सुन तस्करीको ट्रान्जिट बन्यो नवलपुर, पक्राउ परेका तस्करसँग युनुसको कनेक्सन

0

 

नवलपुर, साउन १६ । नक्कली कारोबारीहरुको ट्रान्जिट बन्दै आएको पूर्वी नवलपरासी जिल्ला सुन तस्करीको पनि ट्रान्जिट पोइन्ट बन्न थालेको छ ।

 

काठमाडौंको कमलादीमा गाडीबाट फालिएको सुनचाँदीसहितको हतियार भएको झोला मंगलबार प्रहरीले बरामद गरेको थियो । प्रहरी चेकिङमा परेपछि तस्करीले झोला फालेर फरार भएका थिए । भागेको गाडीले प्रहरीले फेला पार्न सकेन । काठमाडौंबाट भागेको गाडी भने काठमाडौंबाट बाहिरिँदासमेत प्रहरले पक्राउ गर्न सकेन ।

 

जाली नोटको तस्करी युनुसको संलग्नता

 

तीनै तस्करलाई पूर्वी नवलपरासीको दुम्किबासबाट पक्राउ गरियो । काठमाडौंमै गाडी छाडेर उनीहरु राजधानीबाट बाहिरिएका थिए । सुनको पोको फालेर हिँडेका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेललाई बिनयी त्रिवेणीको दुम्किबासबाट पक्राउ गरी काठमाडौं लगेर अनुसन्धान गर्दा भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता रहेको खुलासा भयो ।

 

अन्सारी भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका छन् । कारागारभित्र रहेका अन्सारीकै सहयोगीमार्फत सुन तस्करी गरेको खुलासा भएको प्रहरी स्रोतले बताएको छ ।

 

प्रहरीले अन्सारीका सहयोगी बाराका इन्साद हुसेनको गाडी नख्खीपोटस्थित अन्सारीकै घरनजिकको एक घरमा पार्किङ गरिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरी स्रोतकाअनुसार बा६च ५५१९ नम्बरको गाडी बरामद गरिएको स्थान पनि अन्सारीकै घरनजिक थियो । तर प्रहरीले वीरगन्ज बस्दै आएका गाडीधनी हुसेनलाई भने पक्राउ गर्न सकेको छैन ।

 

पक्राउ परेका देवानसिंह, मिदेश र सञ्जयले यो सबै काम हुसेनको बताएपछि नक्कली सुन काण्डमा पनि युनुसको संलग्नता भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

नवलपुरको दुम्किबासबाट समातिएका देवानसिंहसहितका तीन गिरोहले नवलपुर बाटो हुँदै भारततर्फ लाग्ने तयारी गरेका थिए । उनीहरु यसअघि पनि यहीबाटो प्रयोग गरेर तस्करी गर्ने गरेको हुन सक्ने आशंका गरिएको छ ।

 

रहस्यमय बन्दै गरेको यो घटना

 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा संयोजकत्वको छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेको थियो । थापा नेतृत्वको टोलीले सिसी टिभी फुटेज अध्ययन गर्दा आधा किलो सुन र १४ किलो चाँदी बरामद भएको भेटेको थियो ।

 

तर एकाएक छानबिनका लागि बनेको समितिको नेतृत्व परिवर्तन गरिएको छ । मंगलबार दरबारमार्ग वृत्तका डिएसपी रन्जन दाहाल नेतृत्वको टोलीले गरेको अपरेसन अत्यन्त फितलो भएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखालाई छानबिन गर्ने जिम्मा दिएको थियो ।

Nawalpur FM

You might also like