आर्थिक संकट झेल्दै प्राविधिकहरु, काम गरेको पैसा नपाउँदा पेशा छोड्ने अवस्थामा

0

भाद्र ३, २०७७

काठमाडौँ — समयमा पारिश्रमिक नपाउनु फिल्म क्षेत्रमा काम गर्ने प्राविधिकको ठूलो समस्या हो । पारिश्रमिक दिनेले पनि किस्तामा दिने चलन छ । फिल्मको काम सकिएपछि निर्माता हराइदिने समस्या उस्तै । सम्पर्कविहिन भइदिने, विभिन्न बहाना देखाउँदै भाग्ने ।यस्तो अवस्थामा कामै खोसिदिने महामारी आयो, कोभिड-१९ । कोरोनाका कारण पाँच महिना कामविहीन हुँदा आर्थिक संकटमा परेका छन्, प्राविधिक ।

६ वर्षदेखि फिल्ममा भिएफएक्सको काम गरिरहेका श्रीकृष्ण श्रेष्ठ यस्तै समस्याहरुले यो पेशा नै छोड्ने निर्णयमा पुगेका छन् । ‘काम छैन, दाम पनि छैन अहिले । पैसा दिनुपर्ने निर्माता समाज सेवा गर्दै हिँडेको देख्छु । फिल्मको पैसा पाएको छैन,’ उनले भने, ‘१ लाख रुपैयाँ लिनु छ भने पाँच हजार गर्दै दिन्छन् । त्यो पैसा कहाँ जान्छ, थाहै हुँदैन । राम्रोसँग निर्माताले पैसा दिएको भए १ वर्ष लकडाउन भए पनि सजिलै बाँच्न पुग्थ्यो । तर, त्यो पनि छैन । त्यसैले अब म यो फिल्मलाइन नै छोड्दैछु ।’पशुपालनतिर लाग्ने तयारी गरेको उनी बताउँछन् । कोरोनाले निम्त्याउने विपत्तिको कल्पना गरी लकडाउनमा अधिकांश प्राविधिक गाउँ फर्किए । आफ्नो श्रीमती र छोरीसहित श्रीकृष्ण पनि लकडाउनको अघिल्लो दिन पाल्पा फर्केका थिए । ‘अब दुख हुन्छ यहाँ बस्न सकिँदैन भनेर हिँडियो । यहाँ दयामाया गर्ने कोही पनि छैनन्,’ उनी सुनाउँछन् ।

हुन त उनले यो पेशा अंगालेको १७ वर्ष भइसक्यो । बलिउडबाट आफ्नो करियर थालेका उनलाई यो पेशा चटक्कै छोड्न गाह्रो छ । आफूले गरेको कामको पारिश्रमिक भिक मागेझैं माग्नुपर्ने ठाउँमा उनलाई बस्ने मन पनि छैन। कामप्रतिको नशा छुटाउन गाह्रो छ उनलाई ।चार महिना गाउँमा बस्दा पनि उनको आँखामा खासै निन्द्रा परेन । उनको ध्यान कामतिरै हुन्थ्यो । लिन बाँकी पारिश्रमिक सम्झँदा मन पोल्थ्यो । काम गर्ने हुटहुटी हुन्थ्यो । लकडाउनमा आफू ५० प्रतिशत डिप्रेसनमा पुगिसकेको श्रीकृष्ण सुनाउँछन् । ‘मलाई मेरो डेस्क नै प्यारो हुन्छ । कसलै म्यूजिक भिडियो रिलिज गर्दा पनि मेरो ध्यान जान्थ्यो । मैले पनि काम गर्न पाए हुन्थ्यो, कहिले खुल्छ र काठमाडौं जाउँ भन्ने हुन्थ्यो,’ उनी सुनाउँछन् ।

पाल्पामै पशुपालन गर्ने सोचे पनि स्थानीयस्तरमा निर्माण हुने म्यूजिक भिडियो गरेर पनि कामको तलतल मेट्ने उनको योजना छ । परिवारलाई गाउँमै छोडेर श्रीकृष्ण काठमाडौं फर्केको १ महिना भयो । ‘प्रेमगीत ३’ र ‘माइकल अधिकारी’को काम सक्न बाँकी थियो । उनी ती फिल्मको काम सकेर गाउँ फर्कने योजनासहित यता आएका छन् । ६ महिनाको घरभाडा कसरी तिर्ने उनलाई चिन्ता छ । केही म्युजिक भिडियो सम्पादन गरेर जसोतसो गुजारा चलिरहेको छ । आफूले गरेका पूराना फिल्महरुबाट १६ लाख पाउन बाँकी रहेको हिसाब उनको छ । अब त्यो पैसा पाउने आश मरिसकेको उनी बताउँछन् । ‘कसरी माग्ने, लकडाउन छ भन्छन् । कोही निर्माता विदेशमा छन् कोही सम्पर्कमै छैनन् । कसैको फिल्म डब्बा भइरहेको छ । उनीहरुलाई पैसा माग्दा उल्टै आफ्नो दुख सुनाउँछन्,’ उनले सुनाए ।२६ वर्षदेखि फिल्म सम्पादकका रुपमा सक्रिय बनिष शाह समयमै पारिश्रमिक नपाउने समस्याले प्राविधिकलाई यो लकडाउनमा ग्राहो भएको बताउँछन् । ‘त्यही काम गरेर परिवार चलाउनेलाई गाह्रो पर्छ । अड्किरहेको प्रोजेक्टको पैसा आएको भए त्यति गाह्रो हुँदैन थियो होला । प्रोजेक्ट सकिसकेको तर पैसा नपाएका प्राविधिकलाई त समस्या नै छ,’ उनले भने, ‘पैसा दिनु पर्नेलाई अहिले लकडाउन छ भन्न सजिलो भएको छ ।’

डबिङ प्राविधिक किरण बासी पनि तीनवटा फिल्मबाट पैसा नपाएको सुनाउँछन् । यही समस्याले उनलाई यो क्षेत्र रोजेकोमा पछुतो छ । ‘२५ वर्ष भयो डबिङको काम थालेको । काम गरेको पैसा समेत नपाउने पेशामा लागिएछ, जीवन नै खत्तम भयो । तीनवटा फिल्मबाट अझै पैसा पाउन बाँकी छ । लकडाउनमा पैसा माग्न जान पनि गाह्रो,’ उनले सुनाए । पाँच महिनादेखि उनी साँखु घरमै छन् । सानो पसल खोलेका छन् । ‘पसल पनि नभएको भए भोकै मरिन्थ्यो,’ उनले भने ।

फिल्ममा डबिङको काम थालेको १६ वर्ष भयो मुकेश शाहले । लामो समय कहिल्यै यसरी हात बाधेर बसेनन् । योपाली पहिलोपटक लामो बिदा पाए कामबाट । पाँच महिना बिनाकाम घरभित्रै थुनिनु पर्दा आर्थिक हिसाबले आफूलाई समस्या परेको उनी बताउँछन् । ‘मारमा परियो नि ! गाह्रै छ । खासै बचत त के हुन्थ्यो र हाम्रो ? फिल्मको प्रदर्शन हुने बेलामा पैसा पाउँछौं हामी । जतोतसो जीवन गुजारा गरिरहेको छु,’ उनले सुनाए । उनी लकडाउनअगाडि ‘म यस्तो गीत गाउँछु २’, ‘प्रेमगीत ३’को काममा व्यस्त थिए । काम नगरी बस्दा अप्ठ्यारो अनुभव भएको उनी सुनाउँछन् ।

लकडाउन खुकुलिएसँगै काम सुरु होला कि भन्ने आश उनले गरेका थिए । तर, काठमाडौंमा कोरोनाको संक्रमण बढेका देख्दा उनलाई आफ्नो काम दसैंमा पनि सुरु हुनेमा विश्वास लाग्न छोडेको छ । ‘हाम्रो काम त हल नखुलेसम्म, सुटिङ नभएसम्म सुरु होलाजस्तो लाग्दैन । डबिङमा हामीलाई डर पनि हुन्छ । डबिङमा त मान्छे धेरै हुन्छन् नि त,’ उनले सुनाए ।

अर्का फिल्म सम्पादक भूपेन्द्र अधिकारी आम्दानीको स्रोत अरु नहुँदा समस्या परेको सुनाउँछन् । ‘असर त प्रत्यक्ष गरेको छ । चल्दाचल्दैको काम रोक्नु पर्‍यो अनि नयाँ पनि सुरु गर्न पाइएन,’ उनी सुनाउँछन्, ‘छोटो समय त ठिकै यो । यति लामो समय जाला भनेर सोचेको थिइएन । यसले गर्दा समस्या त पर्ने नै भयो । । आम्दानीको अन्य स्रोत छैन । गाह्रो भइसक्यो ।’

फिल्ममा रंग संयोजन गर्ने रेनिश फागो लकडाउनअघि नै परिवार लिएर इलाम फर्केका थिए । केही फिल्मको काम अधुरै छोडेर गाउँ फर्केका उनी अझै उतै छन् । लकडाउनको केही महिना बचत गरिराखेको रकमले चल्यो । अहिले समस्या परेको उनी बताउँछन् । ‘आर्थिक हिसाबले पनि गाह्रो भयो । पाँच महिनादेखि काम भएको छैन । हाम्रो त काम सकिएपछि पैसा दिने हुन्छ । तलब होइन,’ उनले आफ्नो दुख पोखे, ‘पहिलाको बाँकी रकम पनि माग्न अप्ठ्यारो । काम नभएपछि दिनेले पनि कहाँबाट ल्याओस् !’

गरिरहेको फिल्मको काम नसक्दै पैसा माग्न उनलाई अप्ठ्यारो । उता घरभाडाको चिन्ता पनि छ । ‘दिनदिनै भाडा बढेको बढ्यै यता काम पनि भाको छैन । गाह्रो सारो जिन्दगी चलिरहेको छ भनौं,’ उनले सुनाए । त्यस्तै अर्का रंग संयोजन गर्ने प्राविधिक मनोरञ्जन श्रेष्ठ काम ठप्प भएपछि पैसा आउने स्रोत पनि बन्द भएको बताउँछन् । ‘ काम बन्द भएपछि पैसा पनि ठप्प । हाम्रो काम धरापमै छ । खोइ कहिले अवस्था सामान्य हुने हो,’ नारायणघाट रहेका श्रेष्ठले चिन्ता व्यक्त गरे ।

बाहिरी चमकधमक बिना पर्दा पछाडि बसेर फिल्मको सबभन्दा महत्वपूर्ण काम गर्ने प्राविधिकहरु अहिले मर्कामा छन् । फिल्ममा हिरो हिरोइनलाई मात्रै धेरै पैसा दिए पुग्छ भन्ने चिन्तनका निर्माताहरु हावी हुँदै जाँदा प्राविधिकहरुको अवमूल्यन हुन थलेको छ । न त उनीहरु आफ्नो सीप र कला अनुसारको भुक्तानी पाउँछन् न थोरै भए पनि पारिश्रमिक समयमै । यस्तोमा आएको महामारी र लकडाउनले प्राविधिकहरुको मेरुदण्डमै प्रहार गरेको छ । यो पेशाबाटै पलायन हुने अवस्थामा पुर्‍याएको छ ।

You might also like