नवलपरासी पश्चिममा निषेधाज्ञा

0

नवलपरासी ३० साउन : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञा जारी गरेको छ । समुदायमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न पाइने छैन । निषेधाज्ञा साउन ३१ गते शनिबार राति १२ बजेदेखि भदौ ६ गतेसम्म लागू हुने छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले जारी गरेको निषेधाज्ञामा सरकारी एबं बैंक तथा वित्तिय संस्थामा विद्युतीय सेवा बाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ । अनावश्यक रुपमा हिँडडुल गर्न समेत रोक लगाइएको छ । धार्मिक स्थलमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ । चाडपर्व घरमै मनाउन भनिएको छ । एक पालिकाबाट अर्को पालिकामा अत्यावश्यक काम बाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पछिल्लो पटक समुदायमै संक्रमणको जोखिम अझ बढी बढ्न सक्ने संभावना रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । जिल्लामा ५ सय १६ जनाको समुदाय स्तरमा कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । पछिल्लो पटक जिल्लामा ४ जनामा पोजिटिभ देखिएको छ । हालसम्म जिल्लामा कोरोना पोजिटिभ हुनेको संख्या १ सय ३० छ । समुदायमा कोरोना संक्रमण देखिएपछि अहिले पालिकाहरुले पनि परीक्षण कार्यलाई बढाउन थालेका छन् ।

You might also like