उक्लँदो मूल्य, ओर्लँदो कारोबार, चिन्तित व्यवसायी
काठमाडौँ, साउन २१ गते ।
पहेँलाे धातु सुनकाे मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । केही समयदेखि सुनले निरन्तर नयाँ मूल्यमा कीर्तिमान कायम गर्ने क्रममा बुधबार पुनः नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार बुधबार नेपाली बजारमा सुनले नयाँ कीर्तिमान कायम गरेको हो । यो क्रम अझै बढ्न सक्ने उपाध्यक्ष शाक्यले भन्नुभयो ।
बुधबार छापावाल सुनको मूल्य एक लाख एक हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको उपाध्यक्ष शाक्यले बताउनुुभयो । ‘बिहानको अवस्थालाई विश्लेषण गर्दा सुनको मूल्य एक लाख दुई हजारको हाराहारीमा पुग्ने अवस्था थियो’ शाक्यले थप्नुभयो ।
मङ्गलबारसम्म प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपियाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ ।
यो वर्षको अन्त्यसम्ममा सुनले एक लाख ५० हजारको हाराहारीमा कायम गर्न सक्ने उपाध्यक्ष शाक्यले बताउनुुभयो । कोरोनाकै कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको शाक्यले बताउनुभयो । यहीक्रम अघि बढे दसैँ तिहारसम्ममा सुनको मूल्य एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको शाक्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा दुई हजार २२ प्रति औँस कारोबार भइरहेकाले त्यसको हिसाब गर्दा नेपालमा सुनको मूल्य एक लाख नाघेको हो । बुधबार छापावाला सुनको एक तोलाको एक लाख एक हजार चार सय, तेजाबी सुन एक लाख नौ सय पुगेर नयाँ मूल्य कायम भएको हो ।
नौ हजार व्यवसायी प्रभावित
त्रिसठ्ठी जिल्लामा सुनचाँदीको व्यवसाय गर्ने नौ हजार व्यवसायीहरू नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा आबद्ध छन् । सुनको मूल्य निरन्तर उकालो लागेसँगै नौ हजार व्यवसायी प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष शाक्यले बताउनुभयो ।
उहाँका अनुसार दैनिक सिजनमा ६० किलोसम्म सुनको कारोबार हुने गरेको थियो । त्यस्तै सामान्य अवस्थामा समेत दैनिक ४० किलो सुनको कारोबार हुने गरेकोमा अहिले दैनिक पाँच किलोसम्म मात्र सुनको कारोबार भएको उपाध्यक्ष शाक्यले बताउनुभयो ।अहिले अति आवश्यक भएकाहरूले मात्रै किनबेच गर्ने गरेका छन् । अहिले नेपालमा सुनचाँदीको कारोबार स्थिर रहेको शाक्यले बताउनुभयो ।
Gorkha patra