७ सयपत्री टोलकी ३० वर्षीया महिलाले पिसिआर परीक्षणका लागि मूलपानी पुगेर स्वाब दिएकी थिइन्।  एक फाइनान्समा काम गर्दै आएकी उनले पिसिआर परीक्षणका लागि स्वाब दिइसकेपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य आचारसंहिताको बेवास्ता गर्दै भदौ ४ गते टोलका करिब ५० महिला भेला पारेर घरमै तीजको दरभोज आयोजना गरेकी थिइन्। तर दरभोज आयोजना गरेको भोलिपल्ट अर्थात तीजको व्रतका दिन ती महिलामा कोरोना पुष्टि भयो।  छिमेकी बोलाएर नाचगानसहित दरभोज आयोजना गरेकी उनले रिपोर्ट नआउन्जेल सेल्फ आइसोलेसनमा बस्‍नुपर्ने प्रावधानको ख्याल नगर्दा अहिले त्यो टोल त्रासमा छ। उनीसँगै बसेर दर खाएका र नाचगान गरेका करिब २२ जना महिलालाई होम क्‍वारेन्टाइनमा राखिएको कागेश्‍वरी-मनोहरा नगरपालिकाकी कोभिड फोकल पर्सन लक्ष्मी कोइरालाले थाहाखबरलाई जानकारी दिइन्। ‘उनमा ज्वरो र रुघासहितका कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिएका रहेछन्। त्यही भएर स्वाब पनि संकलन गरिएको थियो। स्वाब दिइसकेपछि सेल्फ आइसोलेसनमा बस्नुपर्नेमा घरमै बोलाएर दर पार्टी आयोजना गर्दा गडबड भयो’, कोइरालाले भनिन्, ‘अहिलेसम्म हामीले उनको प्रत्यक्ष सम्पर्कमा आएका २२ जनालाई होम क्‍वारेन्टाइनमा बस्‍न लगाएका छौं। सम्पर्कमा आएका अन्यलाई पनि टोलमै पुगेर सजगता अपनाउन निर्देशन दिएका छौं।’

काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आव्हान गरे पनि नागरिकहरु अटेरी बनिरहेका छन्। प्रशासनले  कोरोना संक्रम रोक्न भोजभतेर लगायत सामूहिक जमघटमा निषेध गरेको छ। तर अझै पनि नाचगान र सामूहिक जमघट रोकिएको छैन।  रातभर नाचगानसहित दरभोज गरेपछि भोलिपल्ट उनमा संक्रमण पुष्टि भएको हो। अहिले कागेश्‍वरी-मनोहरा नगरपालिका क्षेत्रमा कोरोना समुदायमै पुगिसकेकाले धमाधम सिल गर्न थालिएको प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए। ‘यहाँ समुदायस्तरमै कोरोना फैलिसकेको छ। त्यसैले यो नगरपालिकाको धेरै क्षेत्र सिल गरेका छौं’, उनले भने, ‘केही लक्षणसहितका पनि बिरामी भेटिएका छन्। लक्षण देखिएकालाई अस्पताल पठाउँदैछौँ भने लक्षण नदेखिएकालाई होम आइसोलेसनमै निगरानी गरेर राखेका छौँ।’

Thaha khaber

You might also like